गाई भैँसी चर्ने चौर बन्यो पर्यटकीय क्षेत्र, ४० लाखमा निर्माण भयो​​​​​​​ फनर्पाक

काठमाडौं । बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले ४० लाख रुपैयाँ लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ । एक दशक अगाडिसम्म झाडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताए । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ । करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोज स्थल, भवन, फोटो खिच्ने स्थान लगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गरे ।  बरेङका सबै वडासहित गुल्मी, स्याङ्जा, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उनले बताए ।   ‘पहिले हामीले यहाँ गाई भैँसी चराउने गर्थ्यौ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन्,’ उनले भने ।  बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पद मार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताए । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोज स्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उनको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसार र पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ पूर्वाधार निर्माण गर्‍यौं, पद मार्ग र मोटरबाटो दुवैले जोड्यौँ,’ अध्यक्ष शर्माले भने, ‘अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।’

‘विमानस्थल नचल्दा र सडक समयमै नबन्दा पर्यटन क्षेत्र मारमा’

काठमाडौं । होटल क्षेत्रमा अर्बौं लगानी भएपनि बनेका विमानस्थल नचल्दा र सडकहरू समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको छ । होटल एशोिसिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौं लगानी भएका होटलहरू खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताए । आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताए । अध्यक्ष साहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ । तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ। उनकाअनुसार आर्थिक चाप, देशमा तरलता धेरै छ । बाह्य सूचकहरू राम्रो देखिन्छ । व्यवसायीहरूले अनुभूति गर्ने भनेको आन्तरिक अर्थतन्त्र चलायमानबाट नै हो । तर त्यस्तो रुपमा देखिँदैन । अध्यक्ष साहकाअनुसार सरकारले नीति तथा कार्यक्रममा केही कुराहरू राम्रो ल्याएको छ, त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्छ । बजेटले अहिलेको मुलभुत समस्या भनेको कनेक्टीभिटीलाई जोड दिनुपर्छ । पोखरा, चितवनका राजमार्गहरू वर्षौंदेखि बनिरहेका छन् । कहिले सकिने भन्ने यकिन छैन । समयसीमा नै तोकेर ती राजमार्गहरू स्तरोन्नति गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष साहकाअनुसार यस्ता कुराहरूलाई बजेटले सम्बोधन गर्नुपर्छ । पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरूको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उनले बताए । अध्यक्ष साहकाअनुसार अहिलेको बजेटले ती राजमार्गका सन्दर्भमा फरक हिसाबले हेर्नुपर्छ । पूर्वाधार निर्माणमा सरकारी निकायबीच नै समन्वयको अभाव देखिएको भन्दै शाहले त्यस्तो अभाव रहन नहुने बताए ।  अध्यक्ष साहले भैरहवा र पोखरा एयरपोर्टलाई द्रुत रुपमा पूर्ण सञ्चालनमा ल्याउनेगरी सरकार लाग्नुपर्ने बताए । उनकाअनुसार त्यसो भ भयो भने एक वर्षमा पर्यटकको संख्या दोब्बर गर्न सकिन्छ । त्यतातिर बजेट केन्द्रित हुनुपर्छ ।  शाहकाअनुसार पर्यटन क्षेत्र र हस्पिटालिटी क्षेत्रमा औपचारिक र अनौपचारिक दुवै देखिन्छ । औपचारिक क्षेत्रले राज्यका नीति नियमसँगै सबै पालना गरेको हुन्छ भने अनौपचारिक क्षेत्रले केही पालना गरेको हुँदैन । त्यो क्षेत्र एकदमै फस्टाएर गएको छ । राम्रो लगानी गरेर सरकारको नीति नियम मानेर सरकारलाई कर तिरेर गर्ने होटलहरू र अनौपचारिक क्षेत्रका होटलहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यो कुरालाई बजेटले हेर्नुपर्छ ।  अहिले देशमा तीन तहका सरकार भएकाले एकआपसमा समन्वयको खाँचो रहेको बताउँदै उनले निजी क्षेत्रबीच ती सरकारहरूले समन्वय गर्न नसकेको समेत बताए । अध्यक्ष साहकाअनुसार जतिसुकै नीति तथा कार्यक्रम बजेट राम्रो भए पनि त्यसको कार्यानवयन प्रभावकारी नभए अर्थ हुँदैन । विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइए पनि कार्यान्वयन भने हुन नसकेको उनको भनाइ छ । बजेटले यसपाली तोकेकोमध्ये १५-२० प्रतिशत मात्रै काम शुरु हुने र फत्ते नहुने गरेको साहाले बताए । बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसाबले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उनको बुझाइ रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष साहको भनाई छ ।  अध्यक्ष साहकाअनुसार कागजमा मात्रै पाएर हुँदैन। त्यसको नीति, नियमावली, कार्यविधि छिटो भन्दा छिटो बनाइनुपर्छ । अहिले त्यस्ता चिजहरू नबन्दा अहिले सुविधाबाट वञ्चित हुनुपरेको छ । व्यवसायीले ऋण लिएर साँवा ब्याज तिर्न समस्या परिरहेकाले बजेटमा यसबारे बोलिदिनुपर्ने उनको भनाइ छ ।

लामो समयदेखि अवरुद्ध फाप्लु-काठमाडौं उडान अब सातामा ४ दिन हुने

काठमाडौं । सोलुखुम्बु सदरमुकाम सल्लेरी स्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।  नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु-काठमाडौं हवाई सेवा पुनः सञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनः उडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।  नेपाल एयरलाइन्स फाप्लुका स्टेसन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो ।  सल्लेरीका व्यवसायी महेश अधिकारीले भने, ‘जहाज नियमित आउन थालेपछि काठमाडौं जान आउन ‘बीपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भर पर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।’ विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो ।  पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए ।