मुस्ताङ-काठमाडौं रात्रिकालीन बस सेवा सञ्चालन, २४ सयमा मुस्ताङ घुम्न सकिने
काठमाडौं । मुस्ताङ-काठमाडौं रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले बिहीबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौंका लागि उक्त बस सेवा सञ्चालनमा ल्याएको हो । मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान (इभी) सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिनेगरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उनले बताए । यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिए । बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उपाध्यक्ष क्रमशः डिकी गुरुङ र जमुना थकालीले एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रुमैत्री सेवामासमेत ध्यान पुर्याउनुपर्नेमा जोड दिए । मुस्ताङ-मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ-कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिए । यो सँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले २ हजार ४ सय रुपैयाँमा मुस्ताङ-काठमाडौं यात्रा गर्न पाउने भएका छन् ।
बुद्ध एयरको पाँग्रा जनकपुरमा जहाज काठमाडौंमा, कम्पनी भन्छ : खसेको थाहै भएन
काठमाडौं । बुद्ध एयरको जहाजको पाँग्रा खसेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । जनकपुरबाट काठमाडौं आएको जहाजको अगाडिको दुईमध्ये एउटा पाँग्रा खसेको विषय बाहिरिएपछि यसले सामाजिक सञ्जालमा बहस विषय बनेको छ । जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा उडानको क्रममा पाँग्रा खसेपनि चालक दलका सदस्यले भने कुनै जानकारी नै पाएनन् । तर, जहाज भने काठमाडौंमा सुरक्षितका साथ अवतरण भयो । जाहाज अवतरणपछि मात्रै चालक दलका सदस्यले पाँग्रा नभएको जानकारी पाए । त्यसपछि जनकपुर विमानस्थलमा खबर गर्दा धावनमार्गमै पाँग्रा भेटिएको हो । उक्त जहाजमा ६२ जना यात्रु सवार थिए । यस विषयमा बुध्द एयरका प्रवक्ता तथा सेल्स हेड रुपेश जोशीले उडानको क्रममा पाँग्रा खसेको चालक दलका सदस्यलाई जानकारी नै नहुने तर्क दिए । उनले दुई मध्ये एउटा मात्र पाँग्रा खस्दा अवतरणमा समस्या नभएको जानकारी दिए । ‘पाँग्रा निस्केको थाहै भएन, यस्तो हुनु हुँदैन, हामीले पाँग्रा पाइसकेका छौं, यसले अवतरणमा कुनै समस्या नभएपनि स–साना गलित हुनु राम्रो भने होइन,’ उनले भने । बुध्द एयर जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले अहिले यस विषयमा सूचना लिने काम भइरहेको जानकारी दिए । ‘पाँग्रा फुस्केको थाहा पायौं, सुरक्षित अवतरण पनि भइसकेको छ, यस विषयमा हामी थप अध्ययन गरिरहेका छौं, उनले भने । हवाइ उडानमा विभिन्न किसिमका स-साना समस्या बारम्बार दोहोरिने गरेका छन् । कहिले चरासँग ठोक्किने, कहिले चिप्लिेन त पाँग्रा नै खस्ने गरेका कमजोरीहर नेपाली हवाइ उडानमा हुने गरेका छन् ।
पर्यटनमन्त्री पाण्डेले पाए ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा)ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम एन्ड एभिएसन समिट-२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको नेपाल पर्यटन बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ । नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु नेपालमा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तरराष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले प्रतिक्रिया दिएका बोडैले जनाएको छ । अवार्ड ग्रहण गरेपछि मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो । यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकार भएका निकायको सम्मान हो । नेपालको पर्यटन सधैँ नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ । यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा काम गर्न प्रेरित गरेको छ ।’ मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको समेत बताए । उनले प्रविधिलाई समुदाय–सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु सरकारको लक्ष्य हुने उल्लेख गरे ।