अर्बौं कमाई गर्न सक्ने चलचित्र बनाउन सकिन्छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आममानिसमा प्रभाव पार्न सक्ने भएकाले चलचित्र मनोरञ्जनमा मात्र सीमित नरहेको बताएका छन् । पर्यटन बोर्डको सभाहलमा आयोजित ‘१३औँ नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव–२०२५’ को समापन समारोहमा उनले चलचित्रमा देश विकासका तथ्यसँगै पर्यटन प्रवर्द्धनका विषयलाई जोड्न सकिने बताए । मन्त्री पाण्डेले भने, ‘कला र कलाकारिताको कुनै भाषा हुँदैन । भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ । यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन सक्छ । चलचित्रमा मनोरञ्जनसँगै पर्यटन प्रवर्द्धनका दृश्य समावेश भएमा त्यसले अन्तरराष्ट्रियस्तरमा हाम्रो सुन्दरतालाई प्रवर्द्धन गर्छ ।’ नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको र अर्बौं कमाई गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेकाले यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गरे । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रालिको आयोजनामा काठमाडौंमा फागुन ९ गतदेखि सुरु भएको महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र, वृत्तचित्रलगायत प्रदर्शनका लागि सहभागी भएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । चलचित्रबाट अफ्रिकासँग नेपाललाई जोड्न १४ वर्षदेखि महोत्सव आयोजना गरिँदै आएको उनको भनाइ छ ।
जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
तम्घास । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौंमा छ’, उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन’, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए । रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौं एक हजार एक सय ६५ र काठमाडौं–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।
भिजिविलिटी कमजोर हुँदा ८६ पटक उडान अवरुद्ध, वृद्धवृद्धा र बिरामी प्रभावित
काठमाडौं । सङ्खुवासभा जिल्लाको तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएका छन् । जलवायु परिर्वतनको असरले प्रतिकूल मौसमका कारण भिजिविलिटी कमजोर हवाई उडान अवरुद्ध भएका हुन् । सन् २०२४ को अवधिमा ८६ पटक हवाई उडान अवरुद्ध भएको नागरिक उड्यान प्राधिकरण कार्यालय तुम्लिङ्टारका प्रमुख नवराज दाहालले जानकारी दिए । उनका अनुसार विमानस्थलमा उडानका लागि कम्तीमा ५ किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । प्रतिकूल मौसम र जलवायु परिर्वतनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि विभिन्न समयमा हवाई उडान अवरुद्ध भएको उनले बताए । पछिल्लो समय हाइड्रोपावर, सडक निर्माणमा राखिएका प्लान्ट, आगलागीलगायत कारणले धुवाँ र धुलोका कणले विमानस्थल ढाक्ने गरेको उनको भनाइ छ । विमानथलको धावनमार्ग छेउछाउका डाँडामा तुवाँलो र धुलोको कणले ढाकेपछि उडान प्रभावित भएको हो । भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए । ‘माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो । उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्,’ उनले भने । उनका अनुसार तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका विमानले उडान भर्दै आएका छन् । उडान सुचारु भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका बासिन्दा लाभान्वित हुँदै आएका विमानस्थल कार्यालयले जनाएको छ । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर-७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर-७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको थियो । विश्वको पाँचौँ अग्गो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यात्रुको घुइँचो हुने गर्दछ ।