सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु
काठमाडौं । सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सोमबारदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको छ । चीनको ल्हासाबाट एक सय सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलायन्स बनेको छ । पहिलो नियमित अन्तरराष्ट्रिय उडानमार्फत पोखरा अन्तरराष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे । हिमालय एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान सुरु गरिसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आए पनि अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । यात्रुहरूलाई स्वागतपछि विमानस्थलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैँमा महत्त्वपूर्ण भएको बताए । उनले यसको निरन्तरताका लागि प्रदेश सरकारका तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा ‘कनेक्टीभिटी’को भूमिका हुने बताउँदै उनले पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एअरलाइन्सको प्रशंसा गरे । उनले भनृ, ‘चुनौती बाँकी रहे पनि, सरकारी सहयोगले तिनीहरूलाई सम्बोधन गर्न सकिन्छ । गण्डकी सरकार पोखरामा हिमालय एअरलाइन्स्को सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान सुरु भइसकेका अवस्थामा पर्यटकलाई पोखरा आउँ आउँ लाग्ने वातावरण बनाउनुपर्ने बताए । हिमालय एअरलाइन्स्ले पोखरा–ल्हासा मार्गमा साप्ताहिक उडानको सफलतापूर्वक स्थापना गरेको बताउँदै उहाँले आगामी दिनमा एअरलाइन्स्को उडान सञ्चालनलाई विस्तार गर्ने दिशामा लाग्न शुभकामना व्यक्त गरे । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडानलाई नियमित गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताए । पोखराबाट पहिलो निर्धारित तालिका, उडान सेवा र १४औँ अन्तरराष्ट्रिय उडान प्रदान गरेकामा हिमालय एयरलाइन्स् प्रति धन्यवाद व्यक्त गर्दै उनले ऐतिहासिक ल्हासा–पोखरा उडानले दुवै देशका नागरिकलाई एक–अर्काका देशहरूको समृद्ध संस्कृति र पर्यटन अन्वेषण गर्न मद्दत पुग्ने बताए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुुन्दर नगर पोखरामा सुरु भएको व्यवसायिक उडानले निरन्तरता पाउने विश्वास व्यक्त गरे । नेपाल र चीन बीचको ७० वर्षको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्ने उनले विश्वास व्यक्त गरे । पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिदै उनले निर्धारित अन्तरराष्ट्रिय उडानको सपना हिमालयले अब वास्तविक बनाएको उल्लेख गरे । हिमालय एयरलायन्सका अध्यक्ष झोउ एनयोङले ऐतिहासिक उडान हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि ठूलो सफलता भएको बताए । यसले पोखरालाई प्रमुख अन्तरराष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवर्द्धन गर्ने उनको भनाइ छ । यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्ने महत्त्वपूर्ण पहल भएको उनको धारणा छ । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले हिमालय एअरलाइन्स्लाई पोखराबाट उद्घाटन र निर्धारित उडान दुवै सञ्चालन गर्ने पहिलो एअरलाइन्स् भएकोमा बधाई दिए । उनले पोखराका पर्यटन व्यवसायी र सरोकारवालाहरूलाई पोखरा–ल्हासा मार्गलाई सफल बनाउन सहयोगको अनुरोध गरे । हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताए । हिमालय एअरलाइन्स्ले सधैँ चीनमा नयाँ गन्तव्यहरू खोज्दै आएको र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको उल्लेख गर्दै उनले यो नयाँ रुटको सुरुवातसँगैै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको बताए ।
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही
काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका-४ का वडासदस्य श्याम पुर्जाले बताए । ‘अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन् । आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ,’ उनले भने । उनका अनुसार समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् । पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन् । वसन्तयामका लागि हालसम्म ५ वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् । उनका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन् । भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताइन् । ‘शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका छन् । केहीदिन आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जानेछन्,’ उनले भनिन् । विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ । अन्नपूर्णको अहिलेसम्म ४८८ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरिएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । ८ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ । प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ-आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ । नारच्याङका अगुवा तेज गुरुङको अगुवाइमा विसं २०६७ मा पहिचान भएको यो पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उनले उल्लेख गरे । पदमार्गलाई व्यवस्थित बनाएपछि यसपाली मजदुरहरूले सामान बोकेर आधार शिविरमा पुर्याएको उनले बताए । ‘गत वर्षसम्म सामान र पर्यटक दुवै हेलिकप्टरबाट आधार शिविर जाने गर्दथे । यसपाली पर्यटक हेलिकप्टरमा गएपनि सामान भरियाले बोकेर लगेका छन्,’ उनले भने । पदमार्गको प्रयोगसँगै आरोहीहरूको खर्च घट्नुका साथै भरियाहरूका लागि रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ । पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना ‘टेन्ट’को आश्रय स्थल निर्माण गरी खाना र खाजा खुवाउने व्यवस्था मिलाएपछि पर्यटकहरूलाई सहज भएको गुरुङले बताए । यसअघि होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैँले जोहो गर्नुपर्ने समस्या थियो । फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्डताल परिसरमा अस्थायी शिविर सञ्चालन गरेपछि पर्यटकलाई खान, बस्न सहज भएको अभियन्ता गुरुङले बताए । उनका अनुसार बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती अस्थायी शिविरमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटकीय याममा सञ्चालन गर्न मिल्ने गरी क्षेत्र तोकेर शिविर बनाउन अनुमति दिइएको एकयापले जनाएको छ । आधार शिविरबाट सोमबार फर्किएका म्याग्दीका सञ्चारकर्मी गणेश गुरुङले अस्थायी शिविर र रेष्टुरेन्टको सुविधाले सहज भएपनि स्वभाविक शल्क निर्धारण र एकरुपता कायम गर्नुपर्नेमा जोड दिए । मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट ४ हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सवारीसाधनमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको स्थानीय बताउँछन् । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन् ।
होटल व्यवसायी महासंघ नेपालको १२औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । साना, मझौला होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको छाता संस्था होटल व्यवसायी महासंघ नेपालको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा महासंघको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता महासंघका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष चुकेले महासंघको अवधारणासहित होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदानको चर्चा गरे । देशभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीको हकहित र अधिकारको प्रत्याभूति हुनेगरी आवश्यक नीति निर्माण हुनुपर्नेमा उनले जोड दिए । होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके । उनले बन्दसत्रमा भएको छलफलका क्रममा प्रतिनिधिबाट राखिएका जिज्ञासाको जवाफ दिएका थिए । संस्थाका संस्थापक ज्येष्ठ केन्द्रीय सदस्य गोपी सार्कीले शुभारम्भ गरेको सभामा वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । यस्तै महासचिव टिआर भण्डारीले साधारणसभाको खुला तथा बन्दसत्र कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा महासंघका संरक्षक अमृतबहादुर भुजेल, सल्लाहकार केपी पाध्य, कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, सह-आयोजक संस्था जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र जिल्लागत संघको प्रतिनिधित्व गर्दै होटल व्यवसायी संघ, झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ र रुपन्देहीका नरेन्द्र खनालले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा महासचिव भण्डारीले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक दिपेन सुवेदीले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । विंस २०६८ सालमा स्थापना भएको यस संस्थाले वैधानिकताको साथ आफ्नो विधानले निर्दिष्ठ गरेको नेपालको पर्यटन क्षेत्र, त्यसमा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीको हकहित संरक्षणका लागि विभिन्न निकायहरूसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संघले जनाएको छ । देशैभरका ७७ वटै जिल्लामा रहेका करिब २ लाखभन्दा धेरै होटल तथा रेष्टुरेन्ट व्यवसारीहरूको छाता संस्थाले संघीय सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न मन्त्रालयहरू, प्रदेश सरकार एवम् पर्यटन मन्त्रालय, स्थानीय सरकार, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, आन्तरिक तथा बाह्य पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै आइरहेको छ।