तारे होटलमा तात्तातो कोदोको सेल
काठमाडौं । नेपाली तारे होटलमा नास्तासँगै बारा, अम्लेट, जेरीजस्ता परिकार लाइभ-किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानिलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ-किचनमार्फत प्रस्तुत गरेको छ । पाँच तारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौं परिकारमध्ये कोदोको सेल रोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासना दार सेल रोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो । रिसोर्टको डाइनिङ हल नै सेल रोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेल रोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी-थपी खाए । रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेल रोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । नेपाली परिकारको छुट्टै लाइभ-किचन रहेको स्टलमा कोदोको सेल रोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यान केक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो । नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो । नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मूर्तरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मान बहादुर तामाङ र सङ्गम मोक्तानले सघाएका थिए । विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँछन् । ‘नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यावसायिकतालाई पनि जोड्नुपर्छ,.’ अध्यक्ष शाहले भने, ‘नेपाली खानाको धेरै माग छ । ठूला तारे होटलमा नेपाली मेन्युमा आवश्यक छ ।’ अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली पर्यटकको चहलपहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । ‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो,’ संयोजक सापकोटाले भने । सेफ कँडेलले नेपाली खानालाई प्रवर्द्धन गर्न पाँच तारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए । विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए । ‘यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर विस्तारै कोदो फापर सिस्नो जस्ता परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नसके सबै होटल रेष्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ,’ उनले भने । अभियानले यसअघि विभिन्न रेस्टुराँ मार्फत नेपाली खानाको प्रवर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच सँस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए ।
जी रामायना होटलमा हनुमानको मूर्ति स्थापना, कालीदास बाबाले गरे उद्घाटन
काठमाडौं । काठमाडौंको सोर्हखुट्टेमा सञ्चालित जी रामायना होटलमा हनुमानको मूर्ति स्थापना भएको छ । हनुमानको मूर्तिको उद्घाटन भारतका प्रसिद्ध धर्मगुरु कालिदास बाबाले गरेको होटलका अध्यक्ष उमेश गुप्ताले जानकारी दिए । उनका अनुसार मूर्ति उद्घाटनको लागि कालिदास बाबा आइतबार बिहानै होटल आइपुगेका थिए । उनलाई अध्यक्ष गुप्ता र होटलकै सञ्चालक साजन शाक्यले स्वागत गरेको थिए । नेपालमा कालिदास बाबाको आगमनले भारतमा पर्यटनको राम्रो प्रचारप्रसार हुने र नेपालको पर्यटनमा टेवा पुग्ने शाक्यले बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेको छ । शाक्यले भने, ‘उहाँले नेपालको हस्पिटालिटी, स्थानीय खानाको बारेमा राम्राे प्रतिक्रिया दिनु भएको छ । यसले भारतका अन्य पर्यटकहरू नेपाल आउन थप प्रोत्साहित हुने विश्वास लिएको छौं ।’
जोखिमपूर्ण यात्राले ज्यान जान सक्छ, एकै दिन तराइबाट हिमाल भ्रमण नगरौं
काठमाडौं । होटल सङ्घ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । सङ्घका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले विज्ञप्तिमा जारी गर्दै नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायत जोखिम बढेको उल्लेख गरेका छन् । पर्यटकलाई आराम गर्दै वातानुकूलित हुँदै यात्रा गर्ने वातावरणका लागि सम्बन्धित ट्राभल एजेन्सी, टूर अपरेटर र सरोकारवाला समक्ष सङ्घले अपिल गरेको छ । ‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा नगराउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनीकरण गर्न सरकारी स्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन पनि मद्दत पुग्ने छ,’ विज्ञप्तिमा भनिएको छ । पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आवतजावत गर्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्त्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ । पछिल्ला दिनमा नेपालको दक्षिण सीमावर्ती क्षेत्र र तराईबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरूको ठूलै सङ्ख्या भेटिन थालेको विषय उल्लेख गर्दै सङ्घले भनेको छ, ‘होटल सङ्घ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनुहुन्न भन्ने पक्षमा रहेको छ । समुद्र सतहबाट १ सय मिटर हारहारीको उचाइ रहेको तराई क्षेत्रबाट ८ सय मिटर उचाइको पोखरा उल्किएर उही दिन ३ हजार ७१० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यका लागि निकै नकारात्मक कुरा हो ।’ होचो उचाइबाट एकै दिन एकतर्फी साढे ३ सय किलोमिटरभन्दा लामो अनि उचाइ तिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडी पूर्ण मात्र नभई बर्खा यामको रात्रि कुँदाई अत्यन्त जोखिमयुक्त पनि हुनसक्ने विज्ञप्तिमा भनिएको छ । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जानसक्ने जोखिम बढाएको छभने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि सङ्घले सचेत गराएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीटजरल्याण्डका १/१ जना नागरिक रहेको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बाहिर ल्याएको छ । यस्तै मुस्ताङ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उक्त जिल्लामा मात्र २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेमा ८ जना भारतीय, २ नेपाली र एक जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउने पनि भारतीय पर्यटककै सङ्ख्या बढी रहन गएको छ । केही दिनअघि काठमाडौंबाट हेलिकप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका १ अष्ट्रेलियाली पर्यटकलाई लेक लागेपछि काठमाडौँ फर्काइएको पनि सङ्घले उल्लेख गरेको छ ।