सगरमाथा आरोहणअघि पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकद्वारा ब्यानर हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सफल सगरमाथा आरोहणको शुभकामना दिँदै बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ। सगरमाथाको ३१औं सफल आरोहणको तयारीमा रहेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले विशेष कार्यक्रमका बीच ब्यानर हस्तान्तरण गरेका हुन् । कामी रिता शेर्पाले यसअघि २ पटक सगरमाथाको चुचुरोमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर पुर्‍याइसकेका छन् । शेर्पा बैंकसँग दुई दशकभन्दा लामो समयदेखि 'निरन्तर सहयात्रा' गर्दै आएका ग्राहक हुन् । उनले यो किर्तिमानी आरोहण आफ्नो मात्र नभई सम्पूर्ण शेर्पा समाज र नेपालको गौरवको रूपमा रहेको बताए । बैंकले कामी रिता शेर्पाको साहसिक कार्यले संस्था मात्र होइन, देशको प्रतिष्ठा समेत उच्च बनाउने विश्वास व्यक्त गरेको छ ।    

सिटिजन्स बैंकले रक्षा नेपाललाई गर्‍यो सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महिला तथा बालबालिकाको संरक्षणमा सक्रिय संस्था रक्षा नेपाल लाई सहयोग गरेको छ । बैंकले यौन शोषण, बेचबिखन र यौन हिंसाको जोखिममा परेका महिला तथा बालबालिकाको सुरक्षामा क्रियाशील रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड प्रदान गरेको हो । रक्षा नेपाल दुई दशकभन्दा बढी समयदेखि हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षा, पुनर्स्थापना, सीप विकास, शिक्षा, कानुनी सहयोग, आत्मरक्षा तालिम तथा आत्मजागरूकता कार्यक्रममार्फत आत्मनिर्भर बनाउन क्रियाशील छ । बैंकद्वारा आयोजित समारोहमा उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । सहयोग प्राप्त गरेपछि संस्थाका प्रतिनिधिहरुले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आगामी दिनमा पनि महिला तथा बालबालिकाको अधिकारका पक्षमा कार्य गर्न थप हौसला मिलेको प्रतिक्रिया दिए । बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं । यस्ता कार्यले संस्थाको सञ्चालनमा केही सहजता ल्याउने विश्वास लिएका छौं ।' सिटिजन्स बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने कार्यक्रमहरू संचालन गर्दै जाने योजना रहेको जनाएको छ।

