तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट अप्रिल २३ देखि सुरु, यसपटक काठमाडौंमा पनि हुने

काठमाडौं । तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) यही अप्रिल २३ देखि आयोजना हुने भएको छ । बुधबार नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले पत्रकार सम्मेलनको आयोजना गरी मार्ट आयोजना हुनेबारे जानकारी गराएको हो ।  मार्ट नेपाल पर्यटन बोर्ड र नाट्टा दुवैले संयुक्त रूपमा मिलेर आयोजना गर्न लागेको जनाएको छ । यससम्बन्धमा बोर्ड र नाट्टाबीच गत चैत्र २२ गते सम्झौता भइसकेको छ ।  उक्त कार्यक्रममा बोर्डबाट कार्यबाहक निर्देशक सुनील शर्मा तथा बीआईटीएम २०२५ की संयोजक एवं नाट्टाका वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने तय भएको छ ।  आयोजकका अनुसार अघिल्लो वर्षमा बुद्धको जन्मस्थान लुम्बिनीमा मात्रै मार्ट आयोजना हुँदै आएकोमा यो पटक भने काठमाडौंमा पनि आयोजना हुने भएको हो । काठमाडौंमा अप्रिल २३ र २४ अनि लुम्बिनीमा २५ मा हुनेछ । कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहको सहभागिता हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ  ।  आयोजकका अनुसार सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । साथै मार्टमा १ हजार १ सयभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा धर्मको माध्यमबाट पनि नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगमी अप्रिल २३ देखि २४ गतेसम्मको लागि कार्यक्रम आयोजना हुन लागेको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए ।  उनले भने, ‘बीआईटीएम २०२५ नेपाललाईद केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ ।’  कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको बताउँदै त्यसको प्रचारप्रसार आवश्यक औंल्याए ।  उनले भने, नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौं मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ ।’ यसले दीर्घकालीन पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उनले उल्लेख गरे । कार्यक्रम तालिका २२ मेमा विदेशीहरू नेपालमा आइपुग्ने कार्यक्रम रहेको छ । २३ अप्रिलमा औपचारिक रूपमा मार्टको उद्घाटन कार्यक्रम रहेको छ भने उक्त दिन कन्फ्रेन्स, बिटुबी मिटिङ, र प्रदर्शनी रहेको छ ।  साँझ गाला डिनरका साथै नेटवर्किङ कार्यक्रम आयोजना हुने छ । दोस्रो दिन अर्थात २४ मे मा कन्फ्रेन्स, बिटुबी नेटवर्किङ र प्रदर्शनीको निरन्तरता रहनेछ भने त्यही दिन साँझ लुम्बिनी जाने  कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  आयोजनका अनुसार २५ मे मा लुम्बिनीमा त्यहाँ पोष्ट कन्फ्रेन्स, एफएम ट्रिप, बिटुबी नेटवर्किङसहित कार्यक्रमको समापन हुने छ । २६ मे मा काठमाडौं फिर्ता हुँदै विदेशीहरु आ–आफ्नो देशमा फर्किने कार्यक्रम रहेको छ ।  मार्टमा सहभागी हुन चाहने सहभागीहरूले २०८२ वैशाख २८ (१० मे २०२५) भित्र अनिवार्य दर्ता गर्नु पर्ने छ । र २०८२ वैशाख १८ (३० अप्रिल २०२५) भित्र दर्ता गर्ने सहभागीहरूलाई ‘अर्ली बर्ड’ को छुटसमेत उपलब्ध रहेको आयोजकले जनाएको छ । यो कार्यक्रमको मूख्य लक्षित समूहमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ट्राभल एण्ड ट्रेड कम्पनी, पर्यटनसम्बद्ध सरकारी कार्यालय, बुद्धिजमसँग सम्बन्धित संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय एयरलाइन्स, सञ्चारमाध्यमलगायत रहेको आयोजकले जनाएको छ । बीआईटीएम २०२५ को लागि प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर स्तरका प्रायोजन प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार विभिन्न स्तरमा ब्राण्डको सहभागिता, कार्यक्रमको प्रचारमा सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ ।  आयोजकले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पर्यटन क्षेत्र, सरकारी निकाय, अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र सहकार्यको अपेक्षा गरेका छन् । नेपालमा पहिलोपटक सन् २०१९ र दोस्रोपटक सन् २०२३ मा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न भएको थियो । सन् २०२३ मा २५० भन्दा बढी भिजिटर्स, ८ सय भन्दा बढी सदस्य, १५ भन्दा बढी देशका प्रतिनिधि, ५० भन्दा बढी बिक्रेता र ५० भन्दा बढी सञ्चारमाध्यमको सहभागिता रहेको आयोजकले जनाएको छ ।  आयोजका अनुसार सन् २०२३ मा ३५० भन्दा बढी भिजिटर्स, ९ सयभन्दा बढी सदस्य, ८० भन्दा बढी ब्लगर्स÷मिडियाको सहभागिता रहेको थियो ।

