डम्मरकुमारी मलमलले बदल्यो सुरुचीको जीवन
काठमाडौं । जोखिम उठाउने साहस, निरन्तर प्रयास र स्पष्ट लक्ष्यले मान्छेलाई एकदिन सफलताको शिखरमा पुर्याएर छाड्छ । सफलता भन्ने चीज जादुको छडीजस्तै होइन, यसका लागि अदम्य साहस, कदम्य संघर्ष र धैर्यको आवश्यक पर्छ कडा विश्वास, दृढ संकल्प र आत्मविश्वास बोकेर अघि बढ्ने मान्छेले जस्तोसुकै चुनौतीलाई पार गरेर सफलताको शिखर चुम्न सक्छन् । यस्तै गतिलो उदाहरण बनेकी छन्- सुरुची खड्का । नर्सिङ पृष्ठभूमिबाट आएकी सुरुचीले फरक कदम चालिन् जुन उनको लागि बिल्कुलै नयाँ अनुभव थियो । साथसाथै चुनौतीपूर्ण पनि । आफ्नो सानो प्रयासले सुरु गरेको व्यवसायबाट आज उनी सफल मात्रै भएकी छैनन्, उनले सुरु गरेको व्यवसायले कयौं आमा र बच्चाको लागि ठूलो राहत मिलेको छ भने धेरै जना महिला दिदीबहिनी आत्मनिर्भर बनेका छन् । अनि जन्मियो आमाज् क्रिएसन ... आमाज् क्रिएसन आमाको मायाबाट प्रेरित छ । एउटी आमालाई आफ्नो सन्तानको माया कतिसम्म हुन्छ, त्यसको जवाफ भने त्यही आमाले मात्रै दिन सक्छिन् । आमा उनै हुन्, जसले सन्तानको सानोभन्दा सानो दुःख पनि देख्न सक्दिनन् । हो, त्यस्तै एउटी आमाको कथाबाट जन्मिएको व्यवसाय हो– आमाज् क्रिएसन । जब सुरुची खड्का पहिलो पटक आमा बनिन्, उनी जीवनको एक नयाँ भावनात्मक अध्यायमा प्रवेश गरिरहेकी थिइन् । नयाँ खुसी र मातृत्वको अनुभवसँगै उनको जीवनमा चिन्ताको कारण थपियो । आफ्नो २ महिने बच्चाको छालामा र्यासिस आउने, चिलाउने हुन थालेपछि किन रहेछ भनेर हेर्दा बच्चाकाे छाला सेन्सिटिभ भएकाे कारण र अरु लुगा लगाएकाे कारण रहेछ भनेर उनले पत्ता लगाइन् । जसकाे कारण राम्राे कपडाकाे खाेजीमा उनी लागिन् । त्यही बेला सुरुचीकी आमा र माइजूले बच्चालाई डम्बरकुमारी मलमलको तीन तहको कपडा लगाइदिन उनलाई सुझाव दिए । जुन कपडा लगाएर उनी हुर्किएकी थिइन् । त्यतिबेला नै बल्ल उनले त्यही कपडा आफ्ना बिरामीहरूमा अनुसन्धान गरेको र सफल भएको कुरा स्मरण गरिन् । सुरुमा नर्सिङको जागिर गरेकी सुरुचीले पछि हस्पिटल म्यानेजमेन्ट पढेर होम केयर खोलिन् । होम केयर खोल्दै गर्दा उनले घरघरमा डाक्टर, नर्स पठाउँथिन् । त्यो गर्दैगर्दा धेरै जसो बिरामीहरू ओछ्यानमा परेकाहरू बढी हुने गर्थे । धेरै समयसम्म ओछ्यान पर्दा, एउटै पोजिसनमा बस्दा घाउ हुने, आफ्नै पसिनाले निमोनिया बनाउने जस्तो समस्या बढेपछि उनले त्यसको समाधानको लागि के गर्न सकिन्छ भनेर अध्ययन गर्न थालिन् । सुरुचीकी माइजू राणा परिवारबाट भएको हुँदा उनलाई डम्बरकुमारी मलमल कपडाबारे राम्रो जानकारी थियो । सुरुचीले १० जना बिरामीलाई यो कपडा लगाएर अनुसन्धान गरिन् । जसको नतिजा अन्य कपडाको तुलनामा निकै नै लाभदायक रहेको पुष्टि भएको थियो । ‘बिरामीलाई बेड सिट बनाएर राख्दिँदा पसिनाले बाफिन नदिने, आरामदायी हुनाले बिरामीको आफन्तले नै डिमाण्ड गर्न थाले,’ सुरुचीले सुनाइन् । त्यही कपडा सुरुचीले आफ्नै बच्चाको लागि पनि लगाइदिइन् । केही पिस बनाएर सामाजिक सञ्जालमा हालिन् । सामाजिक सञ्जालमा राखेको कपडा धेरैजना आफन्तले मन पराए । त्यसपछि त्यस्तै कपडाको अर्डरहरू आउन थाले । त्यसपछि सुरुचीले तीन/चार जना महिलाको समूह बनाएर सिलाइको काम अगाडि बढाइन् । सुरुमा अनौपचारिक रूपमा उनले यो काम सुरु गरेपनि केही समयपछि यसलाई औपचारिक रूपमा सुरु गरिन् अनि नाम राखिन्- आमाज् क्रिएसन । औपचारिक रूपमा २०७६ सालबाट आमाज् क्रिएसन सञ्चालन भएको हो । आमाज् क्रिएसन जन्मिनुको अर्को कारण सुरुचीको रुची पनि हो । नर्सिङ पृष्ठभूमिबाट आएकी उनी समाजसेवामा