एयरलाइन्समा एक अर्बसम्म लगानी थप गर्दै फिस्टेल ग्रुप, नियमित उडानमा गोमामार्फत बजार बिस्तार
काठमाडौं २८, असोज । हेलिकोप्टर सेवामा आफ्नो छुट्टै छवि बनाएको फिस्टेल ग्रुपले एयरलाइन्स क्षेत्रमा आगामी एक वर्षभित्रै एक अर्ब रुपैयाँसम्म लगानी थप गर्ने भएको छ । आगामी जनावरीभित्र गोमा एयरका लागि एउटा जहाज थप गर्ने र एक वर्ष भित्रै दुईवटा नयाँ हेलिकोप्टर ल्याउने सम्झौता हालसालै सम्पन्न भएको फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पाण्डेले बताए । पाण्डेका अनुसार गोमा एयरमार्फत आन्तरिक उडानको जहाजमा गएको यो वायुसेवाले दुई वर्ष अगाडि नै गोमा एयरको बहुमत शेयर खरिद गरेको हो । सिंगल इन्जिनको गोमा एयर खरिद गरेपछि यसको बजार हिस्सा बढाउन दुई वटा लेट ४१० नामक १९ सिट क्षमताको हजाईजहाज थप गरेर नियमित उडान गरिरहेको छ । आगामी जनावरी भित्रै लेटकै अर्को एउटा जहाज थप गर्र्ने गरी गोमाले जहाज निर्माता कम्पनीसँग सम्झौता गरिसकेको छ । फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयरको जहाज यो जहाजको बजार मूल्य अहिले ५५ करोड रुपैयाँ रहेको छ । गोमासँग हाल सिंगल इन्जिनका यात्रु तथा कार्गो चार्टर गर्ने २, नियमति यात्रु उडानका २ वटा जहाज उडानमा छन् । अर्को एक यात्रु उडानको जहाज थप गरेर यात्रुको सेवा र उडान गन्तव्य बढाउने गोमा एयरको योजना रहेको छ । फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयर नियमित उडानको वायुसेवा हो भने फिस्टेल हेलिकोप्टरले पनि सेवा दिइरहेको छ । लामो समयदेखि हेलिकोप्टरको सेवा दिएको यो कम्पनीसँग पाँच वटासम्म हेलिकोप्टर थियो । दसैंदेखि एयरवस हेलिकोप्टर कम्पनीको एउटा एएस ३५० बी थ्री नामक ६ सीट क्षमताको हेलिकोप्टर थप भएको छ । करीब २५ करोड रुपैयाँमा खरिद भएको यो एक हेलिकोप्टर थप भएपछि हाल फिस्टेलसँग दुईवटा हेलिकोप्टर भएको छ । आगामी एक वर्षभित्रै थप भइसकने गरी दसैं अगाडि सम्झौता भएको बेलको पाँच सिट क्षमताको ५०५ हेलिकोप्टरसहित फिस्टेलसँग हेलिको संख्या चार वटा पुग्ने भएको छ । फिस्टेल एयरले दसैंबाटै उडान सुरु गरेको नयाँ हेलिकोप्टर एयरवस हेलिकोप्टरमा भएको लगानी र बेलमा सम्झौता भएको एउटाको १२ करोड रुपैयाँ तथा गोमा एयरमा हुने लगानीसहित फिस्टेल ग्रुपको एक वर्षभित्रमा नै एक अर्ब रुपैयाँ थप हुने जानकारी पनि पाण्डेले दिएका छन् । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउने योजना रहेको पनि पाण्डेले जानकारी दिए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको छ । फिस्टेलले दसैं अगाडि मात्रै बेलका दुईवटा हेलिकोप्टर खरिद गर्न टेक्ट्रोन कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतामा फिस्टेलक अध्यक्ष विकास राणाले हस्ताक्षर गरेका छन् नेपाली आकासमा दुई प्रकारको हेलिकोप्टर सेवा प्रदान गरेर नयाँ पुस्तालाई सेवा दिन यो कम्पनी अब्बल ठहरिदै गएको बुझाई पनि फिस्टेल एयरको छ । हेलिकोप्टर सेवामा चर्को प्रतिस्पर्धा नेपाली आकासमा पछिल्लो समय दुई साताकोबीचमा तीन वटा हेलिकोप्टर थप भएका छन् । फिस्टेलको एक, अल्टिच्यूट एयरको एक र प्रभु एक गरी तीन वटा कम्पनीले एकएक वटा हेलिकोप्टर थप गरेका छन् । नेपाली आकासमा सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेल हेलिकोप्टर्स, एयर डाइनेष्टिले पनि हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म यस्ता हेलिकोप्टर रहेका छन् । दसैंदेखि नै सेवा सुरु गरेको अल्टिच्युटको एउटा छ भने प्रभुले एक थप गरेर दुई वटा हेलिकोप्टर बनाएको छ । अन्य सबै कम्पनीसँग दुई देखि ४ वटासम्मले उडान गरिरहेका छन् । नेपाली आकासमा हेलिकोप्टर सेवामा भएको यो प्रतिपस्र्धाले उड्डयन क्षेत्रको सम्भावनालाई औल्याएको पनि उल्लेख छ।
