होटल भादगाउँले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । होटल भादगाउँ एण्ड रिर्सोटले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।  होटलले व्यवसाय विस्तार तथा स्तरोन्नतिको लक्ष्यसहित सर्वसाधारणलाई लक्षित गरी १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । यसबाट १५ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ । यस सन्दर्भमा आयोजित एक औपचारिक कार्यक्रममा होटलका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सन् २०२१ मा स्थापना भएको होटल भादगाउँ भक्तपुरको युनेस्को सूचीमा सूचीकृत पुरातात्विक क्षेत्रको मुटुमा अवस्थित छ । नेवारी वास्तुकला र सांस्कृतिक धरोहरलाई झल्काउने शैलीमा निर्माण भएको यो होटलले हाल ४० वटा सुविधा सम्पन्न कोठाबाट आतिथ्य सेवा दिँदै आएको छ। आईपीओमार्फत संकलित पूँजीबाट होटलले १०० वटा नयाँ कोठा, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङ्ग, बाह्य बगैँचा, सेमिनार हल, कन्फरेन्स सुविधा र डेस्टिनेशन वेडिङ्ग स्थल निर्माण गर्ने योजना अघि सारेको छ । होटलका प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार प्रस्तावित विस्तारले स्थानीय रोजगारी सिर्जनासँगै भक्तपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

चरासँग ठोक्किएर क्षति पुगेपछि आइबेरियाको उडान म्याड्रिड फर्कियो

काठमाडौं । चरासँग ठोक्किएर क्षति पुगेपछि आइबेरियाको उडान म्याड्रिड फर्किएको छ ।  म्याड्रिडको एडोल्फो–सुआरेज–बाराजास विमानस्थलबाट पेरिस ओर्ली विमानस्थलका लागि उडेको आइबेरियाको उडान उडेको केही समयपछि नै चराले ठक्कर दिएको थियो । त्यसपछि विमानस्थल फर्किएको हो ।  ठोक्किएपछि विमान सुरक्षित अवतरण गर्न सफल भयो । विमानको अगाडिको भागमा क्षति पुगेको छ भने विमानको एउटा इन्जिनमा पनि क्षति पुगेको छ ।   

स्थानीय बासिन्दाले बन्दीपुर केवलकारको सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।  कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् ।