पनि उत्तिकै सक्रिय थिइन् । हेल्थ सेक्टरमा विशेषगरी एकल महिला दिदीबहिनीको आर्थिक स्तर उठाउन केही गरौं भन्ने चाहना उनमा थियो । सुत्केरी त्यसमाथि कोभिडको समय । बाहिर गएर काम गर्ने वातावरण पनि थिएन । तर आफैले केही गरौं भन्ने जागरुकता उनमा जीवितै थियो । आफ्नो सेक्टर स्वास्थ्य भएको कारणले समाजसेवाको भावनालाई जोडेर फेबरिकमै केही गरौं भनेर सुरुचीले यसलाई व्यवसायिक रूपमै सुरु गर्ने निर्णय गरेको सुनाइन् । त्यसबाहेक हेल्थी फेबरिक परम्परागत नेपाली रोयल्टीसँग जोडिएको कपडा भएकाले त्यसलाई जोगाउने र अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यसहित उनले फेबरिक कपडा उत्पादन व्यवसाय सुरु गरिन् । अन्य कपडाभन्दा पृथक आमाज क्रिएसनले उत्पादन गरेको प्रडक्टहरू बजारमा पाइने मलमलभन्दा धेरै फरक रहेको औल्याउँछिन् सुरुची । जसमा तीन तहको डम्बरकुमारी मलमल प्रिन्ट भएको हुन्छ । जुन कपडा जंगबहादुर राणाको छोरी (राजकुमारी) डम्बरकुमारीले पहिलोपटक नेपालमा प्रयोगमा ल्याएकी थिइन् । नेपालकी पहिलो फेसन डिजाइनरको रूपमा परिचित डम्बरकुमारीले प्रयोगमा ल्याएको यो कपडा शुद्ध नरम, स्वास्थ्यको लागि निकै नै आरामदायी रहेको सुरुची बताउँछिन् । नेपाली समाजमा भर्खर जन्मेको बच्चालाई तीन तहको कपडा लगाइदिने चलन छ । तर धेरैलाई किन लगाइदिन्छ भन्ने कारण थाहा छैन । अर्को कुरा धेरैले मलमल भनेपछि एउटै हो भनेर बुझ्ने गरेकोमा वास्तवमा मलमल पनि विभिन्न प्रकारको हुने गरेको सुरुची सुनाउँछिन् । ‘तीन तहको कपडा बच्चामा लगाइदिनुको कारण धेरैलाई थाहा छैन । बजारमा तीन तहकाे कपडा धेरै प्रकारकाे पाइन्छ । तर आमाज् क्रिएसनले प्रयाेग गर्ने मलमल बजारमा पाइने विभिन्न थरीका मलमलमध्ये सबैभन्दा वास्तवमा वैज्ञानिक रूपमा रिसर्चहरुले नै प्रमाणित कपडा बताउछिन् सुरुची । प्रमाणित थर्मोलेक संयन्त्र हुन्छ । जुन कपडा जाडोमा न्यानो र गर्मीमा शीतल हुने गरी बनाइएको हुन्छ । यसमा वैज्ञानिक रूपमै स्वास्थ्यलाई फाइदा दिने गरी डिजाइन गरेको हुन्छ,’ सुरुची भन्छिन् । यो कपडा विशेषगरी सुत्केरी महिला र नयाँ बच्चालाई स्वास्थ्यको हिसाबले उपयुक्त रहेको उनी बताउँछिन् । सुरुचीका अनुसार आमाज् क्रिएसनले उत्पादन गर्ने प्रडक्टहरूमा शुद्ध मलमल जुन तापक्रम मिलाएर, फाइन फुती कपासबाट बनाएको र ए प्लस ग्रेडको फाइन मलमलमै प्रिन्ट गरेर डम्बरकुमारी तयार हुन्छ । सुरुवाती चुनौती आमाज् क्रिएसन सुरु गर्छु भनेर हिम्मत गरे पनि त्यतिबेला व्यवसाय सुरु गर्नको लागि आर्थिक रूपमा उनी कमजोर थिइन् । सपना ठूलो बोके पनि एकैचोटि ठूलो लगानी गर्न सक्ने स्थिति उनको थिएन । त्यतिबेलाको अवस्था स्मरण गर्दै सुरुची भन्छिन्, ‘मसँग त्यतिबेला ब्याकअप फण्ड थिएन । मसँग भएको फण्ड सुत्केरी हुँदाको खर्चमा नै सिद्धिसकेको थियो ।’ सुरुचीले हिम्मत हारिनन् । उनले आफ्नो बच्चाको मुख हेर्न आउने आफन्तहरूले दिएको चार हजार रुपैयाँ चलाउँछु भनेर आमासँग सल्लाह लिइन् । त्यो पैसा एक हप्ताभित्र फिर्ता गर्छु भन्ने वाचासमेत उनले गरिन् । उनले चार हजार रुपैयाँ लिएर बजारबाट कपडा किनेर ल्याइन् र कपडाको डिजाइन बनाएर समाजिक सञ्जालमा राखिन् । एक हप्ताभित्र सुरुचीले ३ हजार कमाएर बच्चाको पैसा फिर्तासमेत गरिन् । यसपछि उनले थप ८ हजार लिएर सानो कोठाबाट टेलरिङ सुरु गरिन् । सुरुमा उनले २/३ जना महिलाहरूलाई जम्मा गरेर सिलाउने जिम्मेवारी दिइन् । उनले भने कपडाको डिजाइन बनाइदिने, सामाजिक सञ्जालमा राख्ने गर्थिन् । उनको मुख्य जिम्मेवारी भनेकै डिजाइन गर्ने, रणनीति बनाउने, मार्केटिङ, सेल्स प्रमोसन नै हो । सुरुचीले यो व्यवसाय थाहा र अनुभव भएर गरेको व्यवसाय थिएन । त्यसैले यसको बारेमा अध्ययन गर्न नै समय लागेको सुनाउँछिन् उनी । भन्छिन् ‘म हेल्थ सेक्टरको मान्छे, डिजाइनर पढेको होइन । कपडाकै बारेमा आज मलाई जति थाहा छ त्यतिबेला थाहा थिएन । धेरै कुरा सिकिँदै गइयो, आमाज् क्रिएसन सुरु गरेको पहिलो वर्ष विस्तृत अध्ययनमै लगाएँ ।’ यो व्यवसाय सुरु गर्दै गर्दा सुरुचीले सामाजिक चुनौतीको पनि सामना गर्नुप¥यो । ‘होम केयर म्यानेजमेन्ट भएर ओभरल अस्पतालको म्यानेजमेन्ट हेर्ने मान्छेले टेलर खोलेर बसी भनेर कमेन्ट गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘हाम्रो समाजको सोच हाकिम भएरै बस्नुपर्छ भन्ने छ, कुुर्सीमा बसेर अर्कालाई अर्डर गर्ने काम मात्रै ठूलो भन्ने छ । मैले पनि अस्पतालको प्रशासन प्रमुखजस्तो जागिर छाडेर यो व्यवसाय सुरु गर्दा धेरैले राम्रो मान्नुभएको थिएन ।’ ती कुराको कुनै पर्वाह नगरी सुरुचीले आफ्नो व्यवसायलाई निरन्तर दिइन् । बिस्तारै आफूलाई सक्षम देखाउँदै गइन् । आमाज् क्रिएसन सञ्चालनको सुरुवाती चरणमा धेरै मान्छेलाई कपडाको भ्यालु बुझाउनै समय लागेको बताउँछिन् सुरुची । विस्तारै ग्राहकहरूलाई फेबरिक कपडाको भ्यालु सम्झाउँदै आजको दिनमा आइपुग्दा धेरैको रोजाइमा आमाज् क्रिएसन बन्न पुगेको छ । हजारबाट करोडौंको लगानी आजभन्दा पाँच वर्षअघि थोरै लगानीबाट सुरु गरेको व्यवसाय आजको दिनसम्म आइपुग्दा कम्पनीको मुख्य कार्यालय र वाउटलेट कुसुन्तीमा सञ्चालन भएको छ । यसबाहेक आमाज् क्रिएसनको अर्को आउटलेट लाजिम्पाटमा खुलिएकोमा अहिले लाजिम्पाटको आउटलेटलाई बालमैत्री अस्पतालभित्र सारेको सुरुचीले बताइन्। सुरुचीका अनुसार व्यवसाय ग्रोथको चार्ट हेर्ने हो भने पहिलो भन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो वर्ष जसरी व्यवसाय वृद्धि हुनुपर्ने त्यो हिसाबले हुँदै गएको छ । ‘आजको दिनमा आइपुग्दा ७२ देखि ८० प्रतिशत ग्राहक रिपिटेड (दोहिरिएर आउने ग्राहक) छन्,’ उनी भन्छिन्, ‘यहाँ एकजना ग्राहकले हामीले उत्पादन गरेको प्रडक्ट उपहारस्वरूप दिनुहुन्छ, त्यही कपडा मन पराएर यही लाउनुपर्छ भनेर आउनुहन्छ ।’ एक जनाले सुरु गरेको व्यवसायमा अहिले २१ जना प्रत्यक्ष कर्मचारी छन् । अप्रत्यक्ष रूपमा होमबेस वर्कर छन् । अझै केही लगानीमा विस्तार गर्न पाए अन्तर्राष्ट्रिय बजारमा आमाजले उत्पादन गरेका प्रडक्ट अन्तर्राष्ट्रिय बजारमा छिटै पुग्ने सुनाउँछिन् सुरुची । अहिलेका अवस्थामा भने केही हदसम्म डम्मरकुमारी बाइ आमाज क्रिएसन भनेर डम्मरकुमारीलाई नै ब्राण्डकाे रुपमा आमाज् क्रिएसन चिनाउँदै गएकाे छ । आमाज् क्रिएसन अहिले करोडौंको भइसकेको छ । हाल आइमार्टमा आमाज क्रिएसनका पनि प्रडक्टहरू रहेका छन् । ललितपुर महानगरको साथ आफ्नो व्यवसायले सफलता प्राप्त गर्नुको पछाडि ललितपुर महानगरको पनि साथ रहेको सुरुचीले सुनाइन् । उनले ललितपुर महानगरबाट ‘मेन्टरसीप’ पाएकी थिइन् । उनी भन्छिन् ‘मैले आदरर्णीय सुमन शाक्य सरबाट ६ महिनाको मेन्टरसीप पढ्ने मौका पाए, जसले व्यवसायमा ठूलो सघाउ पुग्यो ।’ महानगरले समय–समयमा बिजेनस तालिमहरू प्रदान गर्दै आएकोमा त्यसमा पनि सुरुची सहभागी भइन् । महानगरले निःशुल्क तालिम सञ्चालन गरी महिलाहरुको उद्यमशीलतालाई थप निखार्न मद्दत गरेकोमा उनी कृतज्ञता प्रकट गर्छिन् । यसबाहेक महानगरपालिकाको महिला विकास शाखाबाट धेरै सहयोग पाएकी छिन् । त्यस्तै, आफ्नो व्यवसायमा आईडिया स्टुडियो नेपालबाट डा. छिरिङ लामा, अनिल वस्नेतलगायत टिमकोे सहयोग रहेको उनले सुनाइन् । आमाज क्रिएसनका उत्पादनहरू आमाज् क्रिएसनले डम्मरकुमारी मलमलकै कपडा उत्पादन गर्दै आएकाे छ । त्यमा विभिन्न डिजाइनहरु विशेषगरी भर्खर जन्मेको बच्चाको लागि चाहिने कपडा, सुत्केरी आमालाई चाहिने कपडाहरू उत्पादन गर्दै आएको छ । सुरुचिका अनुसार आमाज् क्रिएसनले डम्बरकुमारीलाई आधुनिक डिजाइनमा उत्पादन गरेर त्यसलाई बचाइराख्न ठूलो भूमिका खेल्दै आएको छ । यसैगरी, बच्चाको लागि चाहिने सम्पूर्ण सेट- बेबी ब्लांकेट, दौरा सुरुवाल, भोटो, चोलो पास्नी सेटदेखि सुत्केरी महिलालाई आवश्यक प्रडक्ट उत्पादन र बिक्री गर्दै आएको छ । त्यस्तै, बेबी सावर गिफ्ट, रोयर चोलो, महिला पुरुष दुवैको लागि नाइट सुट, कुर्थी पनि उत्पादन हुन्छ । आमाज्ले भर्खरै नयाँ प्रडक्ट फ्यासनेबल एडल्ट ड्रेस पनि लञ्च गरेको छ । सुरुचीका अनुसार यहाँ उत्पादन हुने कपडाहरू मिडियम लेभलदेखि हाइ क्लाससम्म सबैको लागि रहेको छ । आमाज्ले लामो समय स्टकमा राखिएको कपडाहरू सेलमा राख्ने गरेको छ । त्यसलाई पनि ग्राहकले निकै मन पराउने गरेको सुरुची बताउँछिन्। डम्बरकुमारी मलमलमा प्रिन्ट हुने हुँदा उक्त मलमल बंगलादेशबाट आउँछ । तर ठूलो बल्कमा मलमल ल्याउन नसक्ने हुँदा आमाजले मलमल भारतबाट ल्याउने गरेको छ । ‘भारतले बंगलादेशबाट कलकता ल्याउछन् र त्यहाँबाट हामीले आयात गर्छौं,’ सुरुचीले भनिन् । प्रेरणाको स्रोत माइजू ललितपुरको कुसुन्तीमा जन्मिएकी सुरुचीको बाल्यकाल सामान्य तरिकाले नै बित्यो । उनका बुवा भलिबल कोच र आमा शिक्षिका हुन् । मध्यम परिवार भएपनि उनका अभिभावकले दाजु र उनलाई कुनै कुराको अभाव महसुुस हुन दिएनन् । विद्यालयका हरेक क्रियाकलापमा टप हुने सुरुची सानैदेखि हरेक कुरामा नेतृत्व लिने स्वभावकी थिइन् । आज यसरी सफल महिला उद्यमीको रूपमा परिचित भइरहँदा यसको श्रेय उनी आफ्नी माइजूलाई दिन्छिन् । माइजू उद्यमीका साथसाथै राइटरसमेत हुन् । उनले लेखेका कविताहरूले सुरुचीलाई धेरै प्रेरणा मिल्थ्यो । धेरैजसो मामाघरमै बसेर हुर्केका हुँदा माइजूबाट उनले धेरै कुरा सिक्ने मौका पाएकी थिइन् । महिला उद्यमी र समाजसेवामा पुर्याएको योगदानको कदरस्वरूप सुरुचीले विभिन्न अवार्डसमेत पाएकी छिन् । भूकम्पको समयमा पनि उनले लामो समय खटेर सेवा गरेको भनेर काेभिड हिराे स्पेसल अनर साेसल वर्क अवार्ड’ ले उनलाई सम्मानित गरेको थियो । सन् २०२३ मा फर्न इभेन्टले याेङ फिमेल इन्टरप्रेनर भनेर सम्मानित गरेकाे थियाे । ललितपुर महानगरले एक हप्ताअघि उत्कृष्ट महिला उद्यमीको रूपमा उनलाई सम्मान गरेको थियो भने त्यसअघि नारी दिवसको दिनमा पनि उनी महानगरबाट सम्मानित भएकी थिइन् । व्यवसायलाई थप विस्तार गर्दै अन्तर्राष्टिय रुपमा लाेकप्रिय बन्दै गएकाे आमाज् क्रियसन पछिल्लाे समय अडरहरु आउन थालेकाे सुनाउँदै सुरुचीले यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताउँछिन् । आगामी दिनमा आफ्नो व्यवसायलाई थप विस्तार गर्दै लैजाने योजना रहेको सुरुची सुनाउँछिन् । विशेषगरी आमाज्लाई विस्तारै अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने उनको योजना छ । त्यसको लागि रणनीति बनाइरहेको उनले सुनाइन् । आजको दिनसम्म नजिकको साथीभाइ आफन्तहरूसँग आर्थिक कारोबार गर्दै व्यवसाय गर्दै आएकी सुरुची अब भने बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने तयारीमा छिन् । नवउद्यमीलाई सुझाव सुरुची नव उद्यमीहरूलाई सोचेर बुझेर मात्रै व्यवसायमा लाग्न सुझाव दिन्छिन् । ‘पछिल्लो दुई/तीन वर्षमा सरकारले उद्यमशीलतालाई अलिकति बढी फोकस गरेको देखिन्छ । त्यो हुँदै गर्दा नवउद्यमीहरूका लागि जुन कोर्स गराइरहेको छ, ती कोर्सहरू लिएर सिकेर पाइला सार्नुहोस् ।’ धेरै उद्यमीहरुले अन्धाधुन्ध व्यवसायमा हात हाल्ने र पछि असफल हुने घटना धेरै भएको हुँदा व्यवसायको लागि सिस्टमेटिक प्रोसेस बुझ्दै सिक्दै जानुपर्ने यसले पछि आफ्नो व्यवसायमा ठूलो सर्पोट पुग्ने औंल्याउँछिन् सुरुची । ‘कतिपय उद्यमीहरूलाई सिस्टमेटिक प्रोसेस लर्निङको कमी हुन्छ । हाम्रो मानवीय स्वभाव पनि एक लेभलमा पुगेपछि म नै उत्कृष्ट भन्ने हुन्छ त्यो होइन । अझ बढी सिकेर पोख्त हुने हो,’ उनी भन्छिन् । व्यवसाय गर्ने क्रममा विभिन्न उतावचढाव आउने हुँदा त्यसमा नआत्तिन, नथाक्न पनि उनको सुझाव छ । ‘व्यापार, व्यवसायमा विस्तारै मिहिनेत गर्दै जानुपर्छ । आवश्यक अध्ययन गरेर खुट्किलो चढ्दै जाुनपर्छ तर पाइला चाल्न रोकिन्नुहुन्न,’ सुरुची भन्छिन्, ‘खुड्किलो चढ्दा लडिन्छ तर उठ्दै पाइला सर्दै जानुपर्छ । तब मात्र सफल भइन्छ।’
गुल्मीको मीठास : ‘थोर्गेली गुड’ को देशभरि माग
गुल्मी । गुल्मीको रूरू क्षेत्र गाउँपालिका-३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो । रूरू बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालनमा रहेको गुड प्रशोधन केन्द्रले २०८१ सालको माघ २० गतेदेखि नियमित उत्पादन थालेको थियो । सहकारीका अध्यक्ष भेषराज ज्ञवालीका अनुसार हालसम्म उद्योगले करिब २४ लाख ६० हजार बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ । त्यस्तै, १० लाख ९५ हजारभन्दा बढीको पाँच हजार ४७२ लिटर खुदो र रु पाँच हजार दुई सय बराबरको १५ किलो चकलेट बेचिसकेको छ । विगतमा परम्परागत प्रविधिबाट गुड बनाउने र त्यसको प्रयोग पनि स्थानीय रुपमै हुने भएकाले थोरै सङ्ख्यामा किसानले सीमित जमिनमा उखुखेती गर्ने गरेका थिए । तर अहिले आधुनिक मेसिनसहितको उद्योग स्थापना भएपछि उखु किसान हौसिएका छन्। ‘खुदो उद्योग स्थापना भएपछि उखु किसानको सङ्ख्या पनि बढ्दै गएको छ । अहिले वडा नं ३ र ४ मा मात्र उखुखेती गर्ने कूल किसान सङ्ख्या करिब ४०० हाराहारी छ भने १०० हाराहारी किसानले सहकारीलाई उखु बिक्री गरिरहेका छन्,’ सहकारी अध्यक्ष ज्ञवालीले भने, ‘रूरू क्षेत्रमा अहिले तीन हजार २०० रोपनी क्षेत्रफल जमिनमा उखुखेती भइरहेको छ । जबकि २०७४ सालअघिसम्म त्यहाँ करिब आठ सय रोपनी हाराहारीमा मात्रै उखुखेती गरिन्थ्यो ।’ सहकारीका अनुसार गत माघयता ३१ लाख बराबरको उखु खरिद भइसकेको छ । बारीमै प्रतिकिलो १२ मा खरिद गरिएको उखु प्रशोधन गरी अहिले रू २६० प्रतिकिलो दरमा गुड बिक्री हुँदै आएको छ । उद्योगले स्थानीयलाई रोजगारी पनि दिएको छ । त्यहाँ हाल आठ जना कर्मचारी मासिक तलबमा कार्यरत छन् । अहिले पनि उद्योगसँग ५० देखि ५५ हजार लिटर खुदो मौज्दात छ । स्थानीय रिडी बजारसहित केही स्थानमा बिक्री प्रबन्धक राखिएका छन् । गाउँपालिकाको अनुदान सहयोग र हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको सहकार्यमा स्थापना गरिएको यो उद्योगमा भारतको गुजरातबाट आधुनिक क्रसर मेसिन, भट्टी र केही सङ्ख्यामा जनशक्तिसमेत ल्याइएको थियो । उद्योगको संरचना निर्माण तथा मेसिन जडानका लागि भारतबाटै मान्छे झिकाइएका थिए । उद्योगका व्यवस्थापक प्रकाश थापाका अनुसार दार्सिङबासस्थित जनप्रिय प्रावि विद्यार्थी सङ्ख्या कम भएपछि उनीहरुलाई अर्को विद्यालयमा सारेर त्यसैको भौतिक संरचना प्रयोग गरी उद्योग स्थापना गरियो । अहिले स्थानीय कामदारबाटै उद्योगका काम भइरहेका छन् भने व्यावसायिक