अब युरोपबाट रकम पठाउन थप सजिलो हुने
काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युरोपको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन थप सहज भएको छ । यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै पाउन सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ । इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो, जसले इयु, बेलायत, जर्जिया, युक्रेन, सोभियत पश्चात् अन्य राज्यहरू लगायत ५० बढि राज्यमा रेमिट्यान्स् कारोबार गर्दछ । यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ । यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
बजार विकासको लागि हाम्रा दुईटा माग पुरा होस्ः लगानीकर्ता रौनियार
काठमाडौं । नेपाल इन्भेष्टर्श फोरमका अध्यक्ष छोटेलाल रोनियारले धितोपत्र बजारको विकासको लागि मात्र दुई वटा माग राखेका छन् । उनले पुँजीबजारको विकास तथा विस्तारको लागि यथाशिघ्र बैंक तथा सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन र कमिशन घटाउन माग गरेका हुन् । शुक्रबार आर्थिक वर्ष २०७८।७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रमको लागि सुझाव दिँदै उनले सो बताएका हुन् । साथै, उनले हाल कार्यान्वयनमा आएको ब्रोकरको कमिसशन पुनः घटाउन धितोपत्र बोर्ड समक्ष माग गरेका छन् । त्यस्तै, उनले बजारमा केही कम्पनीको मात्र सेयर बढेकोले इन्डेक्स बढेको दावी गरेका छन् । तर, वित्तीय विवरण राम्रा भएका तथा फण्डामेन्टल्ली स्ट्रङ देखिएका कम्पनीको सेयर मूल्य नबढ्नु दुःखद रहेको उनको भनाई छ ।
लगानीकर्ताको लागत घटाइयोस्, एमओयूपछि कारोबार रोक्का नगर्ने व्यवस्था होस्- अर्याल
काठमाडौं । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले लगानीकर्ताको लागत घटाउन माग गरेको छन् । शुक्रबार आर्थिक वर्ष २०७८।७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रमको लागि सुझाव दिँदै उनले सो बताएका हुन् । उनले ब्रोकर कमिशन घटाएर हुन्छ या सेबोनको कमिशन घटाएर हुन्छ लगानीकर्ताको लागत घटाउन जरुरी रहेको बताएका छन् । साथै, उनले कुनै पनि कम्पनीको एमओयू भएपछि कारोबार रोक्का नगर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । ‘एमओयू पछि सकेसम्म कारोबार रोक्का नै नगरौं, रोक्का गरेपनि छिटोभन्दा छिटो कारोबार फुकुवा गर्ने व्यवस्था गर्नुपर्छ, जसले गर्दा लगानीकर्ताको सम्पत्तिमा तरलताको वृद्धि होस्, र छिटोभन्दा छिटो कारोबार गर्न पाईयोस्,’ उनले बताए । ‘हाल नेप्सेको इन्डेक्स गणना मिलेको छैन, जस्तै, प्रमोटरको सेयर कारोबार पब्लिक सरह गणना गरिएको छ, यदि इन्डेक्सको गणना मिलेको भए दशकौं वर्ष पुराना तथा बजारको ६० देखि ७० प्रतिशत हिस्सा ओगटेका बैंकिङ्ग क्षेत्रको मूल्य किन बढेन ? त्यसैले यसमा पुनरावलोकन गर्न जरुरी छ ।’ साथै, लगानीकर्ताहरुलाई सुसूचित गरेर लगानीकर्ताको लगानी सुरक्षित गनुपर्ने समेत उनले बताए ।