५ क्यासिनोले तिरेनन् साढे ८५ करोड रोयल्टी, ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । विभिन्न ५ वटा क्यासिनोले रोयल्टी तथा नवीकरण वापतको साढे ८५ करोड ५८ लाख ४४ हजार रुपैयाँ बराबरको रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले २० करोड ६८ लाख १५ हजार रुपैयाँ , ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख रुपैयाँ, रक इन्टरनेशनल प्रालि काठमाडौँले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवर प्रालि काठमाडौँले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौँले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ । गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो । यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो । काठमाडौँको साङ्ग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रुपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ । क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड बढी रकम नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिएका छन् ।

६ सिनियरलाई पन्छाउँदै अधिकारीलाई क्यानको महानिर्देशक बनायो सरकारले

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यान अन्तरगतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक पदमा चारवर्षे कार्यकालका लागि अधिकारी नियुक्त गरिएको हो । चार वर्षे अवधिका लागि महानिर्देशकमा नियुक्त भएसँगै पहिलो पटक क्यानकै इतिहासमा युवाले नेतृत्व गर्न पाएका हुन् । यसअघि १२ औँ तहका उपमहानिर्देशक क्यानको महानिर्देशक हुँदै आएकोमा ११ औं तहका अधिकारी पहिलो पटक महानिर्देशकमा नियुक्त भएका हुन् । ४२ वर्षका अधिकारी प्राधिकरणमा आठौँ तहबाट आन्तरिक खुला प्रतिस्पर्धाबाट ११ औँ तहमा पुगेका हुन् । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियर पास गरेका छन् । महानिर्देशक बन्न्का लागि क्यानमा १२ औं तहका ६ जना उपमहानिर्देशकले लबिङ गर्दै आएका थिए । जसमा प्रतापबाबु तिवारी, भोला गुरागाईँ, देवचन्द्र लाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुर प्रतिस्पर्धामा थिए भने निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले कार्यकाल लम्ब्याउने प्रकृयामा थिए ।

निगममा बेथितिः कमजोर व्यवस्थापनका कारण एक महिनादेखि जहाज दोहामा अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा जहाज एक महिनादेखि कतारमा अलपत्र परेको छ । निगमको कमजोर व्यवस्थापनका कारण नाइनएन एकेडब्लू कलसाइन भएको एयरबस ३२० (न्यारोवडी) जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा नै रोकिएको हो । पुस १३ गते मंगलबार नेपालबाट यात्रु लिएर कतार पुगेको नेपाल एयरलाइन्सको सो जहाजको इन्जिन बिग्रिँदा कतारको दोहामै ग्राउन्डेड भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा एयरबसमध्ये १ एउटा एयरबस लामो समयदेखि बिग्रिएर दोहामै रोकिदा समेत निगम व्यवस्थापनले मर्मतमा चासो देखाएको छैन । जहाज मर्मत र इन्जिन परिवर्तनका लागि निगम सञ्चालक समितिको बैठकले निर्णय गर्नुपर्ने हुन्छ । तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको बेवास्ताका कारण बोर्ड बैठकले उक्त निर्णय नगर्दा एक महिनादेखि जहाज ग्राउन्डेड भएको हो । अध्यक्ष अधिकारीकै कारण बोर्ड बैठक नबस्दा इन्जिनमा समस्या देखिएसँगै जहाज मर्मत गरी नेपाल ल्याउने विषयपनि अन्योलमा परेको छ । निगमको बोर्ड बैठक समयमा नबस्दा निगममाथि आर्थिक भार थपिएको छ । जहाज मर्मत लगायतका विषयमा निर्णय गर्ने भन्दै चार पटक बोलाइएको बोर्ड बैठक विभिन्न बहाना बनाएर लम्ब्याउँदा न्यारोवडीको दैनिक साढे २ करोड आम्दानी गुमेको छ । दैनिक सञ्चालन आम्दानी तथा खर्चसँगै दोहारामा जहाज राख्दा निगमले दैनिक २४ हजार नेपाली रुपैयाँ जरिवाना भुक्तानी गर्नुपर्ने हुन्छ । दोहाको विमास्थललाई निगमले जहाजको पार्किङ लगायतका शिर्षकमा उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । निगम सञ्चालक समितिमा ७ जना रहेका छन् । जसमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेल, अर्थ मन्त्रालयका सहसचिव महेश आर्चाय रहेका छन् । यस्तै निजी क्षेत्रबाट डिम प्रकाश पौडेल, फुरग्येल्जे शेर्पा, ईश्वरी पौडेल र किशोर कुमार प्रधान रहेका छन् । दैनिक साढे २ करोड नोक्सान १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाजले नियमित रुपमा दैनिक ४ गन्तव्यमा उडान गर्दै आएको थियो । छोटो दुरीमा उडान गर्दै आएको न्यारोवडी जहाज एक महिनादेखि ग्राउन्डेड हुँदा दैनिक साढे २ करोड रुपैयाँको हाराहारीमा नोक्सानी बढेको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार दैनिक ४ गन्तव्यमा १५५ जना यात्रु राखेर उडान गर्दा एक महिनाको अवधिमा ८० करोड बढी आम्दानी हुने गरेको थियो । एक महिनादेखि जहाज ग्राउन्डेड हुँदा उक्त आम्दानी गुमेको हो । न्यारोवडी जहाजको स्थानमा वाइडबडी (ठूलो जहाज) को प्रयोग गर्दा थोरै यात्रु बोक्दा सञ्चालन खर्च बढेको छ । दुई थान न्यारोवडी जहाजमध्ये एउटा जहाज लामो समयदेखि ग्राउन्डेड हुँदा निगमको उडान सेड्युल नै बिग्रिएको एक क्यापटेनले बताए । उनका अनुसार जहाज बिग्रएकै कारण नयाँदिल्ली, दोहालगायतका धेरै स्थानका उडान रोकिएका छन् । छिट्टै मर्मत गछौंः अध्यक्ष अधिकारी एक महिनादेखि दोहामा ग्राउन्डेड भएको जहाज मर्मत गरेर छिट्टै सञ्चालन गरिने निगमका कार्यकारी अध्यक्ष अधिकारीले बताए । ‘जहाज मर्मत गर्न केही समय लाग्छ, हामीले त्यति समयका लागि भाडामा इन्जिन लिएर जहाज उडाउँछौँ’, उनले भने । जहाजको इन्जिन भाडामा लिने विषयमा तयारी थालिएको निगमले जनाएको छ ।