धनगढीमा राठी इन्टरप्राइजेजले ल्यायो कजरिया ग्यालेक्सी सञ्चालनमा

धनगढी । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको भव्य उद्घाटन गरेको छ । यो अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको बताइएको छ । धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक डिजाइनका टायल्सहरूको लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उद्घाटनको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन पश्चिम नेपालका ग्राहकहरूलाई उच्चतम गुणस्तरका टायलहरू उपलव्ध गराउने प्रतिबद्धताको प्रमाण हो, यस शोरुमले हाम्रो उत्कृष्टताप्रतिको समर्पण र टायल किनमेलको अनुभवलाई पुनः परिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।’

सोलुको थामेमा विद्युत सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । ऊर्जामन्त्री खड्काले आइतबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत अवरुद्ध भएको भन्दै तत्काल विद्युतको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले विद्युत गृहमा क्षति पुर्‍याएपछि विद्युत सेवा अवरुद्ध बनेको छ । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षति पुग्न गई विद्युत सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको छ । यसैबीच ऊर्जामन्त्री खड्काले ताप्लेजुङको पाथीभरा क्षेत्र आसपासमा भएको विद्युत् अवरोधसमेत चाँडो सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । साथै, ताप्लेजुङ र झापाका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएपछि मन्त्री खड्काले चासो राखेका छन् ।

कुलमानलाई ऊर्जामन्त्रीको जवाफ- उद्योगको लाइन काट्नु घाँटी काट्नु सरह हो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् । शनिबार नेपाल विद्युत प्राधिकरणको ३९औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत काट्नु नहुने बताएका हुन् । उनले सरकारले उद्योगीहरूले विद्युत उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्ने कुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले बक्यौता रकम नतिर्ने उद्योगहरूलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत काट्नु नहुने बताए । उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए । मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युतको बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरे । विद्युतको उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरूलाई सहुलियत दिनुपर्ने उनको भनाइ थियो । उनले देशका सबै ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने भन्दै नीतिगत रूपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताए । उनले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कसको कमजोरी हो ? भनेर प्रश्न गरे । विद्युतका खम्बाहरू पनि अव्यवस्थित रूपमा गाडिएको बताउँदै तामाङले विद्युत्को तार र खम्बाहरू अव्यवस्थित रूपमा राखिएको पाए सम्बन्धित शाखाका कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने चेतावनी दिए । उनले विद्युत प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि प्राधिकरणलाई आग्रह गरे ।