प्रभुको नयाँ हेलिकप्टर ‘आर६६ टरबाइन’ अब छिट्टै नेपाली आकाशमा
काठमाडौं, २१ असोज । प्रभु समूह अन्तर्गतको भगिनी संस्था प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रोबिन्सन आर६६ नँया हेलिकप्टर नेपालमा भित्र्याएको छ । उक्त हेलिकप्टरले चाडै नै नेपाली आकाशमा व्यवसायिक उडान शुरु गर्ने कम्पनीले जानकारी गराएको छ । यो सहित प्रभु हेलिकोप्टरसँग अहिले अमेरिकामा निर्मित दुई वटा हेलिकोप्टर रहेको छ । पोखरा र काठमाडौंमा आधार बनाएर हेलीकप्टरद्वारा दैनिक साइट–सिइङ, माउन्टेन फ्लाइट, रेस्कियू फ्लाइट आदि उडानहरु गर्ने योजना रहेको कम्पनीको रहेको छ । दक्ष प्राविधिकद्वारा सर्व सुलभ दरमा सुरक्षित उडान सेवा गर्ने कम्पनीको उद्देश्य रहेको छ । कम्पनीको पोखरामा आफ्नै ह्यान्गरमा नियमित परिक्षण तथा मर्मत सम्भार गरि सुरक्षित तथा भरपर्दो सेवाको प्रत्याभूति गरिएको छ । प्रभु हेलिकप्टरले क्रमिक रुपमा नँया हेलिकप्टरहरु थप्दै हवाई क्षेत्रमा गुणस्तरीय सेवा दिंदै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने योजना राखेको छ ।
एक एनआरएनले ३ जना पर्यटक पठाउने प्रतिवद्धता, सन् २०१७ सम्ममा १६ लाख पर्यटक नेपाल पठाउने अभियान सुरु
काठमाडौं २१, असोज । सन् २०१७ को अन्त्यसम्मका नेपालमा १६ लाख पर्यटक पठाउने र यसका लागि नेपाल भ्रमणको अभियान सुरु गर्ने गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले बताए । नेपालमा विदेशी पर्यटक बढाउन संघले आफ्ना सदस्यमार्फत हरेक देशका एनआरएन एक जनाले ३ जना विदेशी पर्यटक नेपाल पठाउने प्रतिवद्धता पनि भट्टले व्यक्त गरे । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको बताए । उनका अनुसार नेपालमा धेरै मात्रामा फूर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको पनि उनको बुझाई छ । संघले पर्यटन प्रवद्र्धनमा एनआरएनएको भूमिका प्रभावकारी बनाउन चाहेको जानकारी दिएको छ । एनआरएनले ६ महिना अगाडिदेखि बोर्डसँगको सहकार्यमा अतिथी देवो भवः नामक पर्यटन प्रवद्र्धनको अभियान संचालन गरिरहेको छ । यही अभियानलाई थप प्रभावकारी बनाउन संघले आफ्नो सक्रियाता बढाउन चाहेको बताएको छ । अभियानका प्रमुख लिडर डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेश गरे । डेमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आफ्नाफ्नो प्रस्तुतीकरण समेत दिएका छन् । उनीहरुले बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलव्ध हुनुपर्ने सहितको माग पनि पर्यटन प्रवद्र्धन दूतको छ । बोर्डले सन् २०१८ सम्मका लागि २८ जना यस्ता दूतको नवीकरण गरेको छ । कम्तिमा दुई वर्षका लागि दिने यस्तो दूत नवीकरण नभएका र प्रक्रियामा रहेको संख्या तथा बोर्डले दूत नियुक्त गरेका गरी करीब चार दर्जन रहेका छन । पर्यटन बोर्डले एउटै देशमा पाँच जनासम्म यस्तो पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले विभिन्न देशमा गरी सन् २०१८ सम्मका लागि नवीकरण भएका यस्ता पर्यटन दूतको संख्या हाल २८ जना रहेको तथ्यांक उपलव्ध गराएको छ । बोर्डले धेरैवटा देशमा एक जना मात्रै नियुक्त गरेको भएपनि संयुक्त राज्य अमेरिकामा भने पाँच जना पर्यटन सद्भाव दूत नियुक्त गरेको छ ।