बैंकिङ व्यवसायलाई उद्यमशीलताको भर

अरू व्यवसायजस्तै बैंकिङ संस्थाहरू नाफा मात्र आर्जन गर्ने व्यवसाय होइनन् । विश्वभर बैंकिङका नयाँ-नयाँ अवधारणाहरू लागू छन् । बैंकिङले नाफा मात्र नभई सामाजिक उत्तरदायित्व, उद्यमशीलता वृद्धि, वित्तीय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र वातावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भनिन थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रवर्द्धनमा त बैंकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् नै । त्यसैले अन्यत्र बैंकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ । खासगरी अमेरिका, चीन जस्ता व्यापारको जगमा सम्पन्न भएका देशहरूमा बैंकहरूको ब्याजदर अत्यन्त न्यून छन् । तर नेपालमा केही समयअघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले उन्मुक्ति पाएका थिएनन् । त्यसैले पनि बैंकहरूलाई आधुनिक सुदखोरी झैं व्यवसायीहरूले ठाने । जति सफाचट र प्रणालीमा चलेको भए पनि समाजमा बैंकहरूको पछिल्लो समय धेरै नै आलोचना भएको हो । विगतमा जे–जस्ता महामारी आए पनि बैंकहरूको नाफा वृद्धि भएकै हो । तर उद्योगी व्यवसायीहरू भने मारमा परिरहे । हालै केही वर्ष चलेको कोरोनाको महामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ । एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोना लगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे । साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे । युवा पलायन बढ्यो । उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मर्‍यो । अहिले पनि अर्थतन्त्र सुस्त हिसाबको मन्दीमै छ । आन्तरिक आर्थिक गतिविधिहरू कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ । अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ । तर पनि बैंकहरूको मुनाफा भने बढेकै देखिन्छ। जस्तो चालु आर्थिक वर्ष ०८१/८२ को ८ महिनामा वाणिज्य बैंकहरूले ४३ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यसबीच क्रमशः ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । अन्य वाणिज्य बैंकहरू पनि राम्रै नाफा आर्जन गरेका देखिन्छन् । यसरी बैंकहरूको मुनाफा मन्दी होस् वा कोरोना महामारी वा जस्तै विपत्तिमा पनि बढेकै देखिन्छ । तर उद्यमशीलता, आर्थिक वृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन । बरु कमजोर हुँदै गएको छ । यसले व्यावसायीक वातावरण राम्रो रहेको देखाउँदैन । जसले सामाजिक उद्यमशीलता, रोजगारी वृद्धिमा नकारात्मक प्रभाव पारेको छ । हिजोआज मानिसहरू कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटि सोंच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटि सोंच्न थालेका छन् । वास्तवमा यसले दीर्घकालीन रूपमा बैंकहरूलाई बेफाइदा गर्ने हो । बैंकहरूले व्यवसायको दायरा पो बढाउनुपर्ने हो । तर बढी नाफा आर्जन गर्ने मात्रको सोच स्थापित हुँदैछ । उनीहरूको नाफामात्रको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलाग्दो रूपमा बढेको छ । अहिले वाणिज्य बैंकहरूको औसत खराब कर्जाको दर ५ प्रतिशत नाघ्न थालेको छ । वास्तवमा बैंकहरू अल्पकालीन नाफामा केन्द्रित रहँदा आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता वृद्धिमा बैंकहरूको ध्यान जान सकेको छैन । उद्यमशीलता निजी क्षेत्रका कलेज तथा बैंक-वित्तीय संस्थाले उद्यमशीलता अभिवृद्धि गर्न सशक्त भूमिका खेल्न सक्छन् । तर त्यसको प्रभावकारी पहल उनीहरूले गरेका देखिँदैन । राज्यले उद्यमशीलतालाई प्रोत्साहन गरेको पनि छैन । राजनीतिक दलहरूले उद्यमी व्यवसायीहरूलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधन मात्रै ठानेका हुन्छन् । समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरूमा कहीं कतै देखिँदैन । उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्यो पनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्लै इच्छा नभएको भए उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो । उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कदापि हुँदैन। एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हुँदैन । उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ । बैंकहरूसँग ऋण लिएर उनीहरूको आम्दानी वृद्धि गर्न सघाएको हुन्छ । आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ । राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ । नयाँ-नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, समृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ । अनि हामी तिनै उद्यमीहरू जो मौरीजस्तो खटिरहेका हुन्छन्, दिमाग खियाइरहेका हुन्छौं, तिनैलाई लखेट्छौं भने देश कसरी उभो लाग्छरु त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन् । उनीहरूलाई राज्यले, समाजले, वित्तीय संस्थाहरूले सबैले सम्मान गर्नुपर्छ, उनीहरूलाई सहयोग गर्नुपर्छ । उद्यमशीलता वृद्धिमा बैंकको भूमिका धेरैजसो उद्यमीहरूलाई आफ्नै स्रोतमार्फत पूँजी पुर्याउन गाह्रो हुन्छ । किनकि उनीहरूलाई वित्तीय ज्ञान र व्यवस्थापनको अभाव पनि हुन सक्छ । त्यसकारण पूँजी विना अर्थात् ऋण विना उद्यमीहरूलाई कोष जुटाउन गाह्रो हुन्छ । उनीहरूको प्राथमिक स्रोत नै बैंकहरूबाट प्राप्त हुने ऋण नै हो । ऋण प्रवाह गर्नु बाहेक पनि बैंकहरूले विभिन्न तरिकाले उद्यमीहरूलाई सघाइरहेका हुन्छन् । जस्तो बैंकहरूले पैसा र सम्पत्ति सुरक्षित राख्छन् । उनीहरूले उद्यमीका बहुमूल्य सम्पत्ति र पैसा सुरक्षित राखेर सहयोग गर्छन् । त्यसैगरी ग्राहकसँगको व्यवसायिक कारोबार सहज बनाउन बैंकहरूले भुक्तानी प्रणालीलाई सहज बनाई दिएका हुन्छन् । फलस्वरूप उद्यमीहरूलाई कारोबारमा सहयोग पुग्दछ । त्यसैगरी बैंकहरू नै उद्यमीहरूका उत्कृष्ट सल्लाहकार पनि हुने गर्छन् । बैंकहरूले उद्यमीहरूलाई कर, कम्पनी तथा लगानी सम्बन्धी उचित सल्लाह पनि दिन्छन् । नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरू छन् । उनीहरूले पूँजीको बागडोर सम्हालेर बसिरहेका छन्। उद्यमी व्यवसायी र उनीहरूको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ । बैंकहरूको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी व्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरू नै चाहिन्छन् । त्यसकारण मूलतः बैंकहरूले अब आफ्नै व्यवसाय बढाउने दीर्घकालीन सोच राखेर पनि उद्यमीहरु कसरी बढाउने भन्नेबारे कार्यक्रमहरू अघि ल्याउन सक्नुपर्छ । केही हदसम्म राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, एनएमबि बैंकहरूले उद्यमशीलता अभिवृद्धिका लागि पहल सुरु गरेका देखिन्छन् । नविल बैंकले त दिगो बैंकिङको नारा नै अघि सारेको छ । उसले त्यसै नारा अन्तर्गत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ । भलै नविलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नवीनतम् सुरुवात हो । सबै बैंकहरूले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रूपमा गर्न जरुरी देखिन्छ । खाली व्यवसायीक युनिटहरूको विस्तार गर्ने, भाँडो थाप्ने मात्रै होइन, भाँडो भरिदिने विइङ्सको सिर्जना गर्दै लैजानुपर्छ । बैंक वित्तीय संस्थाहरूको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो । बैंक-वित्तीय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुँदैन। आधुनिक समयमा नवीनतम् हिसाबले पनि सोच्न जरुरी छ । (रिसव गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्)