एक वर्षमा ३७ हजार विदेशी पर्यटक मनाङ पुगे, सबैभन्दा धेरै इजरायली

मनाङ । हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ । उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्याङ्कअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका दुई हजार ५५४ र अन्य राष्ट्रका ३५ हजार १७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेका भुजेलले बताए । फ्रान्सका तीन हजार ६१६ र जर्मनीका दुई हजार ८४२ नागरिकले भ्रमण गरेका छन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए । उक्त वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्याङ्कमा उल्लेख छ । यस वर्षमा इजरायली नागरिकको सङ्ख्या अधिक रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ आउने पर्यटकको आगमन बढ्ने क्रममा छ । यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन् । पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ ।’ विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ । उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक बढी आउने गरेका छन् । सङ्ख्याका आधारमा यी राष्ट्रबाट धेरै हुन् । अमेरिका, चीन, रसिया, भारतीय पर्यटक आउने क्रम बढ्दै गएको तथ्याङ्क हामीमा दर्ता भएका छन् ।’ मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उनले भने, ‘तीन/चार दिन लगातार बिदा परेको बेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौँ । भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बिस्तारै बढ्दै गएको छ । विशेषगरी हाल मनाङ भ्रमणका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।’ आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन । तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ । मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । लगातार बिदा भएको समयमा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उनले बताए । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूआत गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् ।

पर्यटक बढे पनि होटल व्यवसाय कमजोर, उद्योग क्षेत्रमा गम्भीर चुनौती

काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटक आउने क्रम बढेपनि होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) घट्दै गएको सरकारी अध्ययनले देखाएको छ । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटकको आगमन भएको छ ।  गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७ सय ६९ जना पर्यटकको आगमन भएको थियो तर नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार अघिल्लो आर्थिक वर्ष साउनदेखि पुषसम्मको तुलनामा होटलहरुको औसत क्षमता (अकुपेन्सी रेट) उपयोग घटेको अध्ययनले देखाउँछ । २०८०/८१ को साउनदेखि पुससम्ममा त्यस्तो उपयोग ४५.३० प्रतिशत रहेकोमा २०८१/८२ को सोही अवधिमा ४३.९३ प्रतिशत होटलहरुको औसत क्षमता उपयोग भएको अध्ययनले देखाउँछ । समीक्षा अवधिमा कोशी प्रदेशको होटलहरूको औसत क्षमता उपयोग सबैभन्दा धेरै ५९.२८ प्रतिशत रहेको छ भने सबैभन्दा कम लुम्बिनी प्रदेशको अकुपेन्सी रेट ३१.९२ प्रतिशत रहेको छ । तर कोशी प्रदेशको अकुपेन्सी रेट गत वर्षको भन्दा कमजोर हो । गत वर्ष त्यस्तो रेट ६७.४९ प्रतिशतसम्म पुगेको थियो । लुम्बिनी प्रदेशमा अघिल्लो आवको साउनदेखि पुससम्म अकुपेन्सी रेट २६.८४ प्रतिशत रहेको थियो । मधेस प्रदेशको अकुपेन्सी रेट हेर्ने हो भने घटेको छ । २०८०/८१ को ६ महिनामा ३५.३३ प्रतिशत अकुपेन्सी रेट रहेकोमा २०८१/८२ को पुससम्म ३३.६६ प्रतिशत रहका छ ।  बागमती प्रदेशको अकुपेन्सी रेट समीक्षा अवधिमा बढेको छ । २०८१/८२ को ६ महिनामा ५१.३८ प्रतिशत सो प्रदेशको अकुपेन्सी रेट छ । त्यसअघिको वर्षको सोही अवधिमा उक्त रेट ५०.६० थियो । यस्तै गण्डकी प्रदेशको अकुपेन्सी रेट समीक्षा अवधीमा घटेको छ । गण्डकीमा २०८०/८१ को साउन–पुससम्म ३३.०८ प्रतिशत रहेकोमा अर्को वर्षको सोही अवधिमा ३३.५८ प्रतिशतमा झरेको छ ।  कर्णाली प्रदेशको अकुपेन्सी रेट केही बढेको छ । २०८१/८२ को ६ महीनाको अवधिमा उक्त प्रदेशको अकुपेन्सी रेट ५८.३८ प्रतिशत रहेकोमा त्यसअघिको वर्षमा ५६.८९ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा होटलहरुको औसत क्षमता उपभोग (अकुपेन्सी रेट) घटेको छ । २०८०/८१ को साउन–पुषसम्म ४५.८६ प्रतिशत रहेकोमा अर्को वर्षको सोही अवधीमा ३९.३२ प्रतिशतमा झरेको छ ।  औद्योगिक क्षेत्रमा चुनौति बढ्यो राष्ट्र बैंकले आफ्नो अध्ययन प्रतिवेदनमा पछिल्लो समय चुनौतिहरु बढेको समेत निष्कर्ष निकालेको छ । प्रतिवेदनमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई तिब्रता दिनु, स्वदेशी उत्पादनका लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनु चुनौति रहेको उल्लेख गरिएको छ भने औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कृषिजन्य तथा अन्य औद्योगिक उत्पादनको लागि आवश्यक कच्चा पदार्थको आन्तरिक उत्पादन वृद्धि गरी समग्र औद्योगिक उत्पादन वृद्धि गर्नु चुनौतिपूर्ण रहेको देखाइएको छ ।  राष्ट्र बैंककाअनुसार औद्योगिक क्षेत्रमा अहिले अत्यावश्यक कच्चा पदार्थको आपूर्ति सहज गर्नु चुनौतिपूर्ण छ भने उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्नु, औद्योगिक पूर्वाधार एवं मानव संसाधनको विकास गर्नु, स्वदेशी श्रमशक्तिको दक्षता अभिवृद्धि गर्नु, जनशक्ति पलायनको क्रमलाई रोकी उद्योगतर्फ आकर्षित गर्नु चुनौतिपूर्ण देखिएको छ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षित गर्नु, निर्यातयोग्य वस्तुहरूको विविधीकरण गर्नु, स्वदेशी उत्पादनको गुणस्तर वृद्धि गर्नु, बढ्दो आयातका कारण स्वदेशी उद्योग प्रतिस्थापन हुनबाट संरक्षण गर्नु तथा उद्योगहरूबाट निस्कने फोहर तथा प्रदुषणबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरलाई कम गर्नु समेत उद्योग क्षेत्रमा देखिएका प्रमुख चुनौतिका रुपमा औँल्याइएको छ । 

यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’

भोजपुर । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो ।   यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्न पदमार्गले टेवा पुर्याउने उनको भनाइ छ ।  'गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा यो पदमार्गको विकास गरेका छौँ', प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने, 'पर्यटनको माध्यमबाट आर्थिक पक्षलाई जोड्ने लक्ष्य छ । यसले गाउँपालिकाको विकासमा टेवा पुर्याउने अपेक्षा लिएका छौँ ।'  यहाँ गाउँपालिकाको गौरवको आयोजनाका रूपमा पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । दूधकोशीको चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी, विराटनगरबाट ६५ किमी दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईको भनाइ छ ।  'यो पदमार्ग गाउँपालिकाको गौरवको आयोजना हो, यो पदमार्गले गाउँपालिकाका मुख्य क्षेत्रलाई समेटेको छ । यसलाई हामीले छोटो दूरीको पदमार्गका रूपमा विकास गरेका छौँ', अध्यक्ष राईले भने । पदमार्गलाई एक ऐतिहासिक पदमार्गका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको पदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको गाउँपालिकाले जनाएको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले घारबास (होमस्टे) सञ्चालन गर्ने लक्ष्य लिएको छ ।    हरियालीसँगै फाटिँला पहाडका चौरहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई सहर नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ । यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यावलोकन गर्दै दुईचार दिन बिताउन सक्नेगरी पदमार्गलाई व्यवस्थित गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।  किरात राजाहरुले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । यहाँका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकास भइरहेको वडाध्य विष्टले बताए ।  प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्गको प्रचारप्रसारको जोड दिइएको छ । हतुवागढीको सबैभन्दा अग्लो स्थान शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँट विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार ८६५ मिटर उचाइमा  छ । रासस