हिमाल आरोहणबाट साढे २४ करोड आम्दानी, ४१ समूहका ३८१ जनाले लिए अनुमति

काठमाडौं । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन् ।  पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण-१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन् । यस्तै अन्नपूर्ण-१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् । हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।

‍‍गौतमबुद्ध अन्तर्राराष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै उद्योग व्यवसायीको ध्यानाकर्षण

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।  सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलनमा विमानस्थल अगाडि धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरूले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाइमा हुने आन्दोलनमा जिल्लाका सबै सङ्घ–संस्था रहने गरी संयुक्त आन्दोलन सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।  पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । त्यस्तै, सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरुसँग आन्दोलनका कार्यक्रमबारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले जानकारी दिए । त्यसैगरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण ¥याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले बताए । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा र यति गर्दा पनि अन्तरराष्ट्रिय उडान सञ्चालन नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेका वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् ।  यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैनन् । भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसियाले समर शेड्युल लिएका छैनन् ।

नयाँ वर्ष लक्षित होटल संघ नेपाल पोखराको ‘जाऊँ है पोखरा अभियान’, विभिन्न प्याकेज घोषणा

काठमाडौं । होटल संघ नेपाल पोखराले नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न प्याकेज सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्याकेजहरू घोषणा गरेको हो । संघले यही चैत्र ३० देखि वैशाख १ गतेसम्म ‘२० औं फेवा महोत्सव २०८२’ मनाउन लागेको छ । उक्त महोत्वसवको थप प्रचारप्रसारको लागि  संघले नेपाल पर्यटन बोर्डको सहकार्यमाा पूर्वी नेपालका प्रमुख सहरहरूमा ‘जाऊँ है पोखरा’ अभियान सञ्चालन गरेको छ । त्यसै अवसरमा संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखराजस्ता प्याकेज घोषणा गरेको छ । जाऊँ है पोखरा प्याकेज जाऊँ है पोखरा प्याकेजअन्तर्गत एक जनाले न्यूनतम ४ हजार ९९० रुपैयाँमा दुई रात/तीन दिनको विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन् । उक्त प्याकेजअन्तर्गत दुई रातको लागि डबल वा ट्वीन रुममा ब्रेकफास्टसहित बस्न मिल्ने, एयरपोर्टबाट टुरिष्ट बस पार्क वा पिकअपको सुविधा, स्वागत पेयपदार्थ र आधा दिनको लागि पोखरा सहर साइडसिइङ गर्न मिल्ने साथै एक घण्टा डुङ्गा यात्रा गर्न पाउनेछन् । शैक्षिक भ्रमण पोखरा प्याकेज त्रिपाल सेयररिङ बेसिसमा २ रातको ब्रेकफास्टसहितको बसोबासको व्यवस्था हुने संघले जनाएको छ । यो प्याकेजमा कम्तीमा ३० जना विद्यार्थी हुनुपर्ने छ । यस प्याकेजमा एक जना टुर एस्कर्ट र एक जना शिक्षकले नि:शुल्क सेवा लिन पाउने छन् । एयरपोर्टबाट टुरिष्ट बस पार्क वा पिकअपको सुविधा, स्वागत पेयपदार्थ र आधा दिनको लागि पोखरा सहर साइडसिइङ गर्न मिल्ने साथै एक घण्टा डुङ्गा यात्रा गर्न यी सबै सुविधाहरू  न्यूनतम ६ हजार ५५० र अधिकतम १८ हजार ४४० रुपैयाँमा उपलब्ध हुनेछन् । मधुमास पोखरा प्याकेज संघले नव दम्पती लक्षित गरेर नयाँ वर्षको अवसरमा मधुमास पोखरा प्याकेज सार्वजनिक गरेको छ । नवदम्पतीले प्रतिव्यक्ति ६ हजार ५५० र अधिकतम १८ हजार ४४० रुपैयाँ (ट्वीन सेयरमा) यो प्याकेज लिन सक्नेछन् । यस प्याकेजभित्र एयरपोर्टसम्म वा टुरिष्ट बस एरिया सम्म पिकअपको सुविधा, डिनर, ब्रेकफास्टसहित दुई रातको डबल रुमसहितको कोठा, निजी गाडीमा पोखरा सहर साइडसिइङ गर्न पाउने र एक घण्टा डुङ्गा सयर गर्न पाउनेछन् । पोखरा–मुक्तिनाथ प्याकेज पोखरा र मुक्तिनाथ एकैचोटि घुम्न चाहने पर्यटकको लागि यो प्याकेज उपयोगी हुनेछ । जसमा न्यूनतम ६ जनाको समूह हुनुपर्ने संघले जनाएको छ । यस प्याकेज तीन रात चार दिनको रहेको छ । जसमा पहिलो दिन पोखरा आगमन र र आधा दिन पोखरा बजार साइड सिइङ गर्न पाइनेछ । दोस्रो दिन जीपमार्फत जोमसोम यात्रा र रात त्यही बास बस्ने र तेस्रो दिन मुक्तिनाथ दर्शन गरी पुन: पोखरा फर्किन पाइनेछ । चौंथो दिनमा पोखराबाट टुरिस्ट बस वा प्लेन उडानबाट घर फिर्ता हुन पाइनेछ । यो प्याकेज प्रतिव्यक्ति न्यूनतम १५ हजार ४९९ रुपैयाँ र अधिकतम २४ हजार ४९९ रुपैयाँमा खरिद गर्न सक्छन् । त्यसबाहेक तीन रात चार दिनको ट्रेकिङ प्याकेजसमेत रहेको छ । यो प्याकेज न्युनतम १५ हजार ४९९ प्रतिव्यक्ति र अधिकतम २२ हजार ४९९ प्रतिव्यक्ति रहेको छ । यसमा पहिलो दिन पोखरादेखि घोरेपानी, दोस्रो दिन घोरेपानीदेखि तातोपानी, तेस्रो दिन तातोपानीबाट घान्द्रुक र चौथो दिन घान्द्रुकबाट पुन पोखरा फर्किनुपर्ने छ । २० औं फेवा नववर्ष महोत्सव चैत ३० गते देखि, पर्यटन र नेपाली खानाको प्रवर्द्धन गरिने