एनसीएचएल र एण्ट इन्टरनेशनलको साझेदारीमा क्रस-बोर्डर क्यूआर भुक्तानी, पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र अन्तर्राष्ट्रिय डिजिटल फाइनान्स कम्पनी एण्ट इन्टरनेशनलले संयुक्त रूपमा नेपालका पर्यटन व्यवसाय र डिजिटल अर्थतन्त्रलाई जोड्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।

बैंक, वित्तीय संस्था र पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा आयोजित कार्यक्रममा क्रस(बोर्डर क्यूआर भुक्तानी प्रणालीमार्फत विदेशी पर्यटकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा, ट्राभल एजेण्ट संघ (नाट्टा) का अध्यक्ष कुमार मणि थपलिया, होटल एसोसिएसन नेपालका प्रमुख कार्यकारी टेक बहादुर महत, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त लगायत विविध सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

एनसीएचएल र एण्ट इन्टरनेशनलले गत वर्ष कार्तिकमा नेपालपे क्यूआर र अलीपेपल्स बीच क्रस–बोर्डर भुक्तानी प्रणालीको सुरुवात गरेका थिए । हाल १७ भन्दा बढी अन्तर्राष्ट्रिय इ–वालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा नेपालपे क्यूआर नेटवर्कमा आबद्ध १२ लाखभन्दा बढी व्यवसायहरूलाई सहज रूपमा भुक्तानी गर्न सकिने सुविधा उपलब्ध रहेको छ ।

उक्त पहलले विदेशी पर्यटकलाई डिजिटल माध्यमबाट सजिलो भुक्तानी सेवा प्रदान गर्ने मात्र होइन, नेपालमा डिजिटल कारोबार विस्तार र पर्यटन उद्योगको आधुनिकीकरणमा समेत महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।

Share News