पर्यटन बोर्डको सदस्यमा कुमारमणि थपलिया र नरेन्द्र देव भट्ट नियुक्त
काठमाडौं । नेपाल पर्यटन बोर्डको सदस्यमा नरेन्द्र भट्ट र कुमार थपलिया नियुक्त भएका छन् । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भट्ट र थपलियालाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रीस्तरीय निर्णयबाट आगामी तीन वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ । बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ । बोर्डका यसअघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि गत फागुन ६ गते सकिएको थियो । थपलिया नेपाल नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) अध्यक्ष हुन् भने भट्ट पर्यटन व्यवसायी हुन् ।
१३ जना अमेरिकनले आरोहण गरे सोक्ला रक क्लाइम्बिङ्ग
चरिकोट । अमेरिकन पर्यटकहरूले सोक्ला भ्यालीमा रक क्लाइम्बिङ्ग गरेका छन् । सगरमाथा यात्रामा रहेका अमेरिकन नागरिकहरूको १३ जनाले ४२० मिटरको उचाइमा रहेको सोक्ला रक क्लाइम्बिङ्ग आरोहण गरेका हुन् । सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा सञ्चालन भइरहेको रक क्लाइम्बिङ्गमा पहिलो पटक विदेशी पर्यटकले आरोहण गरेका हुन् । अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्रोफेसर सहितको टिमले रक क्लाइम्बिङ्ग गरिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए । युनिभर्सिटीका म्याथु वर्नेट, अलेक डन्डर जोसुवा, इजी विएल ,एन्ड्रयु, इएन, इजा बेला कोलेवान, डेबले लगायतको टिमले रक क्लाइम्बिङ्ग गरेका हुन् । दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विगत ५ वर्षदेखि रक क्लाइम्बिङ्गको प्रवर्द्धन गरिरहेको पर्यटन समाजका अध्यक्ष पाख्रिनको भनाई छ । इलाम माईपोखरीका गाइड अमरदीप वान्तवाले अमेरिकन नागरिकहरूलाई सोक्ला भ्यालीसम्म पुर्याएका हुन् । उनीहरुलाई सोक्ला भ्यालीको ताम्बा संस्कृतिद्वारा स्वागत गरिएको थियो । साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्राफेसर म्याथु वर्नेटले रक क्लाइम्बिङ्गपछि यो जीवनकै उत्कृष्ट साहसिक अनुभव भएको बताए । ‘नेपालमा मेरो तेस्रो पटकको यात्रा हो । दोलखा पहिलो पटक । यही क्रममा सोक्ला रक क्लाइम्बिङ्ग गर्ने अवसर मिल्यो,’उनले भने,‘सगरमाथा आरोहणमा सहज हुनेछ । म अर्को वर्ष आरोहणका लागि बेसक्याम्पसम्म जाँदैछु ।’ उनीसँगै अर्का आरोही इजी विएलले भनिन्,‘यो यात्रा रोमाञ्चक हुने भयो । सायदै, यो मेरो जीवनको पहिलो अनुभव हो । डर थियो । तर, साहस भएकै कारण यो चट्टान चढ्न सजिलो भयो ।’ सोक्लाको भीर देखेर एन्ड्र यु डराएका थिए । ‘हामीले यो खालको एडभेन्चर अनुभव गरेका थिएनौं । रक क्लाइम्बिङ्गको टपमा पुगेपछि सिंगो सोक्ला भ्याली, तामाकोशी र गौरीशंकर हिमालको श्रृंखला देख्दा अचम्म लाग्यो,’ एन्ड्रले भने,‘पाखो पहाड धेरै देखे तर एकै ठाउँबाट फाँट, बस्ती, खोला, जंगल र हिमाल देख्ने ठाउँ भने देखेको थिएन ।’ अमेरिकाको युनिभर्सिटीमा रक क्लाइम्बिङ्गको लोगो अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडामा सोक्ला रक क्लाइम्बिङ्गको लोगोसहितको मायाको चिनो राखिने प्रोफेसर म्याथु वर्नेट बताए । खुसी हुँदै उनले भने,‘सोक्ला भ्यालीको संस्कृति, मायाको चिनो युनिभर्सिटीमा राख्ने छु ।’ अमेरिकन नागरिकसहित हिमालयन क्राउन एकेडमीका ३९ जना विद्यार्थीहरूले रक क्लाइम्बिङ्ग गरेका छन् । उनीहरुको टिमबाट कविता तामाङ प्रथम, रीतिका माया मगर दोस्रो र निमा डेभिट शेर्पा तस्रो भएको पर्यटन विकास समाजले जनाएको छ । उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो । सोक्ला रक क्लाइम्बिङ्ग फेस २०८२ नाम दिएर आयोजना गरिएको यस कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले समेत रक क्लाइम्बिङ्ग गरेका थिए । सोक्ला भ्यालीको विकास र दोलखाकै पर्यटक आर्थिक विकासको लागि रक क्लाइम्बिङ्ग कोशेढुंगा हुने बताए । साथै उनले रक क्लाइम्बिङ्गमा सहभागी अमेरिकी नागरिकहरू र हिमालयन क्राउन एकेडेमीका विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरेका थियो ।
साढे २ अर्ब लगानीमा खुल्यो आर्या होटल एन्ड स्पा, एउटा कोठाको भाडा साढे २ लाख रुपैयाँ
काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैर आवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक सिम्खडाले नेपाली पर्यटनमा भविष्य देखेर नै आफ्नै देशमा लगानी गरेको बताए । ‘म जापानमा बस्दा महत्वपूर्ण कुरा सिक्ने मौका पाएँ, उनीहरूलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन् । मलाई पनि आफ्नै देशमा आएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण सुरु गरेँ,’ उनले भने । सिम्खडाको बुझाइअनुसार ठमेल विदेशमा नेपाल चिनाउने माध्यम हो । नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कँदैनन् । नेपालबाट स्वदेश फर्कँदै गर्दा उनीहरुले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाऊन् भन्ने उद्देश्यले आफ्नै सोचमा होटल निर्माण गरेको उहाँको भनाइ छ । होटल फरक र मौलिक बनाउने प्रयास गरिएको छ । मूल ढोकाबाट भित्र पस्दै गर्दा नेपाली शिल्पकलाले स्वागत गर्छ । परम्परगत पोसाकमा सजिएका कर्मचारीले आतिथ्यता प्रदर्शन गर्छन् । पहिलो तलादेखि नै नेवारी शिल्पकलाको बेजोड प्रस्तुति यहाँ देख्न सकिन्छ । होटलका थाम, कुर्सी, कुसनमा नेपालीपन झल्काउने प्रयास गरिएको छ । ठमेल नरसिंह चोकमा छ यो होटल । होटलको लबीमा मयूर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्ठ कला देख्न सकिन्छ । होटलका रूपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायत नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ । पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अँगालिएको सिम्खडाले बताए । उनका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटलमा जग्गासहित २ अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ । ‘विदेशका चिल्ला होटल हेर्न त सबै आउँछन् तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ,’ सिम्खडाले भने । ७२ वटा रुम भएको होटलमा ४१ वटा डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ । परम्परागत शैलीमा डिजाइन गरिएका रुममा नेपाली कला बढी देख्न सकिन्छ । होटलका हेरिटेज रुमहरुमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ । परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ । होटलका रुमहरु स्वयम्भू, धरहरा र सिटी भ्यू हुनेगरी तयार गरिएको छ । दुई सभाहल रहेको होटलको १२औँ तलामा ‘सोरा’ नामक अल डे डाइनिङ रेष्टुरेण्ट छ । त्यसैको छेउमा ‘स्काई लाइन सोरा’ पनि छ । सोरा स्काई लाइनको सिसामा स्काई वाकको मजा लिँदै डिनर गर्न सकिन्छ । यहाँ १६० डलर (साढे २१ हजार रुपैयाँ) देखि १ हजार ६०० डलर (साढे २ लाख रुपैयाँ) सम्मका विभिन्न वर्गका रुमहरू रहेका सञ्चालक सिम्खडाले जानकारी दिए ।