सगरमाथा क्षेत्रमा ४३ हजार पर्यटकले गरे भ्रमण, ११ करोड ३२ लाख राजस्व जम्मा

सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ ।  वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।  राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो ।  'हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ,’ रेन्जर श्रेष्ठले भने ।  पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ ।  हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन् । अनुकूल मौसम हुँदा काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौं पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् । यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौंबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातायात व्यवसायीहरू बताउँछन् । हवाइ र सडक मार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम पहिले–पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो । तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ । मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन् ।  यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन् । निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन् । अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन् ।  लुक्ला–मन्थली तथा काठमाडौं–लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको सङ्ख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए । काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन् । सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने भएकाले बोलेरो प्रयोग गर्ने गरेको सवारी चालक सन्तोष तामाङले बताए । लुक्ला नजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । 'लुक्लामा मौसम बिग्रिरहने भएकाले बारम्बार जहाज उडान अवरुद्ध हुन्छ तर अब लुक्ला नजिकै रोड पुगेकाले गाडीबाट पनि जान सकिने भएको छ, यो खुसीको कुरा हो,’ उपाध्यक्ष शेर्पाले भने ।  यद्यपि खुम्बु आउन चाहने केही पर्यटक भने मौसमका कारण अन्यत्र डाइभर्ट हुने गरेको व्यवसायीहरूको भनाइ छ ।  व्यवसायी तेम्बाछिरिङ शेर्पाले भने, 'खुम्बु जाने सहज माध्यम भनेको हवाइजहाज हो, तर लुक्लामा मौसम खराब हुँदा खुम्बु जाने कतिपय विदेशीहरू अन्य स्थानतर्फ लागे । उनीहरू निश्चित समयको 'भिषा' लिएर आउने भएकाले मौसम प्रतिकूल हुनासाथ अन्य स्थानतर्फ जाने सम्भावना बढ्छ ।' निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहवर्धक विसं २०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपािलका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।  सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ ।  उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जङ्गललाई अति मनोरम र सुन्दर बनाउँछन् ।  कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमुलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्त्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ ।  मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौं पर्यटक यहाँ आउने गर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्दै आएको छ । सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मङ्सिरसम्म हो ।  नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन् ।  गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मङ्सिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीन जना निकुञ्जको चेकपोष्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए ।       पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले रु ११ करोड ३२ लाख नौ हजार १०० राजस्व सङ्कलन गरेको छ । भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन् । तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार ८०० अन्य देशका पर्यटकले निकुञ्जको भमण गरेका हुन् ।  हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ । पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रुपमा फाइदा पुर्‍याइरहेको छ तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन् ।  पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पा भन्छन्, 'अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण,  पर्यटनको दिगो विकास हुनुपर्छ । सगरमाथा नेपाल र नेपालीको गौरव हो, याे देशको अद्वितीय सौन्दर्यको रासास्वादन जीवनमा एकपटक गर्नैपर्ने सन्देश दिनुपर्छ ।'

लुक्ला जाँदै गरेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाज प्राविधिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका दृष्टिले काठमाडौंमा ल्याएर अवतरण गराइएको हो । उक्त घटनाका कारण त्रिभुवन विमानस्थलको धावनमार्ग केही समयका लागि बन्द गर्नुपरेको थियो । हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा केहीबेर रोकिएको र पछि सुरक्षित रूपमा ट्याक्सी गराएर बाहिर निकालिएको जनाइएको छ । हाल जहाजको प्राविधिक जाँच भइरहेको विमानस्थल स्रोतले जनाएको छ । यात्रुहरू भने सकुशल रहेको बताइएको छ । सुरक्षालाई प्राथमिकतामा राख्दै जहाजलाई समयमै सुरक्षित अवतरण गराइएकोले ठूलो दुर्घटना टरेको विमानस्थल अधिकारीहरूले बताएका छन् ।