८८ लाखमा बन्यो कैलाश र वैकुण्ठ जोड्ने जिपलाइन, लम्बाई १ हजार २०० मिटर
काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ८८ लाख रुपैयाँ लागतमा करिब एक हजार २०० मिटर लामो जिपलाइन निर्माण गरिएको बताए । वडा नं २ बैकुण्ठमा निर्मित कैलाश वैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षणसमेत सम्पन्न भएको र यसले धादिङको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुने उनको भनाइ छ । जिपलाइन र्मिाणमा सङ्लग्न प्राविधिकसहित गाउँपालिका अध्यक्ष मुक्तान, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका हुन् । गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले पालिकाले बहुवर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो । अब चाँडै नियमित जिपलाइन नियमित सञ्चालनमा आउने उनले जानकारी दिए । जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी कार्यको परीक्षण गरिएको र अब दोस्रो चरणको परीक्षणपछि नियमित सञ्चालनमा ल्याइने बताए ।
गुप्ता, शाक्य र खातुनको लगानीमा जी-रामायण होटल सञ्चालनमा, एक रातको ४० हजार रुपैयाँ
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जी-रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् । सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले जानकारी दिए । दुई दशकभन्दा बढी समय ट्राभल क्षेत्रमा अनुभव हासिल गरेका गुप्ताले संसारका विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटल खोल्ने लक्ष्यअनुसार जी रामायण सञ्चालनमा ल्याइएको बताए । नेपालका अन्य होटलमा आएका पर्यटकलाई पनि पृथक स्वाद र सम्मानका लागि यस होटलमा ल्याएर अनुभव गराउने लक्ष्य राखिएको छ भने होटलको कोठाअनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । लन्डन स्वीट, रोयल राजस्थान स्वीट र टर्किश स्वीटका रुमहरु रहेको यो होटल नेपालका लागि पृथक अनुभव हुने बताइएको छ । ७ तले यस होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुल लगायत सुविधा रहेका छन् । होटलमा ३ सय जनाका लागि बैंक्वेट सुविधा रहेका छन् । रेष्टुरेन्ट लगायतका अन्य सबै सुविधा रहेको होटलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी रहेको छ । होटलमा पार्किङ लगायत सुविधा छ भने यो होटल काठमाडौं दरबार स्क्वायरबाट मात्र १.९ किमी टाढा छ भने गार्डेन अफ ड्रीम्ससम्म ५ मिनेटमै पुग्न सकिन्छ । होटलका कोठाहरूमा बिडेट, छुट्टै ट्वाइलेट, र सावरजस्ता सुविधाहरू छन्, साथै हेयर ड्रायर र तौलियाहरू पनि उपलब्ध गराइएका छन् । होटलमा अतिथिहरूले काठमाडौंको इतिहासलाई सजिलै अनुभूति गर्न सक्छन् । किनभने चार पर्खालले घेरिएको नारायणहिटी दरबार संग्रहालय होटलबाट करिब २० मिनेटको दूरीमा अवस्थित छ । ठमेलसम्म केवल ९ मिनेट पैदल यात्रा गरेर पुग्न सकिने यो होटल सोरहखुट्टे बस स्टपको केही कदम नजिकै छ ।
एसियामा ४८ प्रतिशत होटल निर्माण, उत्कृष्ट विमानस्थल पनि एसियामै
काठमाडौं । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा नयाँपन र सृजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएका निकायका विज्ञहरूले बताएका छन् । काठमाडौंमा आयोजित ‘चेन्जिङ ट्रेन्ड्सः रिथिङ्किङ नेपाल्स टुरिजम’ विषयक कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रमा सृजनात्मकता र नयाँपन जोड्न सके यो व्यवसाय फस्टाउने धारणा राखेका हुन् । विश्वप्रसिद्ध हङ्कङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोनले नयाँपन र सृर्जनाले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुँदै आर्थिक गतिविधि चलायमान बन्ने बताए । सृजनात्मक गतिविधिले पर्यटकलाई थप आकर्षक गर्न सकिने भन्दै यसबाट रोजगारीका अवसर पनि सृजना हुने उनको धारणा छ । प्रोफेसर चोनले विश्वमा पर्यटन व्यवसायको शैली बढ्न थालेको भन्दै सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर प्रस्तुतिकरण दिएका थिए । विश्व पर्यटनको रुपान्तरण केन्द्र युरोपबाट भएको स्मरण गर्दै उनले संसारभर पर्यटनको शैलीको सुरुआत अन्तरदेशीय ट्राभलबाट हुन थालेको उल्लेख गरे । पर्यटन विकासको सुरुआत विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीव्र रूपमा विकास भएको तथ्याङ्कले देखाएको उनीद्वारा जारी प्रस्तुतिकरणमा उल्लेख गरिएको छ । ‘पर्यटनको महत्त्वपूर्ण अङ्ग मानिने होटलको विकासमा समेत विश्वभरको होटल निर्माणमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटल निर्माण भएका छन्,’ प्रोफेसर चोनले प्रास्तुत गरेको विवरणमा उल्लेख छ । पर्यटन विकासमा एसिया क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ । विश्वमा पर्यटन विकासमा होटलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामा छन् । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एण्ड युनिक’ भएको दाबी गरे । विश्वमा अहिलेसम्म निलो समुद्र नै धेरै चल्ने पर्यटनको गन्तव्यका रूपमा विश्वभरि परिचित भइरहेको भन्दै यसलाई नयाँपन र सृजना दिन सकिएको अवस्थामा मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका पर्यटनले खेल्न सक्ने पनि चोनले उल्लेख गरे । उनले भोलिको भविष्य आज देखिन सक्ने भएकाले अबको आवश्यकता ‘डिजिटल ट्रान्सफर्मेसन’ हो भन्दै यसका लागि प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती बढेको व्याख्या गरे । आतिथ्यता क्षेत्रमा पछिल्लो चुनौती मानव संशाधनको अभाव भएको उल्लेख गर्दै उजले ‘वर्क लाइफ’को सन्तुलन मिलाउनु महत्त्वपूर्ण भएको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभवन उल्लेख्य भएको बताए । आन्तरिक र अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि बोर्डले सरकारी र निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लैजाने उनले विश्वास व्यक्त गरे ।