मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । ‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ’, बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जानेछ । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ । ‘यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ’, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ । साथै यस कार्यले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने बोर्डले अपेक्षा गरेको छ ।
१ लाख ५० हजार बढी पर्यटकले अवलोकन गरे भेडेटार स्काई वाक, ५ करोड रुपैयाँ कारोबार
काठमाडौं । गत साउनबाट धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ,’ होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गरे । त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरुको व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मूख रहेको बताए । यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उनी बताउँछन् । होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भएपनि टावरको प्रवेश शुल्क केही महङ्गो भएकाले सोचे जस्तो पर्यटकहरु आकर्षित नभएको गुनासो गरे । हाल भेडेटारमा पर्यटकलक्षित १ सय भन्दा बढी सुविधा सम्पन्न र करिब २ सय बढी साना होटलहरु सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रुपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा १ लाख ५० हजार बढी पर्यटकहरुले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाले जानकारी दिए । उक्त अवधिमा स्काई वाक टावरबाट ५ करोड रुपैयाँ बढी कारोबार भएको उनको भनाइ छ ।
‘पर्यटन प्रवर्द्धन गर्न छिमेकी मुलुकमा सम्पर्क कार्यालय स्थापना गराैं, स्वदेशमा पूर्वाधार बढाऔं’
काठमाडौं । पर्यटन क्षेत्रमा विगत छ दशकदेखि निरन्तर योगदान दिँदै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले नेपालको पर्यटन प्रवर्द्धन, विकास तथा नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । देशभर १ हजार १०० भन्दा बढी टुर तथा ट्राभल व्यवसायी कम्पनीहरूको प्रतिनिधित्व गर्ने नाट्टा नेपालका अग्रणी पर्यटन संस्था हो । अहिले कल्पना गर्दा पनि गौरव लाग्छ, ६० वर्षअघि जब नेपालका पूर्वजहरूले पर्यटनको सम्भावना देखे, त्यतिबेला न त सूचना सञ्चार प्रविधि थियो, न पूर्वाधारको सुविधा, न त उचित स्थल तथा हवाई यातायात व्यवस्थापनको सुविधा । तैपनि नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भन्ने परिकल्पना गर्नुभयो, जसका लागि म उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नाट्टाको इतिहास हेर्दा सन् १९६६ मा नाट्टाको स्थापना भएपछि नेपालमा पर्यटन गतिविधिहरू तीव्र रूपमा वृद्धि हुन थाले । सगरमाथा आरोहण (१९५३) पश्चात नेपाल अन्तर्राष्ट्रिय मिडियामा चर्चित बन्दै गयो, जसले पर्यटन प्रवर्द्धनलाई थप ऊर्जा प्रदान गर्यो । तत्पश्चात ६० को दशकमा नेपालको पर्यटन जुर्मुराउन थाल्यो । फलस्वरूप सन् १९६० को समयमा पर्यटन गतिविधिमा राम्रो वृद्धिसमेत भयो । यस्तै, सन् १९६५ मा सोल्टी होटल तथा अन्नपूर्ण होटल सञ्चालनमा आउँदा नेपालमा व्यवस्थित