पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो

वीरगञ्ज । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर  घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ । गत आर्थिक वर्षमा आठ सय ९७ घरेलु तथा साना उद्योग नयाँ थपिएका छन् । जबकि आव २०७/८० मा भने यहाँ एक हजार ८९ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, आव २०७८/७९ मा भने एक हजार चार सय ८८ वटा उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको सङ्ख्यामा केही कमी आएको बताए। ‘गत आर्थिक वर्षमा बैङ्कमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगीरव्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो,’ उनले भने, ‘समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन् ।’ आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या एक सय ९२ वटाले घटेको देखिन्छ । कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ छुट्टाछुटै एक सय ७९ नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै, निर्माणतर्फ एक सय एक एक नयाँ उद्योग दर्ता भएका छन् । पर्यटनतर्फ ८०, सेवातर्फ तीन सय ५८ वटा नयाँ उद्योग थपिएका छन् । गत आवमा ऊर्जामुलुक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन् । गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालु पुँजी भने रु एक अर्ब पाँच पाँच करोड ९८ लाख सात हजार चार सय ५४ रहेको छ । गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार चार सय ५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ भने पाँच सय ११ वटा नयाँ पसल दर्ता भएका छन् । विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरु पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्था अनुसार ती थपिएका हुन् ।

लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका महिला

राँझा । सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । ‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा छोरीलाई स्कूल पढाउन नास्ता पसलबाटै पुगेको छ’, महिला समूहमा आवद्ध रहेकी सुनिता विकले भनिन्, ‘मैले पसल सञ्चालन गरेर घरखर्च धानेँ, श्रीमान्ले कतारमा कमाएको पैसा बचाउन सक्यौँ ।’ बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले गाउँमै सञ्चालन गरेको नास्ता पसलबाट मनग्य आम्दानी गर्दै आएकी छन् । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्मको नास्ता बिक्री हुने गरेको छ । सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका धेरै दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा सबल बन्न थालेका छन् । थोरै पैसाका लागि विगतमा श्रीमान्को भर पर्दै आएका महिला अहिले कुखुरापालन, तरकारीखेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा क्रमशः सबल बन्दै गएका छन् । समूहमा आबद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका–३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन् । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले सहयोग गर्नसके महिला हिंसा घटाउन मद्दत पुग्ने उनको बुझाई छ । विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने विपन्न वर्गका दलित महिला पछिल्लो समय गाउँगाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–१ स्थित हातेमालो कृषक समूहकी अध्यक्ष बिन्दु विकले बताइन् । ‘दलित महिलाहरुलाई आम्दानीको स्रोतको सृजना गरी विभिन्न पेसा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानी गर्ने गरिएको छ’, उनले भनिन्, ‘समूहमा बचत गरेर १० लाख रुपैयाँजम्मा गरेका छौँ, समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरैजनालाई जीविकोपार्जनमा सहज भएको छ ।’ समूह गठनपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । हातेमालो समूहअन्तर्गतका २५ जना दिदीबहिनीले गाउँमा सामूहिक धान रोपाइँ गरेर तीन लाख रुपैयाँ बचत गर्न सफल भएका छन् । गत वर्ष १७ जनाको समूह बनाएर सामूहिक रोपाइँको सुरु गरेका थियौँ, त्यसबाट एक लाख पाँच हजार रुपैयाँ आम्दानी भएकामा यस वर्ष २५ जनाको समूहबाट धान रोपाइँ गर्दा एक लाख ८५ हजार रुपैयाँ आम्दानी भएको हातेमालो कृषक समूहकी सचिव अञ्जली सुनारले बताइन् । बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक रूपमा कृषि पेसामा होमिएकी छन् । अहिले उनको फार्ममा बाख्रा, लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेका छन् । दलित महिला संघको सहजीकरणमा गाउँगाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिक रूपमा सक्षम भएका छन् । दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउन खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ जना सदस्य रहेका ५४ महिला समूह सक्रिय रहेका दलित महिला संघकी अध्यक्ष निर्मला सुनारले बताइन् ।

निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन महासंघको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन सरकारसँग माग गरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेट गर्दै महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता आवश्यक भएको बताएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारी समक्ष नदीजन्य तथा खानीजन्य सामाग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामाग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्ने लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ । जवाफमा मन्त्री भण्डारीले समय सापेक्ष ऐन नियम नहुँदा निर्माण उद्योगमा समस्या देखिएको बताए । निर्माण व्यवसायीहरूको रकम भुक्तान नभएको विषयलाई गम्भीर रुपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताउँदै मन्त्री भण्डारीले मौद्रिक नीति पनि निर्माण व्यवसायी मैत्री रुपमा आएको बताए । निर्माण व्यवसायीहरूसँग निरन्तर संवादमा रही यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता मन्त्री भण्डारीले व्यक्त गरे । समृद्धिको महत्वपूर्ण पाटो मानिने निर्माण व्यवसायको विकास विस्तारमा सरकार संवेदनशील रहेको भन्दै मन्त्री भण्डारीले नेपालका निर्माण व्यवसायीहरूले विदेशमा समेत गर्व गर्न लायक काम गरेको बताए । वर्तमान सरकारको गठनसँग आम मानिसमा रहेको निराशा अन्त्य हुँदै गएको दाबी मन्त्री भण्डारीले गरे । महासंघ प्रतिनिधिमण्डलले मन्त्री भण्डारीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।