मझगाउँ विमानस्थलको निर्माण तीव्र, ८५ प्रतिशत धावनमार्गको कालोपत्र सकियो

महेन्द्रनगर । महेन्द्रनगरस्थित निमार्णधिन मझगाउँ विमानस्थलको एक हजार ३०० मिटर धावनमार्ग कालोपत्र गरिएको छ । विमानस्थलको एक हजार ५२५ मिटर धावनमार्गमध्ये एक हजार ३०० मिटर धावनमार्ग कालोपत्रे गरिएको मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनामातहत रहेको २२५ मिटर जमिन प्राप्तीमा ढिलाइ भएपछि निर्माण कम्पनीले एक हजार ३०० मिटर मात्रै कालोपत्र गरेको हो । अहिले विमानस्थललाई सेनाले प्रयोग गरिरहेको जग्गा प्राप्त भएपछि बाँकि रहेको धावनमार्ग निमार्णको काम सुरु तयारी गरिएको छ । 'धावनमार्गको २५० मिटर जग्गा नेपाली सेनाले प्रयोग गर्दै आइरहेको थियो त्यसमा पनि हामीले काम गर्नका लागि अनुमति पाइसकेका छौँ ।' विमानस्थल आयोजना प्रमुख ओझाले भने, 'अब जग्गा प्राप्तीमा कुनै विवाद छैन केही दिनमा काम सुरु हुन्छ ।' उनले विमानस्थलको ६१ प्रतिशत काम सम्पन्न भइसकेको बताए । विमानस्थलको धानवमार्ग कालोपत्रेको काम असारभित्र सक्ने लक्ष्य राखिएको छ । पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले बताए । मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको हो । जसअनुसार भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहने छ । विमानस्थल निमार्ण सम्पन्न भएपछि पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने यहाँका स्थानीयले अपेक्षा गरेका छन् । विमानस्थल सञ्चालनमा आएपछि भारतको उत्तराखण्ड/उत्तरप्रदेशको ठुलो जनसङ्ख्यालाई यहाँबाट पशुपतिनाथ, मुक्तिनाथ, लुम्बीनी र पोखराको पर्यटकिय क्षेत्रसम्म लैजान सकिने सम्भावना छ । यहाँका पूर्व सांसद डा दीपकप्रकाश भट्टले भने, 'पर्यटन क्षेत्रबाट रोजगारीका सम्भावना बढ्दै गएका छन् विमानस्थलले कञ्चनपुरको विकासमा महत्वपूर्ण टेवा पुगाउँछ ।' उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको ठाउँ भएकाले विमानस्थल सञ्चालनमा आउन जरुरी रहेको बताए । विमानस्थल सञ्चालनमा आए पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि पनि सहज हुने अपेक्षा गरिएको छ । अहिले यहाँबाट आउने पर्यटक सडक मार्ग हुँदै काठमाडौँ, पोखरालगायतका पर्यटकिय गन्तव्यमा जाने गरेका छन् । 'यहाँ धेरै ठाउँमा विमानस्थल बनेर पनि सञ्चालनमा आउन सकेका छैनन ।' यहाँका स्थानीयवासी गणेश जोशीले भने, 'विमानस्थ लबनेर मात्रै हुँदैन विमानस्थलमा विमान सञ्चालनहुने कुरामा पनि सुनिश्चितता हुनुपर्छ ।' उनले कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निमार्ण भइसकेको र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण सुरु भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको बताए । विसं २०३४ सालदेखी २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द विमानस्थल पुनःसञ्चालनका लागि तीन वर्षमा काम सक्ने गरी २०७८ मा निर्माण कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त समयावधि गत वर्ष माघ १० उक्त समय सकिएपछि एक वर्ष म्याद थप गरिएको छ । रासस

निषेधित क्षेत्र​​​​​​​ मनास्लुमा हालसम्मकै बढी पर्यटक

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७८२, आव २०७९/८० मा ७ हजार ७०५ र आव २०७८/७९ मा २ हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । उनका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।  एमक्यापले आव २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेकाेमा ९८.०७ प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उनले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताए ।  ‘कोभिड पछि पर्यटकको आगमन न्यून थियो,’ आयोजना प्रमुख शेरचनले भने, ‘आव २०७७/७८ मा सबैभन्दा कम अर्थात् १९४ जना पर्यटकमात्र सो क्षेत्रमा पुगेका थिए ।’  सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६/७७ मा ५ हजार ३३८ र २०७५/७६ मा ७ हजार ६५५ रहेको थियो । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिए । उनका अनुसार पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउन सक्ने व्यवस्था गरिएको छ । ‘यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँ स्थित चेकपोस्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ,’ प्रमुख शेरचनले भने ।  निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।  विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ । उक्त अवधिभर चुम भ्यालीका लागि पर्यटकीय सिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेमौसममा २५ डलर मात्र बुझाउनु पर्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने हुन्छ । मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको सातवटा वडा पर्छ । साविकका सिर्दीबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविककाे सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो । 

गाई भैँसी चर्ने चौर बन्यो पर्यटकीय क्षेत्र, ४० लाखमा निर्माण भयो​​​​​​​ फनर्पाक

काठमाडौं । बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले ४० लाख रुपैयाँ लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ । एक दशक अगाडिसम्म झाडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताए । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ । करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोज स्थल, भवन, फोटो खिच्ने स्थान लगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गरे ।  बरेङका सबै वडासहित गुल्मी, स्याङ्जा, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उनले बताए ।   ‘पहिले हामीले यहाँ गाई भैँसी चराउने गर्थ्यौ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन्,’ उनले भने ।  बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पद मार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताए । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोज स्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उनको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसार र पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ पूर्वाधार निर्माण गर्‍यौं, पद मार्ग र मोटरबाटो दुवैले जोड्यौँ,’ अध्यक्ष शर्माले भने, ‘अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।’