घनघोर जंगलमा कहाँबाट आए १७ देशका सय बढी विदेशी? अधिकांश व्यापारी

काठमाडौं । कैलालीको सिमली जंगलमा एक सयभन्दा बढी विदेशी नागरिहरू अनुमति नलिईकन अस्वाभाविक गतिविधि गरिरहेका भेटिएका छन् । घोडाघोडी नगरपालिका ९ स्थित चुरे छेउमै पर्ने सिमली जंगलमा एक सातादेखि १७ देशका एक सयभन्दा बढी नागरिकहरू अस्वाभाविक गतिविधि गरिरहेको अवस्थामा भेटिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार ती विदेशी नागरिकहरूसँग भिजिट भिसा रहेको पाइएको छ । ती विदेशी नागरिक प्रकृतिसँग रमाउने, एकान्तमा बस्न रुचाउने, रमाइलो गर्ने गरी जंगलमा आएका बुझिएको नगरपालिकाका प्रमुख खडकबहादुर रावतले बताए । उनका अनुसार तिनीहरू भारत, चीन, अमेरिका, जापान, फिलिपिन्स, बेलायतलगायतका देशबाट आएका हुन् । यिनीहरू सबै व्यापारी तथा व्यवसायीहरु रहेका छन् । उनीहरु फागुनको दोस्रो सातातिर त्यहाँ आएका बुझिएको छ । उनले भने, ‘यी नागरिकहरूमा कोही बच्चा छन्, कोही युवा त कोही वृद्धवृद्धासहित कुनैले परिवारै लिएर हिडेका छन् । यिनीहरूको टोलीमा नेपाली नागरिकहरूसमेत रहेका छन् । यिनीहरू वर्षैपिच्छे यसरी नै घुमिरहने रहेछन् । सन् २०२३ देखि यिनीहरूले यस्ता खालका क्रियाकलाप गर्दै आएका रहेछन् । योभन्दा पहिले रेन्बो फेमली ग्यादरिङ नाम दिएर अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए।’ विदेशी नागरिकहरू सामूहिक रूपमा जंगलमै टेन्ट लगाएर बस्ने र त्यहीँ खाने गरेको प्रमुख रावतले बताए । जिल्ला प्रशासन कार्यालय, कैलालीले रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएको छ । विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने गरेको जनगुनासो आउन थालेपछि बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहितको टोली सिमली जंगल पुगेको थियो । सिमली जंगलमै पुगेर ती विदेशी नागरिकहरूलाई आ-आफ्नो गन्तव्यतिर लाग्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए । कुनै पनि निकायबाट जंगलमा बस्ने अनुमति नलिएका कारण उनीहरूलाई २४ घण्टाभित्र ठाउँ खाली गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए । ‘सिमली जंगलमा रेन्बो फेमली ग्यादरिङ नाम दिएर बस्दै आएका विदेशी नागरिकले अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आउन थाल्यो । अनि हामी आफै त्यहाँ पुगेका थियौं । त्यहाँ बसेका सबै जनालाई २४ घण्टाभित्र आ-आफ्नो गन्तव्यतर्फ जान निर्देशन दिएका छौं। जाने तयारी गरिरहेका छन्,’ उनले भने । निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनीसमेत दिइएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

