वर्षातले चितवनमा जिप सफारी बन्द, विद्युत भूमिगत परियोजना पनि स्थगित
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्दछ । वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय पनि पछाडि सार्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनःसञ्चालनमा आएको थियो । उनका अनुसार वर्षाले बिगारेको सडक मर्मत सम्भार गरेर जिप सफारी खुला गरिन्छ । निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी सञ्चालन हुने उनले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकन लगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुने उनले जानकारी दिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका लागि बन्द गर्ने गरिन्छ । त्यसका कारण निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए । वर्षायाममा बाढी आउने र खोला खोल्सा बढ्ने, रुख ढल्ने, बाटोसमेत चिप्लो र हिलो हुने, घाँस र झाँडी बढेर जङ्गली जनावरसमेत नदेखिने उनको भनाइ छ । निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसाराबाट १०, मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् । भूमिगत विद्युतीकरणको काम वर्षातसँगै रोकियो । यसैबीच भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उनले भने, 'अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्ने लगायतका रोकिएको छ ।' अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, खम्बा गाड्ने लगायतका काम भइरहेको उनले बताए । सडक विभागले वर्षातमा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भाँसिने जस्ता समस्या हुने भएकाले काम रोकिएको हो । आयोजनाले हालसम्म सो महानगरपालिकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको सुवेदीले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकदेखि केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीदेखि केन्द्रीय बस ट्रमिनलसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्कोतर्फ भूमिगत गर्ने काम बाँकी रहेको छ । उनले भने, 'फाउण्डेसन राख्ने काम सकिएको छ, केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।' यस्तै ३३ केभि जडानको काम सकिएको छ भने ११ केभि र ४०० भोल्टको केवल राख्ने काम जारी रहेको छ । खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइने उनले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुवाती समयमा एक अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
एनसीएचएल र एण्ट इन्टरनेशनलको साझेदारीमा क्रस-बोर्डर क्यूआर भुक्तानी, पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र अन्तर्राष्ट्रिय डिजिटल फाइनान्स कम्पनी एण्ट इन्टरनेशनलले संयुक्त रूपमा नेपालका पर्यटन व्यवसाय र डिजिटल अर्थतन्त्रलाई जोड्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेका छन् । बैंक, वित्तीय संस्था र पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा आयोजित कार्यक्रममा क्रस(बोर्डर क्यूआर भुक्तानी प्रणालीमार्फत विदेशी पर्यटकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा, ट्राभल एजेण्ट संघ (नाट्टा) का अध्यक्ष कुमार मणि थपलिया, होटल एसोसिएसन नेपालका प्रमुख कार्यकारी टेक बहादुर महत, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त लगायत विविध सरोकारवालाहरूको सहभागिता रहेको थियो । एनसीएचएल र एण्ट इन्टरनेशनलले गत वर्ष कार्तिकमा नेपालपे क्यूआर र अलीपेपल्स बीच क्रस–बोर्डर भुक्तानी प्रणालीको सुरुवात गरेका थिए । हाल १७ भन्दा बढी अन्तर्राष्ट्रिय इ–वालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा नेपालपे क्यूआर नेटवर्कमा आबद्ध १२ लाखभन्दा बढी व्यवसायहरूलाई सहज रूपमा भुक्तानी गर्न सकिने सुविधा उपलब्ध रहेको छ । उक्त पहलले विदेशी पर्यटकलाई डिजिटल माध्यमबाट सजिलो भुक्तानी सेवा प्रदान गर्ने मात्र होइन, नेपालमा डिजिटल कारोबार विस्तार र पर्यटन उद्योगको आधुनिकीकरणमा समेत महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।
६ करोडमा बनेको ‘वनजङ्गल एडभेञ्चर’, साहसिक पर्यटनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य
काठमाडौं । काठमाडौं उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका-३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । योसँगै काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । काठमाडौंकै रिङरोडभित्र बसोबास गर्नेका लागि साहसिक गन्तव्य काठमाडौं रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमाने स्थित ‘वनजङ्गल एडभेञ्चर’ बनेको छ । यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्नेछन् । ८ महिनादेखि काठमाडौंभित्र रहेका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिँदै आइएको वनजङ्गल एडभेञ्चरका सञ्चालक एलिसा ढकालले बताइन् । उनले काठमाडौंमा बसोबास गरिरहेकालाई प्रकृति र साहसिक पर्यटनप्रति रूचि बढाउन एडभेञ्चर सञ्चालन गरिएको धारणा राखे । हिजोआज साहसिक पर्यटनको ‘प्याकेज’ बनाएर आउनेको सङ्ख्या बढिरहेको भन्दै उनले एडभेञ्चरले काठमाडौंभित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको बताए । काठमाडौंका मानिस यहाँ आउँदा समयको बचत र जङ्गलभित्र सबै एडभेञ्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको ढकालले बताए । उनका अनुसार ३० रोपनीमा फैलिएको वनजङ्गलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर्स कोर्ष जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउनेछन् । साहसिक पर्यटनका लागि नेपालमा पहिलोपटक रोलर कोस्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिए । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् । पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्छन् । एडभेञ्चरमा ११ टेन्ट र एक मौलिक घर रहेको छ । मौलिकताको जगेर्ना गर्दै वनजङ्गल एडभेञ्चरले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीडभाड हुने गर्दछ । भारतीय अक्सो कन्सल्टेन्सीले एक वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको र सबै पूर्वाधार पूर्ण रुपमा इञ्जिनिरियङ गरेर बनाइएको सञ्चालक ढकालले बताए । ‘वनजङ्गल एडभेञ्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौँ,’ उनले भने, ‘साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको छ ।’ जङ्गलको बीचमा कूल ६ करोड रुपैयाँ लागतमा आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले जानकारी दिए ।