विश्वभरिका होटल स्कुलहरूको सम्मेलन नेपालमा हुँदै, दुई सय पर्यटन प्रतिष्ठान सहभागी हुने

काठमाडौं । विश्वभरिका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल्स्को ५९ औ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एसियामा हुन लागेको हो भने यसको आतिथ्यको अवसर नेपालले पाएको छ । सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९ औं कंग्रेस नेपालका आयोजना हुने लागेको हो । सन् २०१८ को ५८ औं कंग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्यान्डको लुजानस्थित इएचएल स्थापनाको १२५ औं वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने र सन् २०१९को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णय अनुसार यहाँ आयोजना हुन लागेको हो । यो सम्मेलनमा विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटन सम्बन्धी शैक्षिक प्रतिष्ठानका २०० भन्दा बढी डिन तथा उच्च तहका सञ्चालक/व्यवस्थापकहरू सहभागी हुने इयूहोफाका बोर्ड सदस्य खेम लकाईंले जानकारी दिए । नेपाल भ्रमणमा रहनु भएकी इयूहोफाका अध्यक्ष डा. मारिया विसिङ्गरले  सम्मेलनको पूर्व तयारीबारे नेपालका सदस्य होटल स्कुलहरू ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज), इन्टरनेशनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आईएसटी), एकेडेमी अफ कल्नरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी एन्ड होटल म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट, गोल्डेन गेटका प्रमुखहरूसँग छलफल गरेका छन् । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालमा विश्वभरिकै अग्रणी होटल व्यवस्थापन शिक्षा प्रदायकहरू जम्मा हुनु अभूतपूर्व अवसर भएको बैठकका सहभागीहरूको भनाइ थियो । हाल नेपालमा ४० भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूले होटल व्यवस्थापन एवं पर्यटन शिक्षा सम्बन्धी उच्चस्तरको शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । सम्मेलनका समयसम्म अन्य होटल व्यवस्थापन एवं पर्यटन शैक्षिक प्रतिष्ठानहरू इयूहोफाको सदस्य बन्ने अपेक्षा गरिएको छ । “विश्वका दुई सय होटल व्यवस्थापन स्कुलका सञ्चालकहरूको सहभागितामा नेपालमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो । यो नेपालको पर्यटन उद्योगकै ठूलो उपलब्धी हुनेछ, किनकी सम्मेलनमा एक साथ आउने दुई सय होटल व्यवस्थापन शिक्षा प्रदायकहरूले प्रवाह गर्ने सन्देशले विश्वभरि नै नेपालको पर्यटन उद्योगको प्रचारप्रसारमा निकै ठूलो योगदान पुग्नेछ,” इयूहोफाका बोर्ड सदस्य एवं  गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले भने । सम्मेलनमा नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल (हान), पाटासहित नेपालका पर्यटनसँग सम्बन्धित संस्थाहरूको समेत सहभागिताका लागि पहल भइरहेको उनले बताए । इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २ सय होटल व्यवस्थापन शिक्षा प्रदायकहरू सदस्य रहेका छन् । उक्त संस्था होटल व्यवस्थापन शिक्षालाई प्रभावकारी तुल्याउने, होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरिका नवसिर्जना र उत्तम अभ्यासहरूको अनुशरण गर्ने, विद्यार्थी तथा शिक्षकहरूको आदानप्रदान गर्ने उद्देश्यसहित ५६ वर्षअघि युरोपमा स्थापना भएको हो ।

पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने

काठमाडौं। पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्य सहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । उद्यानमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिनेछ। उद्यानभित्र आकर्षक बोट विरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले उद्यान निर्माणको योजना बनाइएको उनले बताए। गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए। उद्यान निर्माणका लागि पहिलो वर्ष डिपीआर तयार गरी काम शुरु गरिने प्रवक्ता नेपालीको भनाइ थियो । गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भएपनि यस्तो प्रकृतिको ऐतिहासिक उद्यान कतै पनि निर्माण नभएकाले उद्यान निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए। गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा उक्त उद्यानका लागि रु ९० लाख विनियोजन गरेको छ । पुँजीगततर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । गत वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा रु ४० लाख मात्रै खर्च गरेको थियो। गाउँपालिकाले भ्यू–टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्डे«न पार्क, सहिद पार्क र भ्यू–पार्क निर्माणलगायत योजनाका लागि रु ९० लाख विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता नेपालीले जानकारी दिए।रासस

अब घरबाटै वायुसेवा निगमको टिकट किन्न सकिने

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’ र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट सिइअाे रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ । यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इसेवामा वायु सेवा निगमको अनलाइन टिकटिङको सेवा थपिएपछि इसेवाका सिओओ लामिछानेले भने ‘अनलाइन टिकटिङको लागि नेपाल एयरलाइन्ससँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्नुहुनेछ ।’ इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्सको टिकट खरिद गर्न सकिन्छ ।