कुटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न परराष्ट्रमन्त्री राणाको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धिको आधार पर्यटन भएको बताएकी छिन् । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उनले सो धारणा राखिन् । ‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन्,’ उनले भनिन् । मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गरिन् । मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङखलाको पनि प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ । इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडा र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् । साथै मन्त्री राणाले सहभागी कुटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गरिन् । ‘मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस्,’ उनले भनिन् । कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरिन् । परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन् गर्न आग्रह गरिन् । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुन् ।
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्। जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवद्र्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ। मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । ‘मुलुकभरका होटलहरुमा न्युनतम ३५ देखि झण्डै कुनै स्थानमा शत प्रतिशतसम्म अकुपेन्सी पुगेको छ। केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ।’ देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् । त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटौंडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटना लागि हिमाली क्षेत्रमा पुगिरहेका छन् । सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन् । संघीय राजधानी काठमाडौँ उपत्यका मात्रै नभइ देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरुको भिडभाड छ । उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ । दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबारक्षेत्रमा पर्यटकले भरिभराउ छन्। नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताए। व्यवसायी उत्साहित नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ । तपापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ् रद्ध गरेका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीन/चार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष तारा पहरीले बताए । ‘नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ । विशेषगरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्’, उनले भने । उनका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन् । पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहोल बढेको छ । पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ । भैरहवास्थित सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अकुपेन्सी ३५ प्रतिशतभन्दा बढी पुगेको छ । नयाँ वर्षको आगमनले पर्यटनलाई चलायमान बनाएको उहाँको भनाइ छ । ‘भैरहवाका होटलमा विशेषगरी भारतीय पर्यटकले भरिभराउ छन् । आन्तरिक पर्यटक पनि बढेका छन् । होटलहरुले विभिन्न छुट र अफर दिएका छन् । सङ्घका अनुसार भैरहवामा पाँचतारेदेखि पर्यटकस्तरका डेढसय भन्दा बढी होटल सञ्चालनमा छन् । पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन् । नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उनले बताए । क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमानअध्यक्ष गङ्गा गिरीका अनुसार चितवनका होटलमा रुम पाउने अवस्था छैन । ‘नयाँ वर्षमा होटलहरुको अकुपेन्सी शतप्रतिशत छ, तीन दिसम्मका लागि कुनै होटलमा रुम उपलब्ध छैनन्’, उनले भने । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताए । उनले भने, ‘आन्तरिक मात्र होइन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ।’ बोर्डको सक्रियता पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डले आक्रामक रुपमा अन्तरराष्ट्रिय प्रवद्र्धनको कार्य गरिरहएको जानकारी दिए । उनका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बिटुबी कार्यक्रम गरिएको छ । आन्तरिकतर्फ नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको छ भने ‘इस्ट टुरिजम मार्ट’ सकिएको छ । सुदूपश्चिम मार्टको तयारी भइरहेको छ । अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट घोषणा गरिएको छ । नेपालका गन्तव्यमा विदेशी इन्फ्लुएन्सर, मिडियालाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । हवाई पूर्वाधार र सडक सञ्जाल चुस्तदुरुस्त भएमा मात्रै यो लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेका छैनन् । भलै ती दुई विमानस्थलमा अन्तरराष्ट्रिय उडान भने सञ्चालन भइरहेको छ । सडक सञ्जाल र हवाई सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउन सकेको खण्डमा मुलुकको पर्यटनले फड्को मार्ने अध्यक्ष शाहको विश्वास छ । नेपाल एशोसिएशन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नयाँ वर्षले पर्यटनमा सकारात्मक ऊर्जा थपिएको बताए । वर्ष २०८१ मा पर्यटन क्षेत्रमा अपेक्षा र निरासा दुबै मिश्रित रहेपनि आगामी वर्षमा पर्यटन क्षेत्रमा उत्साह थपिने उनको विश्वास छ । उनले भने, ‘भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो,तर वर्षको उत्तरार्धमा उडान स्थगित भएको छ । महँगो हवाई सेवा भएको वर्षको रुपमा पनि लिन सकिन्छ, समग्रमा आशा मरेको छैन, नीतिगत फड्को मारेर परिणाम ल्याउनुपर्ने अपरिहार्यता छ।’ नयाँ वर्षको सन्दर्मा प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमणवर्ष जस्ता कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने योजना छ । यसैसन्दर्भमा सन् २०२५ लाई पोखराले भ्रमणवर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पोखरामा फेवा महोत्सव सुरु भएको छ । नयाँ वर्षको अवसरमा नगरकोटमा वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमणवर्ष-२०८२ आयोजना हुदैछ । भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तालिका छ । नगरकोट क्षेत्रको प्राकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमणवर्ष हुन लागेको हो । समितिका अध्यक्ष नवीन गुरुङ्ले नयाँ वर्षको अवसरमा नगरकोटमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको तथा महोत्सवले पर्यटनमा थप रौनक ल्याउने विश्वास व्यक्त गरे । सिबी अधिकारी/रासस
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो, आज साँझसम्म सबै होटल भरिने
चितवन । नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । आइतबार साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यद्यपि वीरगन्जको कर्फ्युलगायत आन्दोलनका कारण केही प्रभाव पर्यटन क्षेत्रमा देखिएको छ । यसका साथै सडकका कारण पनि प्रभाव देखिने उनले बताए । उनले भने, ’विभिन्न कारणले प्रभाव पारे पनि नयाँ वर्षको साँझमा सौराहाका होटल भरिन्छन् ।’ विगतका वर्षहरूमा नयाँ वर्षको अघिल्लो साँझ पर्यटकले कोठा नपाएर फर्किनुपर्ने अवस्था हुन्थ्यो । त्यस्तो अवस्था भने यस वर्ष नआउने उनको भनाइ छ । माघयता सौराहामा पर्यटकको आगमन कम हुँदै आएको थियो । सङ्घका उपाध्यक्ष गुणराज थपलियाले केही होटल शुक्रबारदेखि नै भरिएको जनाउँदै अहिलेको बुकिङ राम्रो रहेको बताए । उनले भने, ’मेरो होटल केही दिनयता भरिएको छ, साथीहरूले पनि बुकिङ राम्रो हुँदै गएको बताएका छन् ।’ यद्यपि विगतको तुलनामा पर्यटकको आगमन कम रहेको उनको भनाइ छ । शुक्रबार र शनिबार परेकाले पनि पर्यटकको आगमन क्रमशः बढ्दै गएको उनी बताउँछन् । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे विद्यालयमा बिदा र शुक्रबार–शनिबार परेकाले पर्यटकको आगमन बढ्दो रहेको बताउँछन् । उनले भने, ’साँझसम्म सौराहाका सबै होटल भरिन्छन् ।’ सौराहामा रेष्टुरेन्ट एन्ड बार एसोसिएसनले आज साँझ सांकृतिक कार्यक्रम आयोजना गरेको जनाउँदै उहाँले नयाँ वर्षमा रमाउन आउने धेरै नेपाली रहेको बताए । होटल सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपानेले शुक्रबारदेखि मङ्गलबारसम्म होटलका ३४ कोठा पूरै भरिएको बताए । आएका पर्यटकमध्ये आधाभन्दा बढी विदेशी रहेको उनको भनाइ छ । पोल्याण्ड, चीन, भारतलगायत देशबाट पर्यटक धेरै आएका छन् । उनले भने, ’नयाँ वर्षमा होटलमा कोठा छैन भन्दैमा फुर्सद छैन ।’ अरू बेलामा पर्यटकको आगमन कम भए पनि यो बेला भरिभराउ हुने गरेको उनको भनाइ छ । जङ्गल क्राउन होटल पनि केही दिनयता भरिएको छ । होटलका महाप्रबन्धक सन्तोष गिरीका अनुसार दुई महिनायता होटलमा पर्यटकको सङ्ख्या राम्रो छ । शनिबारबाट सबै कोठा भरिएका छन् । अब ‘सिजन’ भएकाले पर्यटकको सङ्ख्या बढ्दै जाने उनले बताए । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नवीन नेपालले आज साँझ नयाँ वर्ष विशेष कार्यक्रम राखिएको बताए । उनका अनुसार ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने भएकाले पर्यटकको सङ्ख्या उल्लेख हुने अपेक्षा गरिएको छ नयाँ वर्ष प्रारम्भसँगै सौराहा आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल, डुङ्गा सयर गर्ने गर्दछन् । जङ्गल सफारीका लागि सौराहा विश्वप्रसिद्ध पर्यटकीयस्थल हो ।