हिमालको काखमा हराएका चार दिन [यात्रा वृत्तान्त]
नयाँ यात्रा । एउटा नयाँ गन्तव्य । मनमा पृथक किसिमको उत्साह । कहिलेकाँही जीवनको व्यस्तताबाट थाकेका आत्माहरूलाई प्रकृतिको काखमा थोरै पल विश्राम चाहिन्छ । त्यो विश्राम केबल विश्राममात्रै होइन, आफूलाई चिन्ने, बुझ्ने र महसुस गर्ने एउटा सुवर्ण अवसर पनि बन्दो रहेछ । हावामा हिमालको सुगन्ध, सल्लाघारीबाट चियाउँदै आएका सूर्यको किरण, बाटोभरि ढकमक्क फुलेर स्वागत गर्न बसेका लालीगुँरासहरू । कानै सुरिलो पार्ने टिनटिन टिनटिन बजिरहेका लावा लस्कर खच्चडरूको घाँटीमा झुण्डिएका घण्टीहरू । अनि मन फुरुङ्ग पार्ने सिरसिरे बतास । आहा ! कसलाई पो जान मन लाग्दैन होला पुनहिल ? यही सौन्दर्यताको सुगन्ध सुँघ्न वैशाख २१ गते मेरो यात्रा काठमाडौंबाट म्याग्दीको प्रसिद्ध पर्यटकीय गन्तव्य पुनहिलसम्मका लागि सुरु भयो । जीवनको पहिलो पटक यति टाढासम्मको लागि यात्रामा निस्किँदै थिएँ म । साथमा आमा बुबा र भाइ पनि । पहिलो पटक यति लामो यात्रामा निस्किएकोले पनि होला, धेरै कौतुहलता, उत्साह र थोरै संशयहरु बोकेर वैशाख २१ गते बिहानै काठमाडौंको माछापोखरीस्थित लोत्से भवनबाट बागलुङ जाने बस चढ्यौं । काठमाडौंको कोलाहल, धुलो-धुवाँ पार गर्दै बसले आफ्नो रफ्तारको गति बढायो । नागढुङ्गा पार भयौं । सुरुवातमै सडकका दायाँबायाँ देखिने हरियाली, नागढुङ्गाको सुरुङ मार्ग र परम्परागत ढुङ्गा-माटोका घरहरूले मेरो मन आकर्षित गर्यो । पोखरा पुग्दासम्म मेरो मनको फुरुङ्गता शरीरमा फैलिसकेको थियो । साँझ ४ बजे पोखरास्थित नयाँ पुलमा बस रोकियो । त्यतिबेलै हामीले घान्द्रुक जाने जीप समात्यौं । मोदीखोलाको छेउछाउ बग्दै गरेका जलविद्युत आयोजना, साँघुरो तर सुन्दर सडक छिचोल्दै हामी घान्द्रुक पुग्यौं । घान्द्रुक । ओहो ! घान्द्रुक त स्वर्ग पो रहेछ । ढुंगाका घरहरू, फूलले सजिएका आँगनहरू अनि त्यहाँका मिजासिला मान्छेहरु । मलाई थप आनन्द र रमाइलो महसुस हुनथाल्यो । २१ गते रात घान्द्रुकमै बित्ने भयो । पर्यटकीय स्थलमा बसाइँ महँगो पर्छ भन्ने कतै सुनेको थिएँ । अहँ ! तर, मेरो बुझाइ गलत सावित भयो । खाना बस्नसहित एक हजार एक सय रुपैयाँ खर्चमै घान्द्रुकमै बस्न पाइयो । ठाउँजस्तै स्वर्गको स्वाद खानामा भेटें मैले । घ्यूसहितको ढिँडो, फापरको साग, घान्द्रुकको विशेष निउरो, आलु काउलीको तरकारी, र मुलाको अचार । खानाको मीठो स्वादसँगै घान्द्रुकको बारेमा छेउमै बसेर बताइरहेका आठ कक्षामा पढ्ने एक जना घान्द्रुककै सानो भाइको मीठा कुराहरू मलाई अहिलेसम्म पनि याद आइरहेको छ । रात घान्द्रुकमै बित्यो । बिहान फापरको रोटी र कालो चिया लिएर हाम्रो यात्रा गन्तव्यसम्मका लागि सुरु भयो । घान्द्रुकदेखि घोरेपानीसम्म पैदल यात्रा घान्द्रुकलाई ढाकेको बिहानी सूर्यका किरणहरू । बिहानै यात्रातर्फ लागिरहेका स्वदेशी र विदेशीहरूको लावालस्कर । त्यही भीडमा मिसियौं हामी पनि । २२ गते बिहान ९ बजे हाम्रो पदैल यात्रा घान्द्रुकबाट घोरेपानीसम्मका लागि सुरु भयो । मैले आजका दिनसम्म लामो पैदल यात्राको अनुभव लिएकी थिइनँ । तर, हिम्मत जुटाएँ र सात घण्टाको घोरेपानीसम्मको यात्रा प्रारम्भ गरें । बाटोभरि लालीगुँरासका फूल, पानीको सुस्केरा दिने धाराहरू, ढुङ्गाका सिँढीहरू, समुन्द्रमा नुहाउन हतारमा सुसेल्दै छिचोल्लिरहेका झरनाहरू, अनि त्यसभित्र हराउँदै गएका चराहरूका मीठा आवाजहरू । यी सबैले पदयात्रालाई स्वर्गको अनुभूति गराइरहेका थिए । ठाँटी, देउरालीजस्ता गाउँहरू पार