चार दिनदेखि तारा एयरको विमान लुक्ला मै, प्राविधिकले निरीक्षण गरेपछि मात्र उड्ने

सोलुखुम्बु । यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौँ जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिएका छन् । शुक्रबार मौसम प्रतिकूल हुँदा पनि यहाँ अवतरण गरिएका दुई वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्कन सफल भए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयर लुक्लाले जनाएको छ । विमान कम्पनीको नियमअनुसार ४८ घण्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ । नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ । अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुनसकेको छैन । यहाँ हेलिकप्टरले समेत उडान भर्न सक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ । हेलिकप्टरले समेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडौं लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा राजेन्द्र बस्नेतले बताए । “सघन उपचार कक्ष ‘आइसियु’मा राखेर उपचार गर्नुपर्ने बिरामी छन् तर लैजान सकिएको छैन, मान्छेको ज्यान बचाउन मुस्किल प¥यो ।” उनले भने, “अक्सिजन छुटायो भने एक घण्टाभन्दा बढी बचाउन सक्ने अवस्था छैन, गाडीबाट लानसक्ने स्थिति हुने कुरै भएन, मौसम प्रतिकूलताका कारण हेलिकप्टरसमेत आउन सकेन ।” गत असार १५ गते जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा जीप दुर्घटनामा ज्यान गुमाएका दुईजना कर्मचारीको शव हेलिकप्टरबाट गृहजिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन । दुई दिनसम्म हेलिकप्टरको पर्खाइमा बसे पनि सफल नभएपछि जीपमार्फत नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताए । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटक अलपत्र परेको तारा एयर लुक्लाका स्टेशन इन्चार्ज फुनुरु शेर्पाले बताएका छन् । उनले भने, “यति नै यात्रु छन् भन्ने यकिन तथ्याङ्क छैन, केही यात्रु पैदल यात्रापछि सदरमुकाम सल्लेरीबाट जीपमार्फत गएको बुझिएको छ भने केही यात्रु एक घण्टाको पैदल यात्रापछि तल सुर्के पुगेर हेलिकप्टरमार्फत गइरहेका छन् ।” देशभर भएको अविरल वर्षाको प्रभाव सोलुखुम्बुमा पनि परेपनि कुनै पनि अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

अब पर्यटन विश्वविद्यालय पनि

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उनले भने, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।” मन्त्री अधिकारीले उक्त विश्वविद्यालय स्थापनाका लागि सरकारले आगामी एक महिनाभित्र संसदमा कानून पेश गर्ने गरी तयारी गरिरहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मा २० हजार पर्यटक भित्र्याउने सरकारले लिएको लक्ष्य सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहको बताए । नेपालमा आउने पर्यटकमध्ये लगभग ७० प्रतिशत पदयात्राका लागि आउने गरेको बताउँदै उनले पर्यटकसँग प्रत्यक्ष सम्पर्कमा रहने ट्रेकिङ गाइड नेपालका लागि पर्यटनदूत भएको धारणा व्यक्त गरे । थ्रीसिस्टर पर्यटन तालीम केन्द्रका सञ्चालक लक्की कार्कीले संस्थाले हालसम्म मुलुकका ५५ जिल्लाका एक हजारभन्दा बढीलाई ट्रेकिङ गाइडसम्बन्धी तालीम प्रदान गरेको जानकारी दिए । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले तालीममा ३४ जनाको सहभागिता रहेको जानकारी दिए ।