उत्पादन पनि निरन्तर छ । ‘क्रसिङ क्षमतामा कुनै समस्या छैन, खुदो पकाउने क्षमता बढेको छ । प्याकेजिङ र बजारको कुनै समस्या छैन,’ थापा भन्छन् । उद्योगले चकलेट उत्पादनका लागि पनि ‘फ्रेम’ (खुदोलाई चकलेटको आकार दिने भाँडो) पनि ल्याइसकेको छ । विस्तारै चकलेट उत्पादनलाई पनि बढाउने योजना रहेको थापाले बताए । उखु प्रशोधन केन्द्र निर्माण तथा व्यवस्थापनका लागि गाउँपालिकाले चालु आथिक वर्षमा २० लाख अनुदान दिएको छ । त्यस्तै उखु प्रवर्द्धन कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रबाट तीन लाख अनुदान र हेफर इन्टरनेसनल नेपालले उद्योगका लागि चाहिने मेसिनरी तथा प्राविधिक पाटोमा सहयोग ग¥यो । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार गुड उत्पादनसँगै उखुखेतीलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । उखुको बीउ वितरण, जैविक मल उत्पादन, कीटनाशक व्यवस्थापनलगायत कार्यक्रमलाई अनुदानमा सञ्चालन गर्ने योजनामा गाउँपालिका जुटेको उनको भनाइ छ । ‘उखु नगदेबाली हो, पहिले धेरै जसो जमिन बाँझो र छिटपुट मकैखेती हुन्थ्यो । अहिले उखु उत्पादन हुँदैछ । यो आन्तरिक उत्पादनलाई उद्यमसँग जोड्ने र युवा पलायन रोक्ने पालिकाको प्रयास पनि हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘गुणस्तरीय उत्पादन भएको कारण उपभोक्ताले मूल्यभन्दा पनि यसको उपयोगिता हेर्छन् । बजारको कुनै समस्या छैन । गुडलाई चकलेट बनाउनेसम्मको योजना छ ।’ मिसावटरहित स्थानीय उत्पादन र अर्गानिक गुण भएको भन्दै ‘थोर्गेली गुड’ को माग बढ्दो छ । अध्यक्ष ज्ञवालीका अनुसार केही उच्चपदस्थ व्यक्तिहरु थोर्गेली गुडका नियमित ग्राहक बनेका छन् । ‘यहाँ उत्पादित गुड राम्रा लागेर नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्लोपटक १० किलो मगाउनुभयो, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नातिनीको बिहेमा कसार बनाउनका लागि पनि यही उद्योगको खुदो प्रयोग गरिएको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल, सचिव माहादेव पन्थ लगायतले उनको गुड खुदो नियमित प्रयोग गर्नुहुन्छ,’ अध्यक्ष ज्ञवालीले भने । उखु प्रवर्द्धन कार्यक्रम आगामी आवको बजेटमा पनि राख्ने योजना रहेको उनले बताए। बीउ तथा जैविक मलमा अनुदान दिने, ठूलो परिमाणमा उखु उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्नेजस्ता कार्यक्रम थप परिष्कृत रुपमा ल्याएर यसलाई पालिकाको गौरवको आयोजना बनाउने लक्ष्य पालिकाका रहेको उनको भनाइ छ । थोर्गेली गुड खुदो उद्योगले उद्योग विभागबाट आफ्नो छुट्टै ‘ट्रेडमार्क’ र ‘लोगो’ पाएको छ । जसले थोर्गेली गुडलाई विशिष्ट ब्रान्ड बनाउँदै लगेको छ । उत्पादित वस्तु बेच्नका लागि बजारको समस्या छैन । यद्यपि उखुखेती बढाउने र बढीभन्दा बढी गुड खुदो उत्पादन गर्नका लागि स्थानीय प्रयासमात्र पर्याप्त नहुने कृषकको बुझाइ छ । प्रदेश सरकारले विगतमा बीउमा केही अनुदान दिएको भए पनि सङ्घ सरकारको सहयोग भने खासै नपाएको स्थानीयको गुनासो छ । ‘अहिले गाउँमै रोजगारीको सम्भावना देखिएको छ, युवालाई विदेश जानुपर्ने बाध्यता केही हदसम्म घट्ने आशा पलाएको छ,’ वडा नं १ का कृषक विष्णु न्यौपानेले भने, ‘खुदो उद्योग स्थापना भएपछि मैले पनि चार रोपनी जग्गामा उखुखेती थालेको छु, सरकारबाट सहयोग हुने हो भने अझ बढी व्यावसायिक भएर जान सकिन्थ्यो भन्ने लाग्छ ।’
एभरेष्ट फाइबर सिमेन्ट बोर्ड बजारमा, अब घर बन्छ बुलेटप्रूफ