गर्दै करिब ७ घण्टाको पैदलयात्रा समाप्त गर्दै हामी बेलुका करिब ७ः३० बजे घोरेपानी पुग्यौं । सात घण्टासम्मको पैदल यात्रा मेरो लागि सात सौन्दर्यको स्वाद थियो । बाटोमा भेटिएका स्वदेशी र विदेशी पर्यटकहरूसँगको मीठो गफगाफ, एक-अर्कालाई देखाइएको साथ र आत्मीयता साँच्चिकै लोभलाग्दो थियो । भारत, चीन, भियतनाम, बेलायत, जापान, दुबईजस्ता मुलुकबाट आएका पर्यटकहरूसँगको टुटेफुटे अंग्रेजी गफगाफले यात्रालाई थप रोमाञ्चक बनायो । बालबच्चा बोकेर त्यहाँसम्म पुगेका विदेशी पर्यटकलाई देख्दा नेपालमै बसेर यात्रा गर्न अल्छी गरिरहेको मलाई पश्चाताप पनि दिलायो । हाम्रो आजको रात घोरेपानीमै बित्ने भयो । घोरेपानीमा काठबाट बनेका आकर्षक होटलहरूले पृथक किसिमको सौन्दर्यता थपेको थियो । घान्द्रुक भन्दा सस्तो घोरेपानी बन्यो । एक रातमा खान बस्नसहित एक हजार रुपैयाँ शुल्क । सहरिया जीवनशैलीबाट हुर्केकी म गाउँले जीवनशैलीको महसुस र अनुभव घोरेपानीमा गरें । सम्पूर्ण घर परिवार मिलेर होटल सञ्चालन गर्दा रहेछन् । बाँस र निगालोको डोकाहरू बुन्दै हँसिलो मुहारमा होटलमा स्वागत गर्ने घोरेपानीका होटल व्यवसायीहरूको मिजासिलो स्वभाव सायद मैले अब कहिल्यै भुल्न सक्दिनँ होला । मेरो मनको जोश, जाँगर र उत्साह थप चुलिँदै थियो । जसरी ३ हजार २१० मिटरको अग्लो स्थानमा पुनहिल आफूलाई हँसाइरहेको थियो, त्यसरी नै मेरो मनको उर्जा पनि चुलिँदै थियो । २३ गते बिहानै चार बजे उठेर हामी गन्तव्य स्थलतर्फ लाग्यौं । बिहान ४ बजे मोबाइलको टर्च बाल्दै सुरु भएकाे हाम्रो यात्रा साढे ६ बजे पुनहिलको शिखरमा पुगेर रोकियो । पुनहिल पुनहिलमा पुगेर म एकछिन रोकिएँ । सोचें । बुझें र मनमनै भनें, ‘स्वर्ग त यो पो रहेछ ।’ जीवन त यस्तै पो सुन्दर । मैले एकछिन कानबाटै सुसेली मार्दै दौडिरहेको हावासँग गफ गरें । पुनहिलबाट सुन्दर देखिने धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला र टुपुलुक्क उदाउँदै गरेको सूर्यको रातो किरणलाई साँची राखेर मनमनै भनें, ‘अब तँ प्रकृतिसँग घुम्नुपर्छ ।’ पुनहिलले मलाई आकर्षित गर्यो । ५० रुपैयाँको पुनहिलको प्रवेश शुल्क ५ हजार पुर्याए पनि हुने नि भन्ने महसुस भयो । ५० रुपैयाँको शुल्कले लाखौंले दिन नसक्ने आनन्द दियो । अनि आफैले आफैलाई भनें, ‘नेपालजस्तो सुन्दर देशमा जन्मिन पाउनु म भाग्यमानी रहेछु ।' सँगै पुनहिल पुगेकी मलाई जन्म दिने मेरी आमाप्रति थप माया, सम्मान र गर्व जाग्यो । त्यो सुन्दर पुनहिलमा जति बसेपनि धीत नमर्ने रहेछ । एक पटक सुन्दर पुनहिललाई मिठो चुम्बन गरेर हामी फर्कियौं । पुनहिलबाट फर्किएपछि हामीले घोरेपानीमा खाजा खायौं । त्यहाँबाट बिदाइ भएर उल्लेरीको यात्रा प्रारम्भ गर्याैं । जंगल, खोला, लालीगुँरास र कहीँकतै बाँकी रहेको हिउँसँग रमाउँदै हामी फर्कियौं । पुनहिलबाट हामी घोडेपानी, खाल्टे, नाङ्गेठाँटी, नयाँठाँटी, वनठाँटी, उल्लेरी, तिखेढुङ्गा, वीरेठाँटी, नयाँपुल हुँदै साँझ पोखरा आइपुग्यौैं । उल्लेरीबाट पोखरासम्म जीपको भाडा १३ सय रुपैयाँ रहेछ । साँझ लेकसाइडको एउटा होटलमा बास बस्यौं । भाडा थियो- रातको २ हजार रुपैयाँ । पोखराको फेवाताल भोलिपल्ट सुन्दर फेवा तालको डुंगा सयर, गुप्तेश्वर महादेवको गुफा, चमेरो गुफा, महेन्द्र गुफा, विन्दावासिनी मन्दिर, स्तूपा र पुम्दीकोटको विशाल शिव मूर्ति अवलोकन गर्याैं । पोखराको हावापानी, फेवातालको छाल र हिमालको छायाले फेरि मनमा अर्को यात्रा गरौं जस्तो अनुभुती गरायो । तर, बाध्यता र विवशताले