आगामी बजेटमा नाराको सुझाव : हवाई टिकटमा लागेको भ्याटमा पुनरावलोकनदेखि पर्यटन बोर्डको पुन: संरचनासम्म
काठमाडौं । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अन्तर्राष्ट्रिय हवाई टिकटमा हाल लगाइएको भ्याटको व्यवस्था पुनरावलोकन गरी पर्यटकमैत्री कर नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ । नाराले नेपाललाई युरोपेली आयोग (यूएन)को ‘सेप्टी लिस्ट’ बाट हटाउनको लागि हवाई सुरक्षा प्रणालीमा सुधार गरी युरोपमा सिधा हवाई उडान गर्न कुटनीतिक पहल गर्नुपर्ने र पूर्वाधारमा लगानी गर्नुपर्ने सुझाव पेश गरेको छ । त्यस्तै, नाराले हवाई क्षेत्रलाई मजबुत बनाउन नेपाल एयरलाइन्सका नयाँ विमान खरिद गर्नुपर्ने नाराको सुझाव छ । ‘नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा नेपालमा पर्यटन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल एयरलाइन्सले नेपालको हवाई सेवाको सुदृढीकरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रत्येक वर्ष कम्तीमा एक–एकवटा नयाँ विमान खरिद गर्ने रणनीति अवलम्बन गर्नुपर्छ,’ नाराका निवर्तमान अध्यक्ष शिव अधिकारीले भने । साथै अन्तर्राष्ट्रिय रुट विस्तार तथा निजी एयरलाइन्सलाई सहुलियत दिँदै सेवा विस्तार गरिनुपर्ने सुझाव पेश गरेको छ । नेपाल एयरलाइन्स जस्ता राष्ट्रिय ध्वजावाहक कम्पनीहरूलाई बलियो बनाउने हो भने मात्र देशको पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, र अन्तर्राष्ट्रिय गन्तव्यहरूसँगको हवाई सम्पर्क मजबुत हुनसक्ने नाराको सुझाव छ। यसैगरी, नेपाल पर्यटन बोर्डलाई पुनः संरचना गर्दै यसको प्रवर्द्धन तथा व्यावहारिक बनाउँदै समय अनुकूल अन्तर्राष्ट्रिय प्रतिवेदनसहितका सक्षम कर्मचारीहरूको व्यवस्था गरिनुपर्ने नाराले सरकारलाई सुझाव दिएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय रुपमा ठूलो ऋण लिएको पोखरा र भैरहवा एयरपोर्टलाई तत्काल अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई भित्र्याएर भएपनि त्यो एयरपोर्टहरूलाई तत्काल चलाउनुपर्ने सुझाव नाराले पेश गरेको छ । त्यस्तै, धार्मिक पर्यटन पूर्वाधार विकास गरिनुपर्ने नाराका निर्वतमान अध्यक्ष शिव अधिकारी बताउँछन् । उनले भने, ‘लुम्बिनी, पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, गुह्येश्वरी, हलेसी, पाथीभरा, रामजानकी मन्दिर, स्वयम्भू, बौद्धनाथ आदि क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार विकास गरिनुपर्छ ।’ ‘पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको स्तरीकरण र संख्यात्मक वृद्धि गर्नका लागि राष्ट्रियस्तरमा पर्यटन तालिम केन्द्रहरूको स्थापना गरी हरेक वर्ष हजारौं गाइड, पाइलट, होटेल स्टाफ, र एभिएसन प्राविधिक उत्पादन गर्न सकिने कार्यक्रम लागू गरिनुपर्छ,’उनले थपे । यसैगरी नाराले स्पोर्टस हिमालय टुरिजम इयर २०२६ घोषणा गरी विभिन्न प्रतियोगिता आयोजना गर्न बजेट छुट्याउनुपर्ने सुझाव पेश गरेको छ । नाराले आगामी बजेटमा ‘प्राकृतिकमय पर्यटन गन्तव्य’ को रूपमा विकास गर्न, संरक्षित क्षेत्रहरू, नदी