काठमाडौं । रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, पूर्वाधार, जलविद्युतदेखि सूचना प्रविधिसम्म लगानी विस्तार गरेको आईएमई ग्रुपले पछिल्लो समय उत्पादनमूलक उद्योगमा लगानी बढाइरहेको छ । २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीको गौशालामा नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएको केही महिनामै यस ग्रुपले रौतहटको फतुवा विजयपूरमा करिब डेढ अर्ब रुपैयाँ लगानीमा दोस्रो उत्पादनमूलक उद्योग ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालि’ सञ्चालनमा ल्याएको छ । नेपालकै पहिलो र उच्च गुणस्तरका फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने लक्ष्यसहित आईएमई ग्रुपले सञ्चालनमा ल्याएको हो- एभरेष्ट फाइबर सिमेन्ट बोर्ड । आफ्नै स्रोत र श्रमबाट उत्पादनमूलक अर्थतन्त्रतर्फ अघि बढ्ने दृढ विश्वासका साथ नेपाली सिमेन्ट र अन्य स्वदेशी कच्चा पदार्थको प्रयोग गरी कम्पनीले अन्तर्राष्ट्रियस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्नेछ । विगतको ५/६ वर्षदेखिको लामो अनुसन्धान तथा अथक मेहनतबाट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चलनमा आएको एभरेष्ट फाइबर सिमेन्ट बोर्डका प्रबन्ध निर्देशक प्रदीप पण्डित बताउँछन् । आफ्नै देशको कच्चा पदार्थहरू प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरका फाइबर सिमेन्ट बोर्डका उत्पादनहरू बजारमा ल्याउने उनको भनाइ छ । ‘विगतमा भारत, चीन, थाइल्याण्ड तथा अन्य अन्तर्राष्ट्रिय बजारबाट फाइबर सिमेन्ट बोर्ड ल्याउँदा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको कारण विदेशी मुद्रा अभावको गम्भीर असर पुगेको थियो । त्यसैले आफ्नै देशको उत्पादन खरिद गरी प्रयोग गर्न सकिने र विभिन्न डिजाइनका आन्तरिक तथा बाह्य सजावटमा प्रयोग गर्न मिल्ने वाटरप्रुफ गुणस्तरीय बोर्ड उद्योगबाट उत्पादन हुनेछन्,’ उनले भने, ‘ग्राहकको माग भएमा सुरक्षा निकायले प्रयोग गर्न सक्ने किसिमका एस्क्लोजर तथा बुलेटप्रूफ बोर्ड समेत उत्पादन गर्न सकिने प्रविधि तथा मेसिन हामीसँग छन् ।’ भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा समेत सजिलो र सुलभ मूल्यमा गुणस्तरीय प्रिफ्याप हाउसमा समेत प्रयोग गर्न सकिने उत्पादनलाई जोड दिएको पण्डितको भनाइ छ । मागअनुसार पर्याप्त विद्युत आपूर्ति हुने, कर तथा आयातमा लाग्ने भन्सार, महसुल तथा मूल्याङ्कनमा कडाइ र नेपाली उत्पादन उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति भएमा यस उद्योगबाट उत्पादित प्रडक्ट विदेश निर्यात गर्ने र ब्यालेन्स अफ पेमेन्टको समस्यालाई समाधान गर्न भूमिका निर्वाह गर्ने उनले बताए । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्मा २०७२ सालको भूकम्पपछि यस्ता प्रडक्टको महत्व बढेको बताउँछन् । विपदको समय र स्थायी घर बनाउन, प्रिफ्याप घर बनाउन सिमेन्ट बोर्डको महत्त्व रहेको उनको भनाइ छ । सबै किसिमका कलर उपलब्ध हुन सक्यो भने निर्माण क्षेत्रमा फड्को मार्ने उनले बताए । नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्याक्ष वीरेन्द्र पाण्डेय नेपालको लागि फाइबर सिमेन्ट बोर्डका प्रडक्ट राम्रो भएको बताउँछन् । विश्वव्यापी रूपमा निर्माण उद्योगमा नयाँ प्रविधि आउनेक्रम सुस्त भएकाले त्यसबाट नेपालपनि अछुतो नरहेको उनको भनाइ छ । ‘नेपाल भूकम्पकीय जोखिममा रहेको हुँदा लाइटर कन्स्ट्रक्सनमा जानुपर्छ । त्यसमा इनोभेसन, नयाँ प्रविधिलाई पनि साथमा लिएर जाँदा सहज हुन्छ । फाइबर सिमेन्ट बोर्डका प्रडक्टले निर्माण क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ,’ उनले भने, ‘आन्तरिक इण्डस्ट्रीमा उत्पादन गर्न सकियो भने यसले आयात प्रतिस्थापन गर्न सक्छ । सिमेन्ट उद्योग सकसमा रहेका बेलामा यो उद्योगले सहयोगी भूमिका खेल्नेछ ।’ सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल राज्यको जीडीपीमा योगदान दिने उत्पादनमूलक उद्योगले नेपालमै उत्पादन हुँदा लागत पनि घट्ने अपेक्षा रहेको बताउँछन् । साथै आवश्यकता अनुसार विभिन्न रङ्ग, डिजाइनमा प्रडक्ट उत्पादन हुनुपर्ने उनले बताए । ‘हाम्रो माटो पानी अनि घाम दुवै सुहाउँदो प्रडक्ट आएको छ । यसको बजार पनि ठूलो देखिन्छ । सामान्यतया घर बनाउँदा, पूर्वाधारण निर्माणमा जति खर्च भइरहेको छ, यो प्रडक्टले ५० प्रतिशत लागत घट्ने देखिन्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रलायले वैकल्पिक कन्स्ट्रक्सन मेट्रियलका लागि अनुसन्धान गरिरहेको छ । यस्ता प्रडक्टका फ्याक्ट्रीलाई प्रमोसन गर्न जरुरी छ । गुणस्तरीयतामा कम्पनीले ध्यान दिनुपर्छ । यो प्रडक्ट विदेशबाट आयात हुने भएकाले आगामी दिनमा आयात शून्य हुने विश्वास छ ।’ आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालमै फाइबर सिमेन्ट बोर्ड उत्पादन हुँदा विदेशी मुद्रा बाहिरिन रोकिने बताउँछन् । पूर्ण रूपमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी निर्माण हुने फाइबर सिमेन्टको कच्चा पदार्थ मिसावटदेखि बोर्ड निर्माण कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रुपमा अटोमेटेड प्रविधिमा आधारित रहेको उनको भनाइ छ । ‘हामीले उत्पादन निर्यातका लागि गुणस्तरीय भएकाले आयात गरेको वस्तुभन्दा हाम्रो प्रडक्सन अझै राम्रो छ । आन्तरिक खपतका लागि प्रयोग गर्छाैं नै, सँगसँगै हामी यसलाई निर्यात पनि गर्छाैं । आन्तरिक कच्चा पदार्थ प्रयोग गरेर तराईतिर रोजगारी दिने उद्देश्यले नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याइएको हो । यसले समग्र आयातलाई निरुत्साहित गर्नेछ । र, रोजगारी पनि प्रदान गर्नेछ । राज्यलाई रेभिन्यूमा पनि योगदान गर्नेछ,’ उनले भने । यस उद्योगले दैनिक रूपमा ३५ सयभन्दा बढी बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ८ फिट लम्बाइ, ४ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरू लचकदार, अग्निप्रतिरोधक र घामपानीले कुनै असर नगर्ने किसिमका हुनेछन् । वाटरप्रुफ फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरि होल, पार्टेसन, पल्स सिमेन्ट, मनिटर किचेन, इको प्यानल बनाउन सकिन्छ । प्रिफायर स्ट्रक्चर बिल्डिङ र घरको इम्पेरियर र स्टेरियर डेकुरेसन जस्तो स्ट्रक्चर आइसकेपछि यसलाई वालको रूपमा पनि प्रयोग गर्न सकिन्छ र यसलाई स्टिलको स्ट्रक्चरमा यसले ठूलो वाल सिलिङको रूपमा समेत प्रयोग गर्न सकिन्छ । डेकुरेरियट बोर्ड पनि उत्पादन हुने भएकाले दीर्घकालरुपमा घरमा समेत प्रयोग गर्न सकिन्छ। आईएमई ग्रुपको लगानीमा सञ्चालित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनले नयाँ नेपाल निर्माणको अभियानमा आफूलाई उभ्याएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउँछन् । उद्योगबाट उत्पादित वस्तुले आयात प्रतिस्थापन गर्दै निर्यात प्रबर्द्धन गर्ने विश्वास लिएको उनको भनाइ छ । ‘हाम्रो मुलुकको भूबनावटका कारण विभिन्न समयमा बाढी, पहिरो, भूकम्प, आगजनी जस्ता थुप्रै क्षतिहरू सामना गर्याैं । र, त्यसको द्रूत निर्माण तथा पुननिर्माणमा लागि हामीले नयाँ प्रविधिमा सुरक्षित, भरपर्दाे सामग्रीका लागि फाइबर सिमेन्ट बोर्ड उत्पादनले सहज बनाउनेछ,’ उनले भने ।