म्यानमारमा ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५’ हुँदै

काठमाडौं । म्यानमारको यांगोनमा चैत ८ गते शुक्रबारदेखि ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ आयोजना गरिने भएको छ । नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन मार्च २१ र २२ मा यांगोनमा ’नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ गर्न लागिएको हो । यस एक्सपोमा व्यापार, आईटी सफ्टवेयर र पर्यटन क्षेत्रमा सहकार्यका नयाँ अवसरहरूबारे छलफल हुने नेपाल पर्यटन बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्वमा शान्तिको प्रतिकका रुपमा रहेका गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा प्रचारप्रसार गर्ने र बौद्ध धर्मालम्बीहरुलाई लुम्बिनी भ्रमणका लागि आह्वान गर्ने एक्सपोको मुल उद्देश्य रहेको छ । यसले दुवै देशबीच आध्यात्मिक र सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डसहित पाँच पर्यटनका क्षेत्रमा काम गरिरहेका कम्पनीहरु, आईटी सफ्टवेयर तथा कृषि जस्ता व्यापारिक क्षेत्रका प्रतिनिधिहरूले यस कार्यक्रममा सहभागिता जनाउनेछन् । यस एक्स्पोले दुवै देशबीच कृषि उत्पादन, विशेष गरी चामल र दालको व्यापारलाई बढावा दिनेछ । एक्सपोमा आईटी सफ्टवेयर समाधान र डिजिटल इकोनमीका क्षेत्रमा लगानी गर्न कार्यक्रममा सहभागी व्यवसायीहरुलाई आह्वान गरिनेछ । नेपालको तर्फबाट आईटी सफ्टवेयर सोलुसनसमेत प्रदर्शनीमा राखिनेछ, जसले दुवै देशबीच प्रविधि सहयोग र ज्ञान आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्नेछ । एक्सपोमा पर्यटन क्षेत्रमा दुवै देशका प्रतिनिधिहरूबीच बि–टु–बि सत्र, नेपाल पर्यटन बोर्डको प्रस्तुतीकरण र व्यापार वृद्धि, नवीनता र सांस्कृतिक आदानप्रदानमा आधारित छलफलहरू हुने बोर्डले जनाएको छ । यसले व्यापार र पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरूलाई नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यका नयाँ अवसरहरूको खोजी गर्न सहयोग पुर्याउनेछ । नेपालबाट होटल मनास्लु प्रा. लि., होटल रत्नसम्वय (लुम्बिनी), हिमालयन ३६०, जुगल होलिडेज प्रा. लि., बौद्ध सर्किट डट कम प्रालि, र नमस्ते पर्यटन र होलिडेज प्रालि जस्ता कम्पनीहरूले आफ्नो सेवाहरू प्रस्तुत गर्नेछन् । यी कम्पनीहरूको उद्देश्य भनेको म्यान्मारका पर्यटकहरूलाई नेपालका प्रमुख बौद्ध तीर्थस्थलहरूमा आकर्षित गर्ने, साथै पर्यटन र व्यापारका अवसरहरूलाई नयाँ उच्चाईमा पुर्याउने रहेको छ । यस एक्सपोले साथै नेपालमा म्यानमारी पर्यटकहरूको आगमन बढाउन मद्दत गर्नेछ भने दुवै देशबीच व्यापारिक सम्बन्धलाई पनि मजबूत बनाउने विश्वास गरिएको छ । बोर्डले जारी गरेको विज्ञिप्तिमा भनिएको छ, ‘यस एक्स्पोले नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा दीर्घकालीन सहकार्यका नयाँद्वार खोल्ने हामीले अपेक्षा गरेका छौं ।’

नगरकोट भ्रमण वर्ष-८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने, थप छुटको ‘प्याकेज’ बनाउन आग्रह

काठमाडौं । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष-२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित भक्तपुरका ४ नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताए । उनले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, १ पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताए । ‘करोडौं लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले भ्रमण वर्ष सफल पार्न सामाजिक दायित्वअन्तर्गत आवश्यक लगानीसहित आगन्तुक पर्यटकको स्वागतमा लाग्नुपर्छ । सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा खानेबस्ने गरी छुटका प्याकेज बनाउन पनि आवश्यक छ,’ नगरप्रमुख खत्रीले भने । चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् । होटल व्यवसायीदेखि स्थानीयवासीले भ्रमण वर्ष सफल पार्न आ-आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ । मण्डन देउपुर नगरपालिका प्रमुख टोपबहादुर वाइबाले नगरकोट चारवटै पालिकाको सङ्मगस्थल भएको बताउँदै भ्रमण वर्षलाई सफल पार्न चारवटै नगरपालिकाले पहल गर्ने बताए । यहाँको भौतिक संरचनादेखि पर्यटकीय क्षेत्रको विकास र भौतिक संरचना निर्माणका लागि चारवटै नगरपालिकाले लगानी गर्ने उनको भनाइ छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल महँगो भएकाले भ्रमण वर्षका लागि छुटको ‘प्याकेज’ बनाउन आग्रह गरे । उनले नगरकोटको वाटर मर्मतका लागि नगरपालिका लागेको बताउँदै नगरकोट आउने पर्यटकले चारवटै पालिकको पर्यटकीय क्षेत्रको भ्रमण गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने बताए । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले वैशाख १ गते भ्रमण वर्षको शुभारम्भका लागि उद्घाटन स्थलको स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले पर्यटन व्यवसायीले गर्ने योगदानबारे समितिले पुनः छलफल गरेर थप निर्णय लिने बताए । चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले भ्रमण वर्ष अवधिभर व्यवसायीले १० प्रतिशत छुट दिने, सबै होटलहरूले आफ्नो होटल र आसपासका क्षेत्र सजाउने, बत्तीले झिलीमिली बनाउने, प्रचारप्रसार र प्रवर्द्धनात्मक कार्यक्रम गर्ने घोषणा गरेको बताए । कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंसाकार, नगरकोट भ्रमण वर्ष-२०८२ का सम्पर्क व्यक्ति तथा विज्ञ डा घनश्याम खतिवडालगायतले पर्यटकलाई नगरकोट तान्न सक्ने गरी कार्यक्रमहरू ल्याइने बताए ।