फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

रौतहट । सामाजिक उत्तरदायित्वअन्तर्गत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो भने, अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि बिशेष छुट दिइने भनिएको छ । प्रकाशजित आई हस्पिटल तथा नर्सिङ होम प्रालिको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा लघुवित्त महिला सदस्यहरुसँगै सो क्षेत्रका स्थानीयहरुको आँखा, कान र दाँतको स्वास्थ्य जाँच गरिएको थियो ।

प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । माघ २२ गते सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समितिको निर्विरोध चयन गरेको हो । जसमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन रहेका छन् । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रञ्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव सभाले पारित गरेको छ । वित्तीय संस्थाले हाल २२ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै, संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक बनिन् पूर्व मिस नेपाल सुगारिका केसी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको कम्पनीले जानकारी गराएको छ । कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा केसीको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा छ ।