पर्यटक बढेपछि होटलमा लगानी बढ्यो, पूर्वशिक्षकदेखि मेयर समेत व्यवसायी
काठमाडौं । पर्यटन व्यवसाय फस्टाउँदै जान थालेपछि बागलुङमा होटलमा लगानी बढेको छ । आन्तरिक र बाह्य पर्यटक वृद्धि हुन थालेपछि यहाँ होटलमा लगानी थपिँदै जान थालेको हो । अन्तर्राष्ट्रिय मापदण्डको होटल ‘इला कम्फर्ट’ ३० करोड रुपैयाँ लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यवसायी चन्द्रप्रसाद ढकालले गृह जिल्लामा ३१ कोठाको सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको हो । आईएमई ग्रुप अन्तर्गत रहेर अन्तर्राष्ट्रिय मापदण्डको होटल बागलुङमा पहिलोपटक सञ्चालनमा आएको हो । जिल्लामा आउने विशिष्ट तथा अतिविशष्टि पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको हो । बागलुङ कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालिग्राम सङ्ग्रहालयलगायत पर्यटकीय गन्तव्यका कारण पछिल्लो समय बागलुङका होटल भरिभराउ हुन थालेपछि यस क्षेत्रमा लगानी थपिँदै गएको ढकालले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार होटललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘इला कम्फर्ट’ नामाकरण गरिएको हो । ‘होटलमा पर्याप्त पार्किङको सुविधा छ । ढोरपाटन सिकार आरक्ष र लोकमार्गका कारण पछिल्लो समय यहाँको पर्यटन व्यवसाय फस्टाउँदै गएको हो,’ उनले भने । केही महिनाअघि २ करोड रुपैयाँ लागतमा २४ कोठासहितको होटल शीतल सञ्चालनमा आएको थियो । शिक्षक पेसा छोडेर होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका-७ रेशका तालबहादुर कुँवरले २० वर्षको होटल व्यवसायको अनुभवपछि बागलुङ नगरपालिका-४ उपल्लाचौरमा हार्ट शीतल सञ्चालनमा ल्याएका हुन् । सानो घरबाट होटल व्यवसाय थालेका कुँवर अहिले बागलुङ बजारको उपल्ला चौरबाट विशिष्टिकृत होटलबाट सेवा दिन थालेका छन् । चार कोठाबाट सुरु गरेको होटल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको उनको भनाइ छ । कुँवरले २ करोड रुपैयाँ खर्चेर होटललाई नयाँ व्यवस्थापनका साथ सुविधासम्पन्न पाँचतले घरबाट सेवा दिन थालेका छन् । उनका अनुसार उक्त भवनको मासिक भाडा मात्रै १ लाख रुपैयाँ पर्दछ । बागलुङ नगरपालिकाका प्रमुख समेत रहेका वसन्त कुमार श्रेष्ठले उपल्ला चौरस्थित आफ्नै जग्गामा संरचना तयार पारेर होटल ‘रेड एप्पल’ सञ्चालनमा ल्याएका छन् । बागलुङमा आउने पर्यटकले सुविधासम्पन्न होटल नभएको गुनासो गरेपछि उनीहरूको समस्या सम्बोधन गर्न होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यहाँ अन्तर्राष्ट्रिय मापदण्डको होटल सञ्चालनमा आएपछि विदेशी पर्यटकलाई सहज भएको छ भने यहाँबाट मुस्ताङ हिँडेका पर्यटकलाई पनि सहज हुने अपेक्षा गरिएको छ । पाँच वर्षयता बागलुङमा होटल दी राजन, सगुन होटल र कालिका मन्दिर गेटमा कालिका मल्टिप्यालेस लगायत सुविधासम्पन्न होटल सञ्चालनमा आइसकेका छन् ।
ओझेलमा चमेरे गुफा : प्रचारप्रसार र पूर्वाधार अभावले पर्यटकीय सम्भावना खुम्चियो
इलाम । पर्यटनको सम्भावना रहेको इलामको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए । स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ । यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा मात्र अवस्थित छ । प्राकृतिक रूपमा सुन्दर र आकर्षक छ, चमेरे गुफा । 'चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसार गर्न आवश्यक छ', जवेगुले भने, 'त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ ।' देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन् । गुफा फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ । गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ । तत्कालीन लिम्बूवानका राजाहरूले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए । 'यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रूपमा काम गर्नेछौँ', अध्यक्ष राईले भने । माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए । रासस
मुगुको विकट गाउँ पुलुमा हेलिप्याड निर्माण, यार्सा संकलक र बिरामीको उद्धारमा सहजता
मुगु । यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ । सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरे । उनले भने, 'मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्, सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो अब मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन् ।' कार्मारोङ्गका पाटनमा बहुमुल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजारौँ यार्सा टिप्न यहाँ आउँछन् । उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौँ यार्सा सङ्कलक बिरामी हुने र समयमा उपचार नपाउँदा मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए । हेलिप्याड आठ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो । रासस