प्रणालीहरू, पदमार्गहरू, र ग्रामीण पर्यटन गन्तव्यहरूलाई बिग्रन नदिई वैज्ञानिक, वातावरणमैत्री र समुदायमैत्री विकास मोडेल अवलम्बन गर्न आवश्यक औंल्याएका छन् । त्यस्तै, ‘कम प्रभाव उच्च मूल्य’ पर्यटन रणनीति लागू गर्नु पर्ने नाराको सुझाव छ । नाराका निवर्तमान अध्यक्ष अधिकारी अव्यवस्थित पूर्वाधार, अनियन्त्रित निर्माण र पर्यावरण विनाश गर्ने अभ्यास रोकी ‘कम प्रभाव उच्च मूल्य’ पर्यटन रणनीति लागू गर्नुपर्ने बताउँछन् । त्यस्तै, आगामी बजेटले प्राकृतिक सम्पदा संरक्षण, स्थानीय समुदायको सशक्तिकरण, र हरित पर्यटन पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने सुझाव छ । निवर्तमान अध्यक्ष अधिकारी बजेटले खर्चको सूची नभएर भविष्यको सम्भावनाको खाका बोक्नुपर्ने जनाए । आगामी बजेटमा वैज्ञानिक, पर्यटनमैत्री र वातावरणमैत्री पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिनुपर्ने नाराको सुझाव छ । उनका अनुसार दीर्घकालीन तथा दिगो पर्यटन विकासका लागि स्मार्ट ट्रेल प्रणाली, हरित निर्माण प्रविधि, वातावरणीय प्रभाव न्यूनीकरण गर्ने यातायात पूर्वाधार, तथा स्थानीय समुदाय अनुकूलनयुक्त संरचनाहरू अत्यावश्यक छन् । आगामी बजेटले साहसिक जलयात्रा, नदी पर्यटन, पदयात्रा, पर्वतारोहण, धार्मिक पर्यटन, सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राख्नुपर्ने नाराको सुझाव छ । नेपालको प्रमुख नदीहरू जस्तै कर्णाली, त्रिशूली, भोटेकोशी, सुनकोशी आदिलाई ‘राष्ट्रिय जलपर्यटन सम्पदा’ घोषणा गरिनुपर्ने, सातै प्रदेशको सातवटा महत्त्वपूर्ण नदीहरूलाई पर्यावरण, पर्यटन तथा मानिस र जीवजीवाणुको लागि भएपनि स्वतन्त्र रूपमा त्यहाँका नदीहरूलाई संरक्षण र नदी सम्पदाको रूपमा घोषणा गरेर लैजानुपर्ने सुझाव दिएको छ । ट्रेकिङ र पर्वतारोहण क्षेत्रमा सुरक्षित बाटो, पुल, साइनबोर्ड, रेस्क्यु सिस्टम र डिजिटल ट्रेकिङ कार्ड लागू गर्ने कामको गति बढाइनुपर्ने सुझाव नाराको छ । यसबाहेक ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्यहरूको विकास, विशेष पर्यटक प्याकेजहरू, स्वास्थ्य तथा अध्यात्म पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण अनुकूल पर्यटन मापदण्ड (वातावरणीय संरक्षण र दिगो पर्यटन) को कार्यान्वयन, एकीकृत अनुमति प्रणाली, र सजिलो भिसा नीति लागू गर्नुपर्ने नाराको सुझाव छ । साथै सार्क र बिमस्टिक जस्ता क्षेत्रीय संयन्त्रमार्फत साझा पर्यटन कार्यक्रमहरू विकास गरिनुपर्नेलगायत सुझाव नाराले दिएको छ ।
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायी उत्साहित
पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थनुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो । पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुङ्गा स्थानान्तरण गरिएको थियोभने पामेमा अवरतरण हुँदै आएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्नुका साथै व्यवसायीलाई चुनौती थपेको थियो । अब भने सरागडकोट तोरीपानीको बाहाकोट उडान (टेक अफ) गरेर खपौदी, (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुने निर्णय भएको नाका अध्यक्ष अनिल केसीले जानकारी दिए । 