गोल्यान ग्रुपको ६५ वर्ष पूरा : २५ भन्दा बढी व्यवसाय, १० हजार रोजगारी
काठमाडौं । नेपालको एक प्रमुख व्यवसायिक समूह गोल्यान ग्रुपले आफ्नो ६५ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ । यस फिल्ममा कम्पनीको यात्रासँगै अगाडि बढेका नेपालीहरूको दैनिक जीवनका कथाहरूलाई उजागर गरिएको छ । ‘विकासका लागि गोल्यान’ शीर्षक अन्तर्गत बनेको यो फिल्मले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा गोल्यान ग्रुपले गरेको लगानीले कसरी व्यक्ति, समुदाय र राष्ट्रका लागि वास्तविक अवसरहरू सिर्जना गरेको छ भन्ने कुरालाई देखाएको छ । सन् १९६० मा स्थापित गोल्यान ग्रुप नेपालको एक प्रमुख व्यापारिक समूह हो, जसले देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ । ६ हजारभन्दा बढी कर्मचारी र चार सय मिलियन अमेरिकी डलरभन्दा बढीको वार्षिक आम्दानीका साथ यस समूहको उत्पादन, कृषि, नवीकरणीय ऊर्जा, रियल स्टेट र आतिथ्य सत्कारका क्षेत्रमा बलियो उपस्थिति छ । गोल्यान ग्रुपले आफूहरूको जग नेपालभित्रै मूल्य सिर्जना गर्ने सिद्धान्तमा आधारित छ भन्दै रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने र स्थानीय उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्ने कुरा यसअन्तर्गत पर्ने बताएको छ । यो ब्राण्ड फिल्मले सोही प्रतिबद्धतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको समूहको भनाइ छ । ‘कम्पनीको दृष्टिकोणबाट नभई ती मानिसहरूको आँखाबाट जसको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याएको छ,’ समूहको भनाइ छ, ‘सौर्य ऊर्जाबाट उज्यालो पाएको बच्चादेखि लिएर उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर बनेका कारखानाका मजदुरसम्मको कथालाई यस फिल्मले समेटेको छ ।’ जब विकासले सबैलाई समेट्छ, तब मात्र त्यसको वास्तविक महत्त्व हुन्छ भन्ने कुरा यस ब्राण्ड फिल्मले देखाउँछ । गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान भन्छन्, ‘यो फिल्म हामीबारे होइन । यो ती मानिसहरूबारे हो जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ, जसरी हामीले उनीहरूको जीवनमा योगदान पुर्याएका छौं। यो साझा प्रगतिको कथा हो- ती मानिसहरू, समुदायहरू र हाम्रो देशको, जसको हामी गर्विलो हिस्सा हौं ।’ भिडियोमा रहेको सन्देशले गोल्यान ग्रुपको दीर्घकालीन दर्शनलाई प्रतिबिम्बित गर्छ । विगत ६५ वर्षदेखि, यस समूहले नाफाभन्दा माथि उठेर मानिसहरूलाई सशक्त बनाउने, जीविकोपार्जनमा सुधार गर्ने र सबैका लागि दिगो भविष्य निर्माण गर्ने लक्ष्यका साथ आफूहरूले उद्यमहरू खडा गर्दै आएको बताएको छ । गोल्यान ग्रुप साँचो अर्थमा महत्त्वपूर्ण हुने विकासप्रति प्रतिबद्ध छ भन्दै समूहले ‘विकासका लागि गोल्यान’ हो भनेको छ । गोल्यान ग्रुप र यसको नेतृत्वले धेरै सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन्, जसमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदानका लागि सरकारद्वारा २०२५ र २०२० मा ‘व्यापारिक रूपमा महत्त्वपूर्ण व्यक्ति’ (सीआईपी) को उपाधि पनि समावेश छ । यस समूहले उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) लगायत अन्य धेरै सम्मानहरू पनि प्राप्त गरेको छ । यी सबै सम्मानले जिम्मेवार र समावेशी विकासका माध्यमबाट आर्थिक प्रगतिमा गोल्यान ग्रुपको निरन्तर भूमिकालाई दर्शाउँछ।
मोरङ उद्योग व्यापार संघमा इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयकमा सात दिने तालिम सम्पन्न
काठमाडौं । इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयक ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । साउन १४ गते देखि २० गतेसम्म मोरङ उद्योग व्यापार संघमा सञ्चालित उक्त तालिममा विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, अटोमेसन कन्ट्रोल, प्रोगामेबल लोजिक कन्ट्रोलर,मोटर ड्राइभ, विद्युत सुरक्षाका उपायहरु र ऊर्जा दक्षतासम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक सीपहरू प्रशिक्षण गराइएको हो । तालिमको समापन कार्यक्रमलाई सभापतित्व गर्दै मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले आफ्नो मूलभूत उद्देश्य बमोजिम उद्योगरव्यवसाय क्षेत्रको विकास तथा आधुनिकिकरणका निम्ति आवश्यक पर्ने विविध विषयका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । सोही क्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीपहरू उद्योगहरूका लागि लाभदायक रहेको र प्रशिक्षार्थीहरूले आफू कार्यरत उद्योगमा कार्यान्वयनमा ल्याई विद्युतसम्बन्धी थप सुरक्षित र आधुनिक सेवाहरु प्रदान गर्न सक्ने बताए । संघका कार्यकारिणी सदस्य तथा संघको ऊर्जा समितिका संयोजक सुशील सुरानाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए । तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलरामकुमार साहले आफुले तालिमबाट प्राप्त गरेको सीपहरू उद्योगको विद्युत व्यवस्थापनका लागि अत्यन्त उपयोगी र प्रभावकारी रहेको बताए । मोरङ(सुनसरी औद्योगिक करिडोरका विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूको सहभागिता रहेको उक्त तालिममा संघले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।
एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, तोलाको १ लाख ९८ हजार ५ सय पुग्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन सोमबार सुन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमबार तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार २ सय ८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।