५ करोडमा सञ्चालनमा आयो इन्स्टा होटल, ३६ जनालाई रोजगारी
काठमाडौं । काठमाडौंको नक्सालमा इन्स्टा होटल सञ्चालनमा आएको छ । सन् २०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय ईश्वर प्रसाद पन्तले होटल सञ्चालनमा ल्याएका हुन् । अर्धबुटिक र पूर्ण आधुनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न होटलमा २१ वटा आकर्षक र वातावरणमैत्री कोठा, १ सय जना क्षमताको कन्फ्रेन्स हल, विभिन्न परिकार उपलब्ध हुने रेस्टुरेन्ट रहेको छ । व्यावसायिक बैठक, सेमिनार, विवाह तथा अन्य कार्यक्रम आयोजना गर्न कन्फ्रेन्स हल उपयुक्त हुने पन्तले बताए । ५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको होटलले ३६ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । ईन्स्टा होटलमा आकर्षक तथा आरामदायी लक्जरी र स्ट्यान्डर्ड कोठा रहेका छन् । होटलको रेस्टुरेन्टमा नेपाली, अन्तर्राष्ट्रिय तथा फ्यूजन खानाहरू विशेष रूपमा उपलव्ध रहेका छन् । होटलले उद्घाटन अवधिमा ‘ओपनिङ डिस्काउन्ट अफर’ पनि ल्याएको जनाएको छ ।
आजदेखि पोखराको बगैंचा रिसोर्ट तथा स्पा सञ्चालनमा, लागत ७० करोड
काठमाडौं । पोखराको बगैंचा रिसोर्ट तथा स्पा आजदेखि सञ्चालनमा आएको छ । लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएको हो । बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले रिसोर्टको उद्घाटन गरिन् । । नेपाली माटो सुहाउँदो नाम हुँदा बगैंचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैंचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए । मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले जानकारी दिए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । थापाले रिसोर्टकै नामअनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । बगैंचामा दुई रेष्टुरेण्ट रहेका छन् । बगैंचामा “टारो” पूलसाइड बार रहेकाले थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरी अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ ।’ यसैगरी, रिसोर्टमा ३२ वटा कोठा रहेका छन् । रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ।
आरोग्य पर्यटनलाई नीतिगत संरचनामा ल्याउने तयारी, १३ सदस्यीय उपसमिति गठन
काठमाडौं । राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत संरचना विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो । स्वास्थ्य, वातावरण, पर्यटन, शिक्षा तथा स्थानीय तहका प्रतिनिधिहरू रहने गरी उपसमिति गठन गर्दै उक्त अवधारणा निर्माणको प्रक्रियालाई औपचारिकता दिने निर्णय भएको सहसचिव इन्दु घिमिरेले जानकारी दिए । आरोग्य पर्यटन सम्बन्धी रणनीतिक अवधारणापत्र तयार गर्नका लागि पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल पर्यटन बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, होटल एसोसिएसन नेपाल र नेपाल स्पा एण्ड वेलनेस एसोसिएसनका प्रतिनिधिहरू सदस्यका रूपमा रहनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव उपसमितिका सदस्य सचिव तोकिएका छन् । परिषद्को यो निर्णयले नेपालमा नयाँ सम्भावनाको रुपमा देखा परिरहेको आरोग्य पर्यटनको समृद्धि र नीति निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ । बैठकमा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका पर्यटनमन्त्री, अन्य प्रदेशका मन्त्रालयका प्रतिनिधिलगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । हालै जारी भएको पर्यटन नीतिमा पर्यटनमन्त्रीको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय पर्यटन परिषद् रहने व्यवस्था गरिएको छ । पर्यटन नीतिको रणनीति अन्तर्गत पर्यटकीय गन्तव्य र वस्तुको विविधिकरण र विस्तार गर्ने सन्दर्मामा परम्परागत तथा प्राकृतिक चिकित्सा, ध्यान, योग र आरोग्य (वेलनेस) पर्यटनको प्रवर्द्धन गर्न सम्बन्धित संघसंस्थासँग सहकार्य गरिने उल्लेख छ । परिषद् बैठकले पर्यटन नीति, २०८२ को कार्यान्वयनका लागि कार्ययोजनामा उल्लेख भएका आआफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयहरु कार्यान्वयनलाई प्राथमिकता दिने निर्णय गरेको छ ।