'यसअघि हामीमा प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्यायुक्त थियो । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको आकाशको चमकता हराइसकेको थियो । व्यवसाय धान्न पनि मुस्किल थियोभने करिब एक सय ५० बढी प्यारापाइलट विस्थापित हुनुपरेको थियो । अब भने यो निर्णयले आशा जगाएको छ', उनले भने । उनका अनुसार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ । योसँगै पर्यटक र पाइलटलाई फेवाताल र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यको आनन्द लिन थप समय प्रदान गर्ने जनाउँदै नाका अध्यक्ष केसीले भने, 'यो समय विस्तारले उडान सङ्ख्या बढाउन र पर्यटकको अनुभवलाई अझ रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।' पोखरा महानगरापालिका प्रमुख प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष–२०२५ सञ्चालन भइरहेको सन्दर्भसँगै भएको यो निर्णयले पोखराको साहसिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । 'सकारात्मक प्रयास भएको छ, यसले पुनः पोखराको पर्यटनमा गति थप्नेछ, ढिलै भए पनि व्यवसायीको माग सम्बोधन भएको छ', उनले भने, 'प्याराग्लाइडिङको समय विस्तारसँगै पुरानो स्थलमा अवतरणले साहसिक पर्यटकको मन जित्नेछ । पोखरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेछ ।' अध्यक्ष केसीले उनले आगामी दिनमा सोलो प्याराग्लाइडिङ सञ्चालन र अन्तरराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने योजनासमेत बनाइएको जानकारी दिए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुँवरले दिगो पर्यटनका लागि क्यानको सहकार्यमा पुराना स्थलहरूमा अवतरण अनुमति दिइएको बताए । 'सुरक्षा पहिलो प्राथमिकता हो । सबै कम्पनी र पाइलटले कडा सुरक्षा मापदण्ड पालना गरी पर्यटकलाई सुरक्षित अनुभव प्रदान गर्नुपर्दछ', उनले भने । पोखरा भ्रमण वर्ष संयोजक गोपीबहादुर भट्टराईले पर्यटन वर्ष सफल पार्न पर्यटकीय गतिविधि बढाउनुका साथै चीन र भारतसँग पोखरालाई जोड्ने ‘कनेक्टिभिटी’को सुनिश्चिताको आवश्यक रहेको बताए । 'पोखराको सौन्दर्यकै रूपमा रहेको साहसिक पर्यटनको प्याराग्लाइडिङलाई अब कुनै हालतले विस्थापित हुन दिनुहुँदैन', उनले भने । भट्टराइले यसको विस्तार र प्रवर्द्धनका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय, समर्थन तथा पर्यटन व्यवसायीको सक्रिय सहयोगले यो सम्भव हुने उनको भनाइ छ । प्याराग्लाइडिङलाई थप सुरक्षित बनाएर सुरक्षालाई प्राथमिकता दिँदै नाले मे २१, २०२५ मा पाइलटका लागि प्राविधिक तालिम सञ्चालन गरेको थियो । तालिममा हवाई क्षेत्रको सीमा, अनुशासन र सुरक्षा प्रोटोकलका बारेमा थप प्रशिक्षित गराइएको नाका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार नाका प्राविधिक उपाध्यक्ष विजय गौतम, राष्ट्रिय खेलाडी विमल अधिकारी र प्रमुख प्रशिक्षक योगेशबहादुर भट्टराईले जिपिएस र आधुनिकपद विधिको प्रयोगबाट सुरक्षित र व्यवस्थित उडान सुनिश्चित गर्ने उपायबारे जानकारी दिएका थिए । जिपिएस र आधुनिक प्रविधिको प्रयोगले प्याराग्लाइडिङलाई थप सुरक्षित र व्यवस्थित बनाएको नाले जनाएको छ । समय, पूर्ववत् अवतरणस्थल र सुरक्षाका क्षेत्रमा गरिएको पहलले पोखराको प्याराग्लाइडिङले नयाँ उचाइ लिने अपेक्षा गरिएको नाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले बताए । 