नेपाल वायुसेवा निगमः डाकोटाबाट वाइडबडीसम्म

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी विमान भित्र्याएर व्यावसायिक योजनाका साथ विभिन्न गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६० वर्षे दौरानमा हालै वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएको हो । ‘अन्नपूर्ण’ नामको वाइडबडी यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमले अमेरिकी कम्पनी एएआरसँग खरीद गरेका दुईवटा वाइडबडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार पहिलो चरणमा दुबई÷दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान भर्ने योजना छ । निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । हाल एक बोइङ नाइन एसिबी–७५७ र ए–३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीनवटा ट्विनअटर विमान छन् । निगमले बोइङ ७५७ एयरबस ए–३२०, टवीनअट्टर वाई १२ ई, र एमए ६० गरी कूल पाँच प्रकारका विमानबाट आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ । सन् १९६० मा जहाजको संख्या दोब्बर भयो । १९७२ मा निगमले दुईवटा बोइङ र १९८७ मा थप दुई वटा बोइङ जहाज खरीद गरी आफ्नो शाखलाई थप मजबुत गराउँदै गयो । विसं २०४९÷५० सम्म आइपुग्दा निगमले निकै फड्को मारेको थियो । त्यतिबेला निगमसँग दुईवटा बोइङ, तीनवटा पिलाटस पोर्टर, तीनवटा एभ्रो, र १० वटा ट्विनअटर गरी २० वटा जहाज थिए । तर चुस्त व्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेपलगायतका कारण निगम धराशायी अवस्थामा पुग्यो । निगमको इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम सयम मानिने गरिन्छ । त्यतिखेर गन्तव्य विस्तारको हिसाबले निगमको फैलावट जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपली मुख्य शहरहरु लण्डन, पेरिस, फ्र्याङफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमान चालकहरु प्रशस्त थिए । त्यतिखेर निगम दक्षिण एशियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रुपमा स्थापित थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवतजावतको तथ्यांकलाई हेर्दा सन् २०१५ मा ३२ लाख ९७ हजार ९६२ रहेकामा सो बढेर सन् २०१६ मा ३५ लाख १० हजार ७४२ पुगेको छ । निगमको बजार हिस्सा पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०१५ बजार हिस्सा करीब ९५ प्रतिशत रहेकामा सन् २०१६ मा ११५ पुगेको छ । सन् २०१५ मा सबैभन्दा बढी पर्यटक ओसार्ने वायु सेवाको सूचीमा निगम पाँचौँ स्थानमा रहेकोमा सन् २०१६ मा निगम सो सूचीको पहिलो स्थानमा आइपुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ आव २०७२÷७३ मा तीन लाख ४४ हजार यात्रुलाई सेवा प्रदान गरेका थियो भने आव २०७३÷७४ मा चार लाख २१ हजार यात्रु बोकेको छ । स्थापनाको ६० वर्षे इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धा आदि कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धन आदिले निकै उकासिएको अधिकारीहरु बताउँछन् । महाप्रबन्धक कंसाकारले विभिन्न आरोह अवरोहलाई चिर्दै निगम अहिलेको अवस्थामा नाफा कमाइरहेको बताउछन् । यद्यपि, निगमले कति नाफा कमायो भनेर उनले खुलाएनन् । डेढ वर्षअघि निगमले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । महाप्रबन्धक कंसाकारले निगममा नयाँ वाइडबडी विमान भित्र्याएसँगै संस्थालाई पूर्ण व्यावसायिक बनाई विश्वका एयरलाइन्ससँग प्रतिस्पर्धी बनाउने योजनाका साथ काम अघि बढाइएको जानकारी दिए। निगमका अनुसार ग्राउण्ड ह्याण्डलिङमार्फत निगमले दैनिक ९ हजार याुत्र र १ हजार ४ सय ब्यागेजको व्यवस्थापन गर्दै आएको छ । यो सेवाबाटै निगमले एक वर्षअघि आइसागो सर्टिफिकेटसमेत प्राप्त गरेको थियो । निगमको हीरक महोत्सवलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले निगमको ६० वर्षे आरोह–अवरोहमा आशालाग्दा र दुःखद दुवै क्षण रहेको र विगतको कमीकमजोरीबाट सच्चिएर निगमलाई प्रतिस्पर्धी संस्थाका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । “इतिहासमा गर्भ गर्ने हैन, प्रगति कति भयो त्यो मुख्य कुरा हो । अब, विगतका कमजोरीबाट शिक्षा लिएर भविष्यको सहज बाटो लिनु आजको आवश्यकता र चुनौती हो । आगामी दिनमा विश्वका प्रतिस्पर्धी एयरलाइन्ससँग प्रतिस्पर्धी बन्नैपर्छ,” उनले भने। सँगै खुलेका एयरलाइन्सले फड्को मार्दा निगमको अवस्थामा सुधार नआउनु दुःखद पक्ष हो भन्दै मन्त्री अधिकारीले निगमको व्यवस्थापनलाई प्रभावकारी रुपमा सुधार्न जरुरी भएको उल्लेख गरे । मन्त्री अधिकारीले भने, “अब, तपाईंहरु (निगम) लाई विमानको कमी हुने छैन, भविष्यमा धेरै नेपाली विमान आकासमा उड्नेछन् यसका लागि सरकारको पूर्ण सहयोग र जनताको साथ रहनेछ, त्यसैले निगमले व्यावसायिक योजनालाई प्रभावकारी कार्यान्वयन गरी गन्तव्य विस्तार र व्यापार प्रवद्र्धनमा ध्यान दिनैपर्छ, प्रभावकारी रणनीतिक साझेदार भित्र्याएर भए पनि निगमको क्षमतालाई सुधार्नै पर्छ ।” सन् २०२० मा २० लाख र सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी योजनालाई साकार तुल्याउन राष्ट्रिय ध्वजावाहक बलियो र सफल हुनैपर्ने खाँचौ औँल्याउँदै मन्त्री अधिकारीले निगमको साख नउक्सिएसम्म देशले पर्यटन विकासमा सफलता हासिल गर्न सक्दैन भने। सो अवसरमा मन्त्री अधिकारीले निगमको पूँजी वृद्धि गरी दुर्गम क्षेत्रमा हवाई सेवा विस्तारका लागि आगामी आवका लागि ५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिने जानकारी दिए । निगमले पूँजी वृद्धिका लागि २० अर्ब रुपैयाँ माग गरेको थियो । रासस