नाफा ४६.९२ करोड रुपैयाँ ऋणात्मक रहेको सोनापुरले भन्यो- विवरणहरू सन्तोषजनक छन्
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा गरेको कम्पनीको गत वर्ष भने ऋणात्मक हुन पुगेको हो । गत असारसम्म कम्पनीको सञ्चालन आम्दानी ५.२२ प्रतिशत घटेर १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा ७८.९७ प्रतिशत घटेर ८ करोड ७२ लाख रुपैयाँ, अन्य आम्दानी ९९.१२ प्रतिशत घटेर ६ लाख रुपैयाँ र सञ्चालन नाफा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६६.६७ प्रतिशत बढेर ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ६४.५७ प्रतिशत घटेर २९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ रहेको छ । अधिकांश सूचकमा गिरावट आएपनि कम्पनीले व्यवस्थापकीय विश्लेषणमा भने सन्तोषजनक वित्तीय विवरण रहेको बताएको छ ।
अन्य आम्दानी २९८.९७ प्रतिशत बढाएको सर्वाेत्तम सिमेन्टको नाफा कति ?
काठमाडौं । सर्वाेत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १८.५१ प्रतिशत घटेर १७ करोड ४२ लाख मात्रै आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८.४७ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । साथै कम्पनीको अन्य आम्दानी २९८.९७ प्रतिशत बढेर ४ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । यसअवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेर ७९ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ९७ करोड १५ लाख रुपैयाँ थियो । गत असारसम्म कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेर ६१ करोड ३७ लाख रुपैयाँ गरेको छ अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीको चुक्ता पुँजी १४.८१ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र अन्य इक्विटी ३६.४९ प्रतिशत बढेर ४ अर्ब २५ करोड ८५ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५३ रुपैयाँ घटेर ३.७५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ ।
दैजी छेला औद्योगिक क्षेत्र : ४३ हजार रुखको लगत संकलन गरिँदै
कञ्चनपुर । दैजी-छेला औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक वनभित्रका रुखको लगत लिने कार्य अगाडि बढाइएको छ । बेदकोट नगरपालिका–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार लगतमा समावेश हुनबाट छुटेका रुखहरूको लगत लिने कार्य अगाडि बढाइएको हो । औद्योगिक क्षेत्रका पूर्व, उत्तर र दक्षिणी क्षेत्रअन्तर्गत पर्ने जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वन क्षेत्रमा रुख तथा खम्बाको लगत लिने कार्य यसअघि गरिएको थियो । स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा छुटेको पश्चिमतर्फको क्षेत्रमा रुखको लगत लिने कार्य अहिले भइरहेको डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले बताए । उनका अनुसार औद्योगिक क्षेत्रभित्र पर्ने २४०.३४ हेक्टर जग्गामा रहेका रूखको लगत लिनुपर्नेमा हालसम्म २०४.५२ हेक्टर जग्गामा रहेका रुखहरूको लगत लिने कार्य गरिएको छ । बाँकी ३५.८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रुखहरूको लगत लिने कार्य सुरु गरिएको छ । यसअघि औद्योगिक क्षेत्रभित्र पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार ८ सय २ र बेदकोट सामुदायिक वनमा २३ हजार ४ सय ५५ गरी ४३ हजार २ सय ५७ रुखको लगत लिने कार्य गरिएको अधिकृत कँडेलको भनाइ छ । बाँकी रहेको ३५.८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रुखको लगत लिनका लागि डिभिजन वन कार्यालयका कर्मचारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्राविधिक कर्मचारी खटिएका छन् । लगत संकलन गर्ने कार्य दुई हप्ताभित्र सक्ने लक्ष्य लिइएको छ । ‘औद्योगिक क्षेत्रको पश्चिमी सिमानाको साजगाड (खोला) क्षेत्रबाट लगत लिने कार्य सुरु गरिएको छ,’ उनले भने, ‘स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार खोला क्षेत्रको २० मिटरको क्षेत्रभित्रका रुखलाई छाडेर अन्य रुखहरूको लगत लिन्छौँ ।’ लगत संकलनका लागि २५९ हेक्टर क्षेत्रफल प्रस्ताव गरिए पनि २४०.३४ हेक्टर क्षेत्रफल मात्रै लगत संकलनका लागि स्वीकृत भएको उनले बताए । चुरे क्षेत्रको वन्यजन्तु ओहोरदोहोर गर्ने झण्डै १९ हेक्टर क्षेत्रलाई घटाएर बाँकी स्वीकृत गरिएको उनको भनाइ छ । ‘रुखको लगत लिने कार्य पूरा गरी मन्त्रालयमा पठाउँछौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार रुख छपान, कटान कार्यको आदेशबमोजिम अरू कार्य त्यसपछि अगाडि बढ्छ, अहिले लगत लिने कार्य मात्रै भइरहेको छ ।’ तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा दैजी–छेला औद्योगिक क्षेत्र घोषणा गरेका थिए । विसं २०७७ फागुन १० गते केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । मन्त्रिपरिषद्को विसं २०७२ चैत १ गतेको निर्णयअनुसार साबिक पूर्वमा छेला मुक्त कमैया बस्ती, पश्चिममा दैजी–जोगबुढा सडक, उत्तरमा वन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकी ९ सय बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरिएको थियो । विसं २०७३ माघ १४ गते मन्त्रिपरिषद्ले साबिकको चार किल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती (राजमार्ग पश्चिमतर्फको पर्ति जग्गासमेत) औद्योगिक क्षेत्रमा गाभ्ने निर्णय गरेको थियो । औद्योगिक क्षेत्र स्थापना गरिएको २४०.३४ हेक्टर जग्गाको डिपिआर निर्माण गरी स्वीकृत गरिएको छ । वन तथा वातावरण मन्त्रालयबाट विसं २०७७ साउन १८ गते वातावरण प्रभाव मूल्यांकन प्रतिवदने पनि स्वीकृत भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि कुल लागत ९ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसमा औद्योगिक प्लट संख्या एक सयमध्ये साना उद्योगका लागि २३ प्लट छुट्याइएको छ । मझौला उद्योगका लागि ४४ प्लट र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएका छन् । आयोजना निर्माण भएपछि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा २२ हजार जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । आयोजनाको पूर्वाधार निर्माण गर्न आव २०७७ देखि पाँच वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म औद्योगिक क्षेत्रको सीमा क्षेत्र यकिन गरी, डिपिआर निर्माण, वतावरणीय प्रभाव मूल्यांकन गर्ने कार्य मात्रै सकिएको छ । औद्योगीक क्षेत्रका अन्य कार्य अगाडि बढ्न सकेका छैनन् ।