बाँधिएको मानव चोला । मनले चाहेको र रोजेको जस्तै भइदिए त ! हामीले २४ गते साँझको यात्रा काठमाडौंका लागि प्रारम्भ गर्याैं । यात्रा रमाइलो र सोचेभन्दा सुन्दर भएको अनुभव आमाबुबा र भाइले पनि सुनायो । लामो यात्रा नगरेकी मलाई पहिलो पटक पुनहिलले प्रकृतिको संवाद गरायो । पुनहिलले मलाई स्वच्छता, संयम, संस्कार, र सौन्दर्यको पाठ सिकायो । बाटोमा भेटिएका हरेक मान्छे, देखिएका हरेक दृश्य र भागेको अनगिन्ती अनुभवहरूले एउटा गतिलो शिक्षा सिकायो । यात्रामा भेटिएका ध्वस्त सडक र स्वास्थ्य सेवाको अभावले देशको नाजुकपना देखायो । यति सुन्दर देशमा भएका सुन्दर पर्यटकीय स्थलको प्रचार प्रचारप्रसार र प्रवर्द्धन गर्न नसकेको सरकारको असली चित्र देखायो । पुनहिलले आफूले आफैलाई बिर्सेको मलाई ब्यूँझायो ।
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्नेमा जोड
काठमाडौं । सगरमाथा संवादले हिमाली क्षेत्र केन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे 'सगरमाथा कल फर एक्शन' घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरमा जलवायु वित्तको आवश्यकता भएकोले हिमाल केन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरु एकमत भएका छन् । सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ । जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरूले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औषत तापमान १.५ डिग्रिबाट बढ्न नदिनको लागि सबै राष्ट्रहरूले आफ्ना जलवायु योजना सशक्त बनाउनुपर्ने कुरामा घोषणापत्रले जोड दिएको छ । हरित अर्थतन्त्र बनाउन सबैको प्रयास जरुरी रहेको र पर्वतसम्बन्धी छलफलहरू थप बिस्तार गर्दै लगिने कुरामा जोड दिइएको छ । विपद् पूर्वसूचना प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउनेमा पनि सगरमाथा संवादले जोड दिएको छ । जलवायु परिवर्तनले बाढी, खडेरी, भूस्खलन र समुद्री सतह वृद्धिजस्ता जोखिम निम्त्याइरहेकाले हिमाली देशहरूका लागि छुट्टै कोष स्थापना, जलवायु वित्तको सरल पहुँच र निजी क्षेत्रको लगानी वृद्धिको प्रश्ताव पनि घोषणापत्रमा गरिएको छ । हिमाली क्षेत्रमा बसोवास गरिरहेका समुदायहरूले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असमान प्रभाव व्यहोरिरहेका छन् । यसलाई सम्बोधन गर्न जलवायु न्याय, स्थानीय, आदिवासी, महिला, युवा, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता, र पर्यावरणीय सेवाहरूको भुक्तानी संयन्त्र विकासमा जोड दिइएको छ । सगरमाथा संवादमा विशेष रुपमा हिमाल केन्द्रित बहु-सरोकारवाला अन्तर्राष्ट्रिय मञ्च र ज्ञान केन्द्रहरू स्थापना गरी हिमाली समुदायको आवाज विश्व मञ्चमा पुर्याउने प्रतिवद्धता जनाइएको छ । सगरमाथा संवादले स्थायी रुपमा हिमालदेखि समुन्द्रसम्म जलवायु परिवर्तनको साझा चुनौती वकालत गर्न, सम्बोधन गर्न दबाब दिन र विश्वव्यापी संवादलाई निरन्तर अगाडी बढाउने लक्ष्य राखिको छ ।
टिकटक रोडमा गुलमोहर हेर्न सडक किनारमै सेल्फी लिन ओइरिन्छन् पर्यटक
झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । 'कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन', गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताए । पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ । पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् । यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरुमा यात्रुको चाप बढाएकाे छ । रासस