'प्राकृतिक सौन्दर्य, सुधारिएको नियमावली र महत्वाकाङ्क्षी पर्यटन योजनाको संयोजनले पोखरालाई सन् २०२५ र त्यसपछिका लागि साहसिक पर्यटकको अत्यावश्यक गन्तव्य बनाउने छ', उनले भने । उपाध्यक्ष आचार्यका अनुसार प्याराग्लाइडिङ व्यवसायमा करिब एक अर्ब लगानी छ भने ५९ व्यावसायिक कम्पनी छन् । चार सय जान ‘टेन्डम’ (दुई जना उड्न मिल्ने) पाइलट छन् । करिब एक सय ५० व्यवसायी विस्थापित भएको अवस्था रहेको बताउँदै उनले हाल दुई सय ५० ले काम गरिरहेका जानकारी दिए । पहिला दैनिक कम्तीमा पाँच सयदेखि बढीमा एक हजार पाँच सयसम्म उडान गर्न सफल हुँदै आएकामा स्थानान्तरणले उडानमा सीमित हुँदा व्यवसायी मर्कामा पर्दै आएका छन् । रासस
नेपाल स्पा र वेलनेस पर्यटनको गन्तव्य बन्दै : स्वास्थ्य, समृद्धि र सम्भावनाको संगम
स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सन्तुलनमा ध्यान दिने गर्दथे । आजको युगमा मानिसहरुको जीवन अन्त्यन्तै व्यस्त र तनावपूर्ण हुने गरेको छ । कामको तनाव, अनियमित खानपान र अपर्याप्त आरामले गर्दा मानिस विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । यसको समाधानको उपायको रूपमा विश्वभर स्पा र वेलनेशलाई लिन थालिएको छ । मेसोपोटामिया, मिश्र र भारतमा परम्परागत चिकित्सा पद्धति र प्राकृतिक उपचारको अभ्यास प्राचीनकालदेखि चलिआएको छ । प्राचीन भारतमा आयुर्वेद र योगलाई शरीर, मन र आत्माको सन्तुलनका लागि उपयोग गरिन्थ्यो । ग्रीस र रोमन साम्राज्यमा तातोपानी स्नान अत्यन्त लोकप्रिय थिए । त्यहाँ स्नान, विश्राम र सामाजिक जमघट सँगसँगै स्वास्थ्य सन्तुलनमा जोड दिइन्थ्यो । चीन र जापानमा तातोपानी, अकुपञ्चर/अकुप्रेसरजस्ता प्राकृतिक उपचार पद्धति स्वास्थ्य सन्तुलनको लागि प्राचीनकालदेखि चलिआएका छन् । आजको २१औँ शताब्दीमा स्पा र वेलनेस केवल स्वास्थ्य सेवाको रूपमा मात्र नभई खरबौँ डलरको विश्वव्यापी उद्योग बनेको छ । वेलनेस भन्नाले केवल रोगको अभाव मात्र होइन, यो जीवनशैलीको एक सक्रिय प्रक्रिया हो, जसले व्यक्तिलाई आफ्नै शरीर, मन र आत्मासँग जोड्न मद्दत गर्छ । डिजिटल जीवनशैली र मानसिक समस्याको वृद्धि, दीर्घकालीन रोगको जोखिम र मानिसको स्वास्थ्यप्रतिको सचेतनाले वेलनेस र स्पा सेवाको माग विश्वव्यापी रूपमा बढेको पाइन्छ । दिगो वेलनेस पर्यटन, पर्यावरणमैत्री स्पा, चिकित्सकीय वेलनेस, स्वास्थ्य केन्द्रित चिकित्सा सेवा, परम्परागत र आधुनिक चिकित्सा संयोजन जस्ता नयाँ विधा विकसित भएका छन् । कोभिड–१९ महामारीपछि मानसिक स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि÷समष्टिगत तन्दुरुस्तताप्रति विश्वभर नयाँ चासो देखिएको छ । त्यसैले मानिसहरू शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सन्तुलनको खोजीमा