पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्छ- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बजारमा सरल ढंगले कर तिर्ने व्यवस्था मिलाउनु पर्ने बताएका हुन् । साथै, बजार विस्तारको लागि केही कुरा मिलाउनु पर्ने भए छलफल गरेर अगाडि बढ्ने उनले जानकारी गराए । ‘हामीले पुँजी बजारमा सबैको पहुँच पुर्याउनु पर्छ । सेयर बजारमा सर्वसाधारणको सहभागि सूनिश्चित गुर्नपर्छ । कसरी गर्न सकिन्छ भन्नेमा दुईटा कुरा छन् । पहिलो सुचनाको आधारबाट उसले कुन कम्पनीको सेयरमा लगानी गर्न उपयुक्त हुन्छ ऊ आफैले निणर्य गर्छ । यसको लागि बजार सूचना प्रणाली लगायत कम्पनीको प्रोफाइल पारदर्शी हुनु पर्छ ।’ ‘दोश्रो, उसले जोखिम मोल्न जानेको छैन तर बजारमा सहभागि हुन चाहन्छ भने म्युचअल फण्ड ल्याइएको छ । आफु सँधै सेयर बजारमा सक्रिय हुन नसक्नेको लागि उक्त फण्ड बजारमा ल्याइएको हो ।’ ‘तेश्रो, बजारमा सेयरको मूल्य स्थायी रुपमा अनुमान योग्य तरिकाले अघि बढाउनु पर्छ । त्यसको लागि व्यक्तिगत लगानीकर्ता भन्दा संस्थागत लगानीकर्ताले बढी सूचना प्राप्त गर्न सक्ने, बढी विश्लेषण गर्न सक्ने र आफ्नाे सेयरमा आउन सक्ने उतारचढावलाई पनि धान्न सक्ने क्षमता हुन्छ । त्यसैले संस्थागत लगानीकर्ता बढाउनको लागि स्टक डिलरलाई ल्याउने तयारी भइरहेको छ । यसले बजारमा अस्वभाविक रुपमा हुने उतारचढाव तथा बजार अस्थीर पनि हुँदैन ।’ उनले भने- ‘वित्तीय साक्षरता पुगेकै छैन । सेयर बजार कसरी अगाडि बढाउन सकिन्छ, नाफा कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने पनि साक्षरता नै हो । भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड ल्याउनको लागि बिनियमावलीहरु बनाईसकेका छौं ।’ ‘पुनरसंरचना सम्बन्धमा सिडीएस र नेप्सेले एकीकृत रुपमा कारोबार गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा छलफल भइरहेको छ ।’ ‘कोभिडका कारणले विश्व अर्थतन्त्रले नयाँ मोड लिँदै छ । युरोपेली र अमेरिकी बजारहरु हाम्रो भन्दा बढी प्रभावित भएका छन् । केही सीमित मुलुकहरु मात्रै आगामी आवमा पोजेटिभ आर्थिक वृद्धिमा जाने छन् । त्यसैले पुँजी पनि यहि हुने हो । बचत पनि यहि हुने हो । लगानी पनि यहि क्षेत्रमा हुने हो । त्यसको लागि चाहिने पुँजीबजारको संलग्नता सार्क क्षेत्रमा पुँजीबजार चलायमान गर्नको लागि एकआपसमा प्राविधिक सहयोग, बजारको समन्वय र भोलि आवश्यक पर्यो भने सहकार्य गर्दै अघि जानु पर्ने हुन्छ ।’- उनले बताए । ‘एशियाली र दक्षिण एशियाली मूलकमा पुँजी बजार परिचालनमा अत्यन्तै धेरै सहकार्य गर्नुपर्ने देखिएको छ । जसले प्रविधि हस्तान्तरणसँगसँगै केहि क्षेत्रमा पुँजी परिचालन गर्न पनि सहयोग हुने छ ।’ ‘कोभिडलाई परास्त गर्दै अर्थतन्त्रलाई पुरानै बाटोमा ल्याउँछौं । ७ प्रतिशतको आर्थिक वृद्धि भनिरहँदा आकाश छुने कुरा गरेको होइन । विगत तीन वर्षको औसतमा पुग्ने कुरा गरेका हौं र पुग्छौं पनि । यसको लागि पुँजी परिचालन गर्नु पर्ने छ । यसमा बोर्डको प्रमुख भूमिका हुने र निजी क्षेत्रलाई स्वपुँजीको माध्यमबाट पुँजी परिचालन गर्ने कुरामा केहि हदसम्म ऋणपत्रको माध्यमबाट समेत सहयोग पुग्ने छन् । निजी क्षेत्रका पुँजी पूर्ण परिचालित भई आगामी आवको आर्थिक वृद्धि हासिल गर्न सक्छौं ।’
बोर्डलाई अर्थमन्त्रीले भने- चुप लागेर नबस्नुस्, आवश्यक तयारी गरेर बजार खुलाउनुस्
