२ करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणी पोखरीमा अवस्थित पर्यटकीय स्थल ‘इन्द्रेणी पोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गरिएको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणी पोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले २ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका हुन् । परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीय स्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीय वासी हर्षित भएका थिए । त्यस विपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन । यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन वृहत् मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेरबार निर्माण गरिएको छ । इन्द्रेणी पोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ । राज्य कोषको २० लाख रुपैयाँ रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावा हुरीले ढाल्यो र पुनः राखियो । फरक–फरक समयमा फरक-फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणी पोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो । पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख रुपैयाँ, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख रुपैयाँ गाउँपालिकाको १ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणी पोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिए सँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीय वासी निराश बनेका छन् । प्राकृतिक संरचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गरे ।  ‘राज्य कोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ  । इन्द्रेणी पोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन,’ उनले भने, ‘बिना अध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।’ इन्द्रेणी पोखरीबाट धार्मिक तथा पर्यटकीय स्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोल ढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीय स्थलहरू जोड्न सडक मार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणी पोखरीमा बाह्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् । पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोग विहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए ।  ‘इन्द्रेणी पोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा-चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन,’ उनले भने ।  १० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरूले पनि आ-आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नति गरिरहेका छन् । हलेसी, बराहापोखरी, टेम्के, जन्ते ढुङ्गा, तावा भञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ । 

१ लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

काठमाडौं । बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।   पछिल्लो समय तीव्र रुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् । गत वर्ष १ लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा १ लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नाचार्य बताउँछन् । शालिग्राम सङ्ग्रहालय ४ वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उनको भनाइ छ । ऋषि प्रपन्नाचार्यले भने, ‘सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरूले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।’ त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणी धामदेखि दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ । गैँडाकोटबाट घुम्न आएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताए। पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाए ।  नवलपरासीबाट घुम्न आएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा जनआकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाइन् । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उनको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाइन् । 

नेपाल एयरलाइन्सले वाइडबडी उडाउने ४ जना पाइलट माग्यो

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एयरबस ए३३० वाइडबडी विमान उडाउनका लागि ४ जना पाइलट माग गरेको छ । माग गरिएको पाइलटमध्ये ३ जना प्रशिक्षक पाइलट र १ जना लाइन पाइलट छन् । निगमले एक वर्षे करार अवधिका लागि पाइलट नियुक्त गर्न लागेको हो । इच्छुक उम्मेदवारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी, फेडेरेसन एभिएसन एडमिनिस्ट्रेसन वा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट मान्यता प्राप्त प्रमाणपत्र पाएको हुनुपर्नेछ । विदेशी पाइलटका लागि कम्तीमा एक वर्षको वैध राहदानी भएको प्रमाण हुनु जरुरी छ । प्रशिक्षक पाइलटका लागि कम्तीमा १ हजार घण्टा वाइडबडी एयरबस विमान उडाएको अनुभव आवश्यक छ भने पछिल्लो एक वर्षभित्र वाइडबडी जहाज उडाइरहेको पनि हुनुपर्छ । लाइन पाइलटका लागि भने कम्तीमा ५०० घण्टा ए३३० वाइडबडी विमान उडाएको अनुभव अनिवार्य गरिएको छ ।