छन् । नेपालमा स्पा र वेलनेस नेपाली सन्दर्भमा वेलनेस भन्नाले ‘कल्याण’ हो, जसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलनलाई जनाउँछ । यो अवधारणा नेपालमा नयाँ होइन, यसको जरा हाम्रो परम्परागत आयुर्वेद, योग, ध्यान, जडीबुटी उपचार र प्राकृतिक जीवनशैलीमा गहिरो रूपमा जोडिएको छ । देशका विभिन्न स्थानमा रहेका तातोपानी कुण्डलाई प्राकृतिक जलचिकित्साको रूपमा लिने गरिन्छ । नब्बेको दशकपछि होटलहरुमा स्पा सेवाको थालनी भएको पाइन्छ । फुलबारी रिसोर्ट एण्ड स्पा नेपालकै पहिलो स्पा रिसोर्ट थियो । विसं २०५० सालतिर काठमाडौँ र पोखराका केही होटलमा विदेशी पर्यटकलाई लक्षित गरी स्पा सेवा सुरु भयो । अहिले भने नेपालभर स्पाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । नेपाली समाजमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक सन्तुलनलाई महत्व दिइन्छ । यसले वेलनेसको व्यापक अर्थलाई समेटछ । आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परागत उपचार पद्धतिलाई उपभोग गरी वेलनेश गन्तव्यको रूपमा स्थापित गर्न सकिने सम्भावना छ । पछिल्लो १५–२० वर्षमा निजी क्षेत्रको अग्रसरताले यो क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाएको छ र बेलनेस पर्यटनलाई नेपालको पर्यटन क्षेत्र विविधीकरण गर्ने अवसरको रूपमा हेरिन थालेको छ । नेपालका अधिकांश लक्जरी होटल तथा रिसोर्टले अहिले स्पा र वेलनेस सेवा दिइरहेका छन् । यसमा अर्बौँ रूपैयाँको लगानी र हजारौँ व्यक्तिले रोजगारी पाएका छन् । हालका स्पा सञ्चालकले आफ्ना वर्षौँको अनुभव पाँचतारे होटलमा काम गर्दै वा विदेशी अन्तरराष्ट्रिय चेन होटलबाट सिकेर सीप आर्जन गरेका हुन् । नेपालको प्राकृतिक सौन्दर्य, हिमालयको शान्त वातावरण र समृद्ध सांस्कृतिक विरासतले यसलाई वेलनेस पर्यटनको लागि एक आदर्श गन्तव्य बनाउँछ । विश्वभर बढ्दो वेलनेस पर्यटनको मागलाई मध्यनजर राख्दै नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गरी यस क्षेत्रमा आफ्नो पहिचान बनाउन ठूलो सम्भावना राख्दछ । अन्तरराष्ट्रिय पर्यटक नेपालमा योग, आयुर्वेद र प्राकृतिक उपचारको अनुभव लिन आउँछन्, जसले गर्दा नेपालको पर्यटक आगमनमा उल्लेख्य वृद्धि र तिनको बसाइलाई लम्ब्याउन सकिन्छ । सँगसँगै यसले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्छ र नेपाललाई विश्वको नक्सामा एक स्वास्थ्य र आरामको गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्दछ । वेलनेसबाट हुने फाइदा वेलनेस पर्यटनले नेपाललाई धेरै प्रकारका फाइदा दिन्छ । यसले पर्यटन उद्योगलाई बढावा दिनुको साथै स्थानीय अर्थतन्त्रलाई पनि मजबूत बनाउँछ । स्पवा तथा वेलनेसको प्रवर्द्धनबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारको साथै रोजगारी सिर्जना र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्दछ । स्वास्थ्यमा फाइदा : आधुनिक जीवनशैलीले मानिसलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगिन गाहे बनाएको छ । तनाव, अनिद्रा, मांसपेशी दुखाई र मानसिक अशान्तिजस्ता समस्या बढ्दै गइरहेका