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आवश्यक तयारी गरेर बजार खुलाउन नेपाल धितोपत्र बोर्डलाई भनेका छन् । कोरोनासँग लड्दै देशकाे दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्दै जानु पर्ने जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले, ‘लामो समयसम्म लकडाउन होला । त्यसैले चुप लागेर नबसी सुधारहरु, बजार खोलेको दिन गर्नुपर्ने तयारी गरेर अघि बढ्न उपयुक्त हुने’ जनाएका छन् । उनले कोभिडका कारणले बजार बन्द गर्दै जाँदा सेयर कारोबार गर्ने लगानीकर्तालाई अफ्ठ्यारो परेको हुन सक्ने बताए । साथै, देशको समग्र आर्थिक क्रियाकलापहरु सिथिल हुँदै जाँदा त्यसको प्रभाव धितोपत्र बजारमा पनि परेको उनले बताए । पुँजी बजारको औचित्यको बारेमा पहिलेदेखि बहस गरिरहेको बताउँदै उनले आन्तरिक पुँजी परिचालनका माध्यमबाट दीर्घकालिन लगानीका लागि अवसर सृर्जना गर्ने प्रणाली धितोपत्र बोर्ड रहेको बताए । ऋणपत्रको दोश्रो बजार विकासको कुरा उपयुक्त रहेकाे जनाउँदै उनले अहिले नेपाल सरकारले सार्वजनिक ऋण व्यवस्थापन गर्ने र आन्तरिक ऋणपत्रहरु सरकारी ऋणपत्र समेत बजारमा परिचालन गर्न सकिने जान खोजेको जानकारी गराए । ‘बैंकहरुले ठूलो परिमाणमा डिबेन्चरहरु जारी गर्दै छन् । क्रमशः भोलि औद्योगिक ऋणपत्रहरु पनि आउने सम्भावना छ । यो भयो भने ऋणपत्रको बजार अघि बढ्दै जान्छ ।’- उनले भने । कोभिडका कारणले बस्तु बिनिमय बजार तत्कालको लागि ठूलो सम्भाभ्य व्यवसाय नहुन सक्ने बताउँदै उनले आगामी दिनमा यो क्षेत्रमा लगानी बढ्ने जानकारी गराए । यसको लागि नियामकको रुपमा धितोपत्र बोर्डलाई नै राखिएको उनले जनाए । अब आउने ऐनले यसलाई अझ व्यवस्थित गर्ने उनले जनाएका छन् । साथै, वस्तु विनिमय बजारका एक्टरहरु पनि पुँजीबजारका एक्टरहरु वा संस्थाहरु जस्तै हुने उनले बताए । त्यसैगरी, बाेर्डले क्रेडिट रेटिङको लागत घटाउँदै जानु पर्ने आवश्यकता देखिएको उनले भने । २७ वर्ष पार गरिरहँदा बोर्ड निकै परिष्कृत संस्थाको रुपमा अगाडि बढीसकेको बताउँदै आगामी दिनमा सशक्त नियमकको हिसावले अघि बढ्ने अपेक्षा रहेकाे जनाएका छन् ।
श्री लालीगुराँस सहकारीले ऋण लिएका सदस्यलाई छुट दिने
ललितपुर । पुल्चोक स्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण माहामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाइ यस्तो सुविधा उपलब्ध गराउन लागेको हो । संस्थाले असार मसान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस् भन्ने उद्देश्यले सुविधा दिएको बताएका छन् । संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने, भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ । विश्वब्यापी महामाहारीको रुपमा फैलिएको कोरोना भाइरसले पारेको असरलाई मध्य नजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो । नेपालको उत्कृष्ट सहकारीको रुपमा रहेको संस्थाले गरेको पहिलो निर्णय गर्ने संस्थाको रुपमा रहेको छ । संस्थाको ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल, र न्युरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी ५ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । कर्मचारीलाई कोरोना बीमा यसैबीच संस्थाले आफ्ना पुल्चोक स्थित मुख्य कार्यालय सहित ५ सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ । संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए । सरकारले ल्याएको कोरोना बीमा अन्तर्गत प्रतिब्यक्ति एक लाख रुपैयाँको रहेको छ । पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमित बीमा गरेको रकम पाउने भएका छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरु कार्यरत रहेका छन् ।