मुगुको विकट गाउँ पुलुमा हेलिप्याड निर्माण, यार्सा संकलक र बिरामीको उद्धारमा सहजता

मुगु । यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ । सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरे । उनले भने, 'मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्,  सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो अब मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन् ।' कार्मारोङ्गका पाटनमा बहुमुल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजारौँ यार्सा टिप्न यहाँ आउँछन् । उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौँ यार्सा सङ्कलक बिरामी हुने र समयमा उपचार नपाउँदा मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए । हेलिप्याड आठ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो । रासस

पर्यटन विकासले अर्थतन्त्रमा टेवा पुग्छ, सरकार-निजी क्षेत्र सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका हुन् । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताए । सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत जानकारी दिए ।  उनले भने, ‘हामी भारत र नेपालको बीचमा छौँ । हामी सगरमाथाको देश, गौतमबुद्धको जन्मस्थल भएको देश, पशुपतिनाथको देश, मुक्तिनाथको देश भनेर चिनिने गरेका छौं । प्रकृतिको हिसाबाट पनि हामी क्यापिटलाइज गन सक्छौँ । नेपालको समग्र पर्यटन प्रवर्द्धन गर्ने दिशामा लागिरहेका छौँ ।’ अध्यक्ष ढकालले पर्यटन प्रवर्द्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको जानकारी दिए ।

पहाडकी रानी’ बन्दीपुर घुमौँ (तस्बिरहरू)

काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णयअनुसार भ्रमण वर्ष मनाइरहेको छ । बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्य विश्वमाझ पुर्याउन पनि भ्रमण वर्षले महत्वपूर्ण भुमिका खेल्नेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेण्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उद्देश्य छ ।  तस्बिर : न्युज एजेन्सी नेपाल