छन् । यसले विश्वभर मानिस आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधार गर्न स्पा र वेलनेश सेवाको खोजीमा छन् । वेलनेस सेवाजस्तै मालिस, योग, ध्यान, आयुर्वेदिक उपचार र प्राकृतिक चिकित्साले मानिसलाई तनावमुक्त गर्न, शरीरिलाई आराम दिन र मनलाई शान्त बनाउन मद्दत गर्दछ । यसले समग्र रूपमा समाजको उत्पादकता र जीवनस्तरमा पनि सुधार ल्याउछ । वेलनेस पर्यटनले मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । आयुर्वेदिक उपचार, योग, र ध्यानले तनाव, अनिद्रा र मांसपेशी दुखाईजस्ता समस्याको समाधान गर्छ । यसले नयाँ स्वास्थ्य चुनौतीजस्तै नेकटेक (टेक्नोलोजी प्रयोगबाट हुने गर्धन दुखाई)को समाधानमा पनि मद्दत गर्छ । स्पाले शारीरिक र मानसिक स्वास्थ्य दुबैका लागि धेरै लाभ प्रदान गर्दछ । शारीरिक रूपमा यसले तनाव कम गर्न, रक्तसञ्चार सुधार गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । मानसिक रूपमा, स्पाले विश्राम अनुभूति दिलाउने, चिन्ता र डिप्रेसन घटाउने तथा समग्र जीवन सन्तुलन बढाउने काम गर्छ । विश्वभर मानसिक स्वास्थ्य समस्याको वृद्धि, बढ्दो प्रतिस्पर्धा र तीव्र गतिमा बदलिँदो जीवनशैलीले वेलनेस पर्यटनप्रतिको माग उल्लेखनीय रूपमा बढाएको छ । पर्यटक यात्रा गर्दासमेत तनाव घटाउने र आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने उपायको खोजीमा हुन्छन् । यस प्रवृत्तिले स्पा उपचार, योग रिट्रिट र अन्य समग्र अभ्यासलाई झन् लोकप्रिय बनाएको छ । मानिसहरू अब वेलनेसलाई केबल उपचारको रूपमा नभई जीवनशैलीको अङ्ग बनाउँदैछन् । वेलनेसले शरीर र मनप्रतिको सजगता बढाउने, खानेकुरामा रुची जगाउने, मध्यमस्तरको तनाव र व्यायामको सन्तुलन कायम राख्न मद्दत गर्ने हुँदा यो हाम्रो जीवनशैलीको नियमित भागको रूपमा रहेको छ । शारीरिक तन्दुरुस्ती : मसाज, तातोपानीजस्ता स्पा उपचारले मांसपेशीमा भएको तनाव हटाउन, दीर्घकालीन पीडा कम गर्न र जोर्नीहरूको गतिशीलता सुधार गर्न सहयोग गर्छन् । तातोपानी स्नान, विपरीत तापक्रमको पानी र मसाजले रक्तसञ्चार बढाउन सहयोग पु¥याउँछ । यसबाट शरीरभरी अक्सिजन र पोषक तत्व राम्रोसँग आपूर्ति गर्न मद्दत पुग्दछ । स्पा उपचारले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग गर्छ, समग्र स्वास्थ्य सुदृढ गर्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी हुन्छ । विशेषगरी मसाजजस्ता स्पा उपचारले मानसिक तनाव घटाएर विश्राम अनुभूति दिलाउँछ । निद्राको गुणस्तर र बानीमा सुधार पनि ल्याउँछ । स्पा उपचारले छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छन्, जसले छालालाई उज्यालो, मृदु र आकर्षक बनाउँछ । मानसिक स्वस्थता : मसाज, अरोमाथेरापीजस्ता स्पा उपचारले तनाव हर्मोनको मात्रा घटाउँछ र मानसिक शान्ति अनुभूति गराउँछन् । स्पाको शान्त वातावरण र उपचारले मानसिक सन्तुलन कायम राख्न, चिन्ता र डिप्रेसनका लक्षण कम गर्न तथा खुशीको अनुभूति बढाउन सहयोग गर्छ । रक्तसञ्चार सुधार हुने भएकाले स्पा उपचारले मानसिक स्पष्टता, एकाग्रता र सोच्ने क्षमतालाई बढावा दिन्छ । स्पा