नेपाललाई आफ्नो यात्रा सूचीमा राख्न फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेको आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । मन्त्री पाण्डेले भने, ‘नेपाल भ्रमण गर्न सबै फ्रान्सेली नागरिकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । नेपाललाई आफ्नो यात्रा सूचीमा समावेश गर्न अनुरोध गर्दछौं ।’ मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरे । उनले नेपाल सरकारद्वारा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा कार्यक्रमहरूको जानकारी गराउँदै नेपाल सुरक्षित र आकर्षक गन्तव्य रहेको जानकारी गराए । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपाल-फ्रान्स सम्बन्धको ऐतिहासिक भएको बताउँदै नेपाल भ्रमण गर्ने फ्रान्सेली नागरिकहरूको अनुभव सधैं सकारात्मक रहनेमा विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालेका पहलमाथि प्रकाश पार्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि आकर्षक प्याकेजहरू उपलब्ध रहेको जानकारी दिए । कार्यक्रममा प्रसिद्ध फ्रान्सेली पर्वतारोही स्वर्गीय मौरिस हर्जोगकी पत्नी एलिजाबेथ हर्जोगलाई सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि हर्जोगले नेपालसँगको आफ्नो विशेष सम्बन्धबारे चर्चा गर्दै नेपाल भ्रमणका सुखद अनुभवहरू अभिव्यक्त गरे । कार्यक्रममा करिब ६० जना पर्यटन व्यवसायी, संस्कृतिप्रेमी तथा नेपालप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता थियो ।
नेपाल युरोपेली सङ्घको सुरक्षा सूचीबाट छिट्टै हट्ने, हवाई सुरक्षा दरमा वृद्धि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा विनोदप्रकाश सिंहले नेपाल युरोपेली सङ्घ (इयू)को सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औँ वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै उनले इयूको चासोको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने र योसँगै नेपाल इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गरे । प्राधिकरण विभाजनसम्बन्धी विधेयक हालै सङ्घीय संसदमा पेस भएको छ । यसलाई संसद्को दुवै सदनले छलफल गरेर पारित गर्नुपर्ने हुन्छ । ‘नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउने हो,’ सचिव सिंहले भने, ‘उक्त विधेयक अहिले संसद्मा दर्ता भएको छ । यसमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।’ युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको छ । सन् २०१३ बाटै अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो । नेपालले पछिल्लोपटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको कालोसूचीबाट हट्ने सरोकारवालाको विश्वास छ । सचिव सिंहले मुलुकको आर्थिक विकासका लागि दिगो पर्यटन विकास अपरिहार्य भएको उल्लेख गरे । ‘मुलुकको दिगो विकास र रोजगारी सिर्जनाका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ, जबसम्म पर्यटनको दिगो विकास हुँदैन तबसम्म मुलुक समृद्ध बन्न सक्दैन,’ उनले भने, ‘नीतिगत उल्झन र संरचनागत कमजोरीका कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन भने सकेको छैन ।’ सचिव सिंहले ६० वर्षको इतिहास बोकेको नाट्टाले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय रुपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। त्यसअवसरमा पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालको पर्यटन विकासका लागि नेपालको हवाई क्षेत्र इयूको सुरक्षा सूचीबाट हट्नुको विकल्प नरहेको बताए । उनले भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गरेर हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन जरुरी भएको उल्लेख गरे । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधार जरुरी भएको खाँचो औँल्याए । नाट्टाका पूर्वकार्यकारी प्रमुख डा हरि शर्मा, नाट्टाका पूर्वअध्यक्ष परिषद्का संयोजक भोलाविक्रम थापालगायतले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । नाट्टा विसं २०२२ फागुन २७ गते स्थापना भएको हो । नेपालको पर्यटन प्रवर्द्धन, विकास र नीति निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । नाट्टामा हाल मुलुकभर एक हजार एक सयभन्दा बढी टूर तथा ट्राभल व्यवसायी कम्पनी आबद्ध छन् । नाट्टाले नेपालमा पर्यटन व्यवसायलाई संस्थागत गर्दै अन्तरराष्ट्रियस्तरमा नेपाली पर्यटनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्य गर्दै आएको जनाएको छ । समयानुकूल नीति निर्माण, पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम, विभिन्न अन्तरराष्ट्रिय मेलामा सहभागिता जनाउँदै सरकार र निजी क्षेत्रको प्रभावकारी समन्वय र सहकार्य गर्दै आएको संस्थाले जनाएको छ ।
सुर्खेतमा तारा एयरको उडान बन्द, हिमाली जिल्लामा जान नेपालगञ्जको भर
काँक्रेविहार । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए । यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौं परीक्षण उडान सम्पन्न गरेको छ । शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ । यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गरेका हुन् । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो । सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताए । परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उनले उल्लेख गरे । यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए । उनले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राखे । यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ । सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ । कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन । सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन् । रासस