पर्यटन व्यवसायको जग बसिसकेको थियो । हाम्रा पूर्वजहरूले समयको सही मूल्यांकन गरेरै नै होलान् नाट्टाको स्थापना गरेका सायद । विशेष संयोग नै होला त्यही समयमा युरोपमा पनि यस्तै संस्थाहरू स्थापना भएका थिए, जस्तै सन् १९६६ मा विश्व पर्यटन प्रवर्द्धनमा प्रसिद्ध विश्वकै ठूलो पर्यटन व्यापार मेला (आइटीबी) बर्लिन मेला तथा संसारका पर्यटन व्यवसायीहरूको साझा संगठन युनिभर्सल फेडरेशन अफ ट्राभल एजेन्टस एशोसिएशन (युएफटीएए) को स्थापना समेत भएको छ । यसले देखाउँछ कि हाम्रो पूर्वजहरूको सोच समयसापेक्ष युरोपियनस्तरको नै थियो । सम्झँदा पनि गौरव लाग्छ कि नाट्टाको सुरुवात एउटा संस्था स्थापना मात्र थिएन, त्यो एउटा सोचको बिजारोपण थियो । एउटा गन्तव्यप्रतिको मोमेन्ट थियो, जुन हामीमाझ नेपालकै अग्रणी र पर्यटन क्षेत्रको पहिलो संस्थाका रूपमा ६० वर्षको परिपक्क पर्यटन विकास तथा प्रवर्द्धनकाे साझेदार बन्दै पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासलाई देशका हरेक कुनामा पुग्न र पुर्याउन सफल भएको छ । फलस्वरुप नेपालको आर्थिक विकासको तीन स्तम्भहरू मध्येको कृषि, ऊर्जासहितको एक पर्यटन क्षेत्रलाई स्थापित गर्न अहम भूमिका निर्वाह गरेको छ । समय सापेक्ष हरेक नाट्टामा सम्बद्ध हाम्रा अग्रजहरुसहित आजका यस युवा पिँढीले पनि आआफ्नो योगदान दिँदै आजको दिनमा नाट्टालाई यहाँसम्म पुर्याउन सफल भएको छ । नाट्टाले पर्यटन विकासका विभिन्न चरणहरूमा महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ । भू-परिवेष्ठित देश नेपालमा तेस्रो मूलुकका पर्यटक आउन अत्यन्त कठीन रहेको बेला भिषा सुविधा विस्तारका लागि पहल गर्दै सन् १९८० को दशकमा छिमेकी राष्ट्रहरूबीच रहेको खुला नाकाको उचित उपयोगका लागि सरकारमार्फत विशेष नीति लागु गराउन योगदान दिनुका साथै सन् १९८५ मा नेपाल–तिब्बत सीमामार्फत नेपाल र तिब्बतबीच पर्यटकहरुलाई भिषा सुविधा विस्तारका लागि आवश्यक सम्झौता गर्न पहल गर्ने महत्वपूर्ण भूमिका नाट्टाले निभायो, जसका कारण नेपाल तिब्बत पर्यटनका लागि प्रवेशद्वार बन्यो । समयको मागसगैं नाट्टाले पर्यटन मेलाहरूमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा आफ्नो पहुँच कायम गर्यो । १९८० को दशकमा सुरु भएको बेलायतमा सञ्चालन हुने वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मेलामा समेत सो बेलादेखि नै नाट्टाले सहभागी जनाएको छ । सन् १९९० मा नेपालका प्रमुख पर्यटकीय क्रियाकलापहरू वन्यजन्तु हेर्न जङ्गल सफारी लगायत महत्त्वपूर्ण पदमार्गहरू (लाङटाङ, अन्नपूर्ण) विशेष प्राथमिकतामा परे । नेपालले खुला आकाशको नीति अबलम्बन गर्दै हवाई क्षेत्रको विकासमा धेरै सेवा प्रदायकहरु नेपालमा प्रवेश गरे । सन् १९९८ मा सफलतापूर्वक नेपाल भ्रमण वर्ष भिजिट नेपाल १९९८ सम्पन्न भयो, जसमा नाट्टाले नेतृत्वदायी भूमिका निर्वाह गर्यो । त्यसलगत्तै नेपालको पर्यटन प्रवर्द्धनलाई थप गतिशील तीव्रता दिन १९९९ मा निजी, सरकारी साझेदारीमा आधारीत नेपाल पर्यटन बोर्ड तथा हवाई सेवा नियमनमा नागरिक उड्डयन प्रधिकरणको स्थापनाका लागी समेत नाट्टाको विशेष योगदान रह्यो । सन् २००० देखि २०१० को अवधिमा