उपचारले शरीरमा इन्डोरफिन्स, डोपामाइन/सेरोटोनिनजस्ता ‘सुखद्’ हर्मोनको उत्पादन बढाउँछ, जसले ऊर्जास्तर र ‘मुड’ सुधार गर्न मद्दत गर्छ । स्पामा समय बिताउँदा आत्म–हेरचाहको अनुभूति हुन्छ । यसबाट व्यक्तिले आत्म–सम्मान र आत्मविश्वास बढाउँछ र सकारात्मक आत्म–छविमा सुधार आएको अनुभूति गर्दछ । रोजगारी सिर्जना : विश्वका धेरैजसो मुलुकमा वेलनेस पर्यटनको माध्यमबाट राज्यले राम्रो आम्दानी गर्नुको साथै स्थानीय रोजगारी सिर्जना भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई मात्रै लक्षित गरेको अवस्थामा पनि पर्यटकको वसाइ लम्ब्याउनुको साथै उनीहरुले खर्च गर्ने ठाउँ बन्नसक्छ । चुनौतीहरू र समाधान नेपालमा वेलनेस पर्यटनको विकासमा धेरै चुनौती छन् । यसको लागि सरकार, निजी क्षेत्र, र स्थानीय समुदायको सहयोग आवश्यक छ । पर्यटन मन्त्रालयले होमस्टे, होटल, र रिसोर्टका लागि मापदण्ड तयार गरेको भए पनि अहिलेसम्म स्पा र वेलनेस क्षेत्रका लागि मापदण्ड बनाएको छैन । विश्वभर लक्जरी स्पा र होटलमा अत्यधिक माग भए पनि, धेरै नेपाली युवालाई यो उद्योगबारे अझै पर्याप्त जानकारी छैन । नेपालमा स्पा र वेलनेस सेवाका लागि स्पष्ट मापदण्ड नहुँदा केही विकृति विसङ्गति देखिएका छन् । यसले गर्दा सेवाको गुणस्तरमा असर पर्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०ले मसाज थेरापी, योग र सौन्दर्य चिकित्साको प्रशिक्षण दिन सकेको छ । सिटिइभिटीले वेलनेससम्बन्धी पाठ्यक्रम तयार गरी त्यसअनुसार जनशक्ति तयार गर्न सकिएमा रोजगारीको अवसर विस्तार हुनेछ । निष्कर्ष नेपालले वेलनेस पर्यटनमा सफल हुन धेरै कदम चाल्न आवश्यक छ । नेपाल र विश्व बजारमा स्पा तथा वेलनेस क्षेत्रमा रोजगारीका अवसर निकै आकर्षक बन्दै गएका छन् । यो क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च छ र तलब पनि प्रतिस्पर्धात्मक छ । नेपालका अधिकांश स्पा व्यवसायी पनि कहिल्यै न कहिल्यै स्पा व्यावसायिक भएरै आफ्नो ‘करिअर’ सुरु गरेका थिए । यो क्षेत्रमा व्यवसायी बन्ने अवसर पनि सजिलो छ, किनभने सीप, अनुभव र लगनशीलताबाट नै यो उद्योगमा सफल हुन सकिन्छ । युवाले स्पा तथा वेलनेसलाई गम्भीर रूपमा लिएर आफ्नो भविष्यको ‘करिअर’को रूपमा हेर्नु आवश्यक छ, किनभने यो क्षेत्रले देशभित्र र विदेशमा उत्कृष्ट रोजगारी र व्यावसायिक सम्भावना प्रदान गर्छ । नेपालमा वेलनेस पर्यटनको भविष्य उज्ज्वल छ । यसले न केवल स्वास्थ्य र आराम प्रदान गर्छ, तर यसले नेपालको अर्थतन्त्र र पर्यटन उद्योगलाई पनि बढावा दिन्छ । नेपाललाई वेलनेस पर्यटनको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहयोग आवश्यक छ । यसलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन स्पष्ट नीति, मापदण्ड, तालिम र अनुगमनका लागि यो निर्देशिका अत्यन्त आवश्यक छ । नेपाल सरकारले अन्य पर्यटन क्षेत्रझैँ वेलनेस पर्यटनका लागि छुट्टै निर्देशिका तत्काल लागू गर्नुपर्ने आवश्यकता छ । (लेखक सुरेश पुरी नेपाल स्पा तथा वेलनेस सङ्घका अध्यक्ष तथा ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक हुन्)