विदेशमा रहेका नेपालीले आजसम्म बन्दीपुर केवलकारमा लगानी गर्न सक्ने
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमको आईपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कमपनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
साढे ६ अर्बमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने
काठमाडौं । नेपाल आयल निगमले ६ अर्ब ५० करोड रुपैयाँ लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो । त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आज निगमलाई हस्तान्तरण गरेको छ । सिनामङ्गलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राडा सुरज लामिछाने र सहप्राध्यापक नारयण गौतमले सिनामङ्गलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरे । उक्त प्रतिवेदनमा कुल छ अर्ब ५४ करोड २९ लाख रुपैयाँको लागतमा डिपो स्थान्तरण गरिने उल्लेख छ । अब बन्ने डिपोमा पेट्रोलियमसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डको पूरा पालना गरिने छ । नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डको हुने निगमले जनाएको छ । डिपो स्थानान्तरणसम्बन्धी प्रतिवेदन तयार गर्न निमगले गत मङ्सिर ५ गते त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएको थियो । सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामङ्गलस्थित हवाई इन्धन डिपो गुह्वेश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । नयाँ बन्ने डिपोमा इन्धन भण्डारणका लागि तीन हजार किलोलिटरका पाँच वटा भर्टिकल टयाङ्क निर्माण हुनेछन् । भविश्यमा भण्डारण टयाङ्क निर्माणका लागि थप जग्गा पनि रहनेछ । प्रमुख यादवले आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्नेगरी नयाँ डिपो निर्माण गरिने जानकारी दिए । डिपो अत्याधुनिक तथा पूर्णरूपमा स्वचालित हुनेछ । हवाई इन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि क्रमशः छ र आठ वटा वे, अन्तरराष्ट्रिय उडानका जहाजमा इन्धन भर्न सात वटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने निमगले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार १०० किलोलिटरका दुई वटा पानी टयाङ्क तथा पूर्णस्वचालित अग्नि नियन्त्रक प्रणाली जडान हुने प्रमुख यादवले जानकारी दिए । नेपाल नागरिक उडड्यन प्राधिकरणले जग्गा व्यवस्थापनको काम सम्पन्न गरिदिएमा आगामी भदौमा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी आगामी मङ्सिरदेखि निर्माण प्रारम्भ गर्ने योजना रहेको उनले बताए । जग्गा व्यवस्थापनको काम अत्यन्त ढिलो गतिमा भइरहेको जानकारी दिँदै उनले प्राधिकरणबाट सहयोगको अपेक्षा गरिएको बताए । निर्माण सुरु भएको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विसं २०८४ मङ्सिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने योजना रहेको प्रमुख यादवले सुनाए । इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको बताए । उनले निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डिपिआर हस्तान्तर गरिएको स्पष्ट पारे ।
२ लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन, २९ करोड रुपैयाँ बढी पर्यटन शुल्क सङ्कलन
भक्तपुर । गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ । भक्तपुरमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटक भित्रिएका थिए । त्यसमा गैरसार्क मुलुकका एक लाख १६ हजार ४०१ र चीनसहितको सार्क राष्ट्रका एक लाख २९ हजार १९२ जना थिए । आव २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब एक हजार जना पर्यटक कम भित्रिए पनि पर्यटन शुल्क भने वृद्धि भएको नगरपालिकाले जनाएको छ । आव २०८१/८२ मा पर्यटक शुल्कबाट नपाले २९ करोड ११ लाख रुपैयाँभन्दा बढी सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले बताए । त्यसमा गैरसार्क पर्यटकबाट २३ करोड ३३ लाख ७८ हजार ७६० रुपैयाँ र चीनसहितका सार्क राष्ट्रका पर्यटकबाट रु पाँच करोड ७७ लाख ४३ हजार पर्यटन शुल्क उठेको छ । आव २०८०/८१ मा पर्यटक शुल्कबाट नगरपालिकाले रु २७ करोड ४५ लाख सङ्कलन गरेको थियो । त्यसमा गैरसार्क पर्यटकबाट रु २० करोड ९९ लाख ७५ हजार ९५० र सार्क तथा चीनसहितका राष्ट्रका पर्यटकबाट रु छ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको थियो । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक करोड ८३ लाख १२ हजार ४६० बढी पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय वृद्धि भएको हो । नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतीय पर्यटकले नगरको अवलोकन गरेका छन । गत वर्ष भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटक भक्तपुर आएको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भक्तपुर घुम्नेमा दोस्रोमा चिनियाँ पर्यटक परेका छन् । गत वर्ष ३६ हजार १३५ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १६ हजार ५५८, जर्मनीका ११ हजार ७८८, फ्रान्सका ११ हजार ७५४, इटालीका आठ हजार २२८, स्पेनका सात हजार ९८, जापानका छ हजार ७३३, इङ्गल्याण्डका छ हजार ५०२, अस्ट्रेलियाका चार हजार ९६८, ताइवानका चार हजार ६६०, हल्यान्डका चार हजार १६५ नागरिकले भक्तपुर अवलोकन गरेको थियो । यस्तै पोल्यान्डका तीन हजार ९३, रसियाका दुई हजार ८८२, थाइल्यान्डका दुई हजार ५९५, दक्षिण कोरियाका दुई हजार ५४३, इजरायलका दुई हजार ५१९, क्यानडाका दुई हजार ३६०, मलेसियाका दुई हजार ९९ र अन्य मुलुकका २९ हजार ५६ जनाले भक्तपुर नगरको अवलोकन गरेका छन् । नगरपालिकाले डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न चालु आर्थिक वर्ष २०८२/८३ देखि गैरसार्क पर्यटकसँग प्रति पर्यटक रु दुई हजार र सार्क तथा चिनियाँ पर्यटकसँग ५०० रुपैयाँ शुल्क निर्धारण गरेको छ । नगरपालिकाले हाल खौमा, सानो व्यासी, ठुलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटक शुल्क उठाउँदै आइरहेको सुवालले जानकारी दिए । नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत छ भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ । भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाइ स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिमका साथै आवश्यक व्यवस्थापन पनि गर्दै आइरहेको छ । नगरपालिकाले पर्यटकको आकर्षण वृद्धि गर्न नगरभित्रका सम्पदाको पुनःनिर्माणमा जोड दिँदैं आइरहेको छ । त्यसअनुसार २०७२ सालपछि हालसम्म ६९ पाटी, ४७ मन्दिर, १५ द्योछेँ, २२ पोखरी, नौ सत्तल, नौ इनार, पाँच मठ, ढुङ्गेधारा नौ र अन्य विविध १५ समेत गरी २०४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको तथा हाल १४ वटा सम्पदा निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी सुवालले जानकारी दिए । भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीलाई इँटा, काठ, झिङ्गटीका लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको छ । कला संस्कृतिको महत्त्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयमा सांस्कृतिक गुरुको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति नगरपालिकाले लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहजरूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारी साधनको व्यवस्था गर्ने योजना नगरपालिकाको रहेको सुवालले बताए।