नेपालका पर्यटन पूर्वाधार र वातावरणीय रणनीतिहरूको विकासमा ध्यान दिइयो, तर राजनीतिक अस्थिरता तथा राजदरबार घटनाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्यो । तथापि नाट्टाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्दै ‘वी क्यान भिजिट नेपाल’ अभियान सञ्चालन गर्यो । यसैगरी, विभिन्न पर्यटन सम्बद्ध संस्थाहरूको सहकार्य पर्यटन पुन:उत्थानका कार्यक्रमहरू सञ्चालन गर्दै सन् २०११ मा पुनः नेपाल भ्रमण वर्ष मनाइयो, जसमा नाट्टाको विशेष भूमिका रहेको थियो । २०१५ मा भूकम्पले नेपाल पर्यटन क्षेत्रमा ठूलो क्षति गर्यो । पर्यटन व्यवसाय संवेदनशील भएकाले साना घटनाहरूले पनि विश्वभर प्रतिकूल प्रभाव पार्न सक्छन । २०१९ मा नाट्टाले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट बीटीम सुरु गर्यो । त्यसपछि कोभिड-१९ का कारण पर्यटन क्षेत्रमा व्यापक असर पर्यो । यद्यपि नाट्टाले सरकारसँग सहकार्य गर्दै व्यवसाय पुनः सञ्चालनका लागि विभिन्न पहलहरू गरेको थियो । महामारीपछि बंगलादेश र श्रीलंकाबाट पर्यटक भित्राउने कार्य सफल रह्यो । अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन विकास एवं प्रवद्र्धनमा विविध कार्यक्रम र रणनितिहरु तयार गर्दै सरकार तथा सम्बद्ध सरोकारवालाहरुसगैं हातेमालोसहित पर्यटन पूनर्जागरणमा अघि बढ्यौं। हालको समयमा नाटटाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरू, जस्तै यूएनडीपी, युएसएड, तथा विभिन्न जिडिएस सेवाप्रदायकहरूसँग सहकार्य गर्दै विविध कार्यक्रम, तालिम तथा समय सापेक्ष आफ्ना कार्यक्रमहरू विकास गरिरहेको छ । यस क्रममा नयाँ प्रविधि तथा प्रविधिमैत्री तथा एआई समायोजन गर्दै डिजिटलाइजेसन, डिजिटल मार्केटिङ, तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू सम्बद्ध सदस्यहरूलाई प्रदान गर्दै आइरहेको छ । नीति निर्माणका सन्दर्भमा नाट्टाले नेपाल सरकार तथा सम्बद्ध मन्त्रालयहरू समक्ष आफ्नो विचारहरू प्रस्तुत गर्दै आएको छ । विशेष गरी, नेपाल सरकारले लागू गरेका विभिन्न कर सम्बन्धी नियमहरू तथा तिनले सिर्जना गरेका समस्याहरूको सम्बन्धमा सरकारसमक्ष आवाज उठाउँदै आएको छ । तर, मागहरू सम्बोधन नभएको अवस्थामा इतिहासमै पहिलो पटक नेपाल सरकारविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताका लागि सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ, जसको सुनुवाइ प्रक्रिया जारी छ । यसैबीच, नेपाल पर्यटन बोर्डको सहकार्यमा नाटटाले सम्बन्धित नीति तथा नियमहरूले पर्यटन क्षेत्रमा पारेका प्रभावहरूको अनुसन्धान गर्न हालै मात्र एक अनुसन्धानकर्ता कम्पनीसँग सम्झौता सम्पन्न गरेको छ । यसको उद्देश्य प्रत्यक्ष अध्ययन गरी सरकारलाई प्रतिवेदन प्रस्तुत गर्नु रहेको छ । पछिल्लो समय, विविध प्राविधिक कारण, ऐन, नियम तथा नियमावलीको प्रभावले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यहरू गर्न नसक्दा नाटटाले नेतृत्व गर्दै विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरूमा सहभागी भई नेपालको उपस्थिति सुनिश्चित गरेको थियो । साथै, नाट्टाले आफ्ना प्रादेशिक संरचनाहरूको विस्तार गर्दै आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी बनाउने क्रममा विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ । मानसरोवर यात्रादेखि आन्तरिक हवाई सञ्जालको विस्तारसम्म नाटटाले आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको छ । हाल नेपालको प्रमुख समस्या युवा जनशक्तिको विदेश पलायन हो । हामी प्रायः दक्ष जनशक्ति अभावको कुरा गर्छौं, तर यसको रोकथामका लागि प्रभावकारी कार्य गर्न सकिरहेका छैनौं । नेपाल सरकारले मात्र नभई निजी क्षेत्र, सरोकारवाला निकाय तथा हामी जस्ता संस्थाहरूले समेत आ-आफ्नो तर्फबाट ठोस पहल गर्न आवश्यक छ । नेपालको होटल क्षेत्र अन्य क्षेत्रहरू तुलनामा तीव्र विकास भइरहेको भए तापनि यसको कुल अकुपेन्सी दर ४० प्रतिशतमै सीमित रहेको तथ्य हामीले सुन्दै आएका छौं । यसले सञ्चालन खर्च समेत पूरा गर्न नसक्ने स्थिति देखिन्छ । त्यसैले पर्यटन आगमनलाई प्राथमिकता दिँदै नीतिगत सुधार तथा आवश्यक संरचनागत विकासमा ध्यान दिन जरुरी छ । नेपालको हवाई सेवा विस्तार नहुनुको प्रमुख कारणमध्ये एक, युरोपियन युनियनद्वारा नेपाललाई हवाई सुरक्षा कालोसूचीमा राख्नु हो । यसलाई समाधान गर्न सरकारले सुरक्षा मापदण्डहरूको विकास तथा आवश्यक नीति निर्माण गर्दै हवाई सञ्जाल विस्तार सहज बनाउनु आवश्यक छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्संरचना अपरिहार्य देखिन्छ । जबसम्म निगमले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने संरचना र रणनीति विकास गर्दैन, तबसम्म नेपालको पर्यटन यथास्थितिमै रहने निश्चित छ । तसर्थ, नेपाल वायुसेवा निगमको संगठनात्मक पुनर्संरचना, सक्षम नेतृत्व, र दीर्घकालीन रणनीति अवलम्बन गर्नु अपरिहार्य छ । यदि सुधार सम्भव नभए, नेपाल वायुसेवा निगमलाई पुनःसंरचित गर्दै नयाँ संरचनामा लैजानु आवश्यक छ । जबसम्म नेपाली आकाशमा राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायकहरूको उपस्थिति वृद्धि हुँदैन, तबसम्म नेपाल महँगो गन्तव्यका रूपमा रहि रहनेछ। नेपाल वायुसेवा निगमको पुनर्संरचनाका लागि नाटटाले विभिन्न अवसरहरूमा आफ्ना सुझावहरू प्रस्तुत गर्दै आएको छ । यस सन्दर्भमा, सीमित पाँचदेखि सात जना विज्ञ व्यक्तिहरू सम्मिलित एक अधिकार सम्पन्न समिति गठन गरी निगमको पुनर्संरचना तथा आवश्यक जहाज खरिददेखि सञ्चालनसम्मको नीति तथा रणनीति तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । नेपालमा सबै व्यक्ति भ्रष्ट छैनन, न त सबैको सोच एक नै हुन्छ । सकारात्मक दृष्टिकोणका साथ योग्य तथा सक्षम व्यक्तिहरूको पहिचान गरी यो प्रक्रिया यथाशक्य छिटो प्रारम्भ गर्नु अत्यावश्यक छ । तसर्थ, समय नष्ट नगरी पुनर्संरचनाको दिशामा ठोस र परिणाममुखी कदम अघि बढाउन पहल गर्नुपर्छ । नेपालको पर्यटन विकासमा छिमेकी मुलुकका पर्यटकहरू मुख्य स्रोतका रूपमा रहेका छन । विशेष गरी भारतीय पर्यटकहरूको घटदो संख्या र सम्भावित चिनियाँ पर्यटकहरूको वृद्धिलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले चीनका बेइजिङ, सांघाई तथा भारतका दिल्ली, मुम्बई, हैदराबादजस्ता प्रमुख सहरहरूमा आफ्ना सम्पर्क कार्यालयहरू स्थापना गरी पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । त्यसैगरी, छिमेकी राष्ट्रहरूसँग उपलब्ध विभिन्न विकास पूर्वाधार, सेवा, र साधनहरूको प्रभावकारी उपयोगका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरूले ती मुलुकका सम्बन्धित संस्थाहरूसँग समन्वय गर्दै आवश्यक कदमहरू अगाडि बढाउन अत्यावश्यक छ । सीमित भौतिक पूर्वाधारका कारण हामी छिमेकी मुलुकका पूर्वाधारको उचित उपयोग गरी अझ बढी लाभ उठाउन सक्छौं । हालको अवस्था हेर्दा अमेरिकालगायत भारतका विभिन्न सहरहरूबाट नेपाल आउँदा औसतमा झन्डै १ हजार २०० अमेरिकी डलरमै दोहोरो हवाई टिकट प्राप्त गर्न सकिन्छ । तर सोही तुलनामा नेपालका लागि हवाई भाडा २ देखि ३ गुणासम्म महँगो पर्न आउँछ । यस्तो परिप्रेक्ष्यमा यदि उपलब्ध पूर्वाधारहरूको सही सदुपयोग गर्न सकियो भने छिमेकी राष्ट्रहरूबाट पर्यटकहरूको आवागमनलाई १ हजार ५०० अमेरिकी डलरभित्रै व्यवस्थापन गर्न सकिन्छ । यसका लागि नेपाली हवाई सेवा प्रदायक कम्पनीहरूले पारस्परिक सम्झौता वा कोड सेयरिङ प्रणालीमार्फत सहकार्य गरी सुलभ हवाई भाडा व्यवस्था गर्नुपर्छ । साथै नेपालका स्तरीय होटल, नयाँ तथा पुराना पर्यटन गन्तव्यहरूमा पर्यटक आकर्षण वृद्धि गर्न विशेष रणनीतिक पहल आवश्यक छ । यसबाट नेपालको पर्यटन क्षेत्रलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ । हाल नेपालमा ११ लाख ४७ हजार पर्यटक आगमन भएको तथ्याङ्क छ तर पर्यटन पूर्वाधार अभावका कारण ठूलो मात्रामा पर्यटक भित्र्याउन असमर्थ देखिएको छ । नेपालको भिषा प्रणाली अझ प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक छ । आजका दिनमा अधिकांश देशहरूले ई-भिसा प्रणाली लागू गरिसकेका छन् जुन नेपालमा पनि सुरु भएको छ । तर विदेशी मुद्रामा भुक्तानी गर्न कठिनाइ भइरहेकाले सुधारको आवश्यकता देखिन्छ । नेपाल सरकारले पर्यटन क्षेत्रको पूर्वाधारमा विशेष ध्यान दिनुपर्दछ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउनुका साथै, पर्यटकीय गन्तव्यहरूलाई विश्वस्तरको सेवा सुविधा प्रदान गर्नेतर्फ अग्रसर हुन आवश्यक छ । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै सम्बन्धित निकाय तथा निजी क्षेत्र गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । स्वच्छता, भौतिक पूर्वाधार र गुणस्तरीय सेवा सुधार गर्दै, युरोपेली तथा अन्य विकसित देशका उच्चस्तरीय पर्यटकलाई आकर्षित गर्नेतर्फ पहल आवश्यक छ । नीति निर्माताहरू, पर्यटन व्यवसायीहरू तथा सम्बन्धित सबै पक्षहरू मिलेर प्रभावकारी नीति निर्माण, प्रविधि नवाचार र सहकार्यद्वारा नेपालको पर्यटन क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । नेपालको पर्यटन क्षेत्रलाई सुदृढ बनाउन, सरकार, निजी क्षेत्र, पर्यटन बोर्ड तथा सरोकारवाला निकायहरू एकजुट भई दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रबाट उत्पन्न हुने राजस्वको अधिकतम उपयोग गर्दै, नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न अबिलम्ब ठोस कदम चालिनुपर्छ । (नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले ६०औं वार्षिकोत्सवमा व्यक्त गरेको विचारको सम्पादित अंश)