गृहमन्त्री खाणको प्रश्नः भैरहवा विमानस्थल ११ अर्बमा बन्ने, पोखरामा २५ अर्ब कसरी लाग्यो ?
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ सरकारको लगानीमा पोखरामा निर्माणधीन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रश्न उठाएका छन् । उनले सो विमानस्थल निर्माणमा लागेको लागतमा प्रश्न उठाएका हुन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्काे भएको बताए । उनले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सानो विमानस्थलको लागत झन्डै दोब्बर भएको भन्दै लागत पारदरर्शी नभएको बताए । ‘म गृहमन्त्री छु, मैले यस्ले बनाएको राम्रो उसले बनाएको नराम्रो भन्न मिल्दैन, तर भैरहवा विमानस्थलको रनवे भन्दा कम रनवे (सानो विमानस्थ) बनाउन धेरै खर्च लागेको मैले बुझेको छु’, उनले भने, ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ? गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट उक्त विमानस्थलको नाम र लगानी गर्ने देशको नाम नलिने उनले बताए । ‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीको मेरो गाउँको भैरहवा विमानस्थल ११ अर्बमा बन्ने त्यो विमानस्थलको लागत किन २५ अर्ब किन ?’ विमानस्थल निर्माणमा पनि आफ्नै ठेकदार मात्रै रहन पाउने प्रावधान प्रति उनले बिरोध गरे । यस्ता लगानी भन्दा एमसीसी निकै राम्रो र देश हितको आयोजना भएको खाणले बताए । उनले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह पनि गरेका छन् । उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यामबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने तर्क समेत गरे । एमसीसी परियोजना घरघरमा बिजुली पुर्याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न गरे । बिजुलीको ट्रान्समिसन लाईन बनाउने सो परियोजनाबाट अमेरिकी सेना र गोलाबारुद्ध नआउने उनले बताए ।
पोखराको अन्नपूर्ण केवलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म चल्ने
पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म संचालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । बिहानी सेवा संचालनसँगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा सांझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जना सम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताईएको छ । कम्पनीले नेपालीका लागि ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी विधार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । पोखरा र काठमाडौंका व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड-१९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको उनले बताए । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।
इञ्जिन भाडामा लिएर उड्यो निगमको ग्राउण्डेड न्यारो बडी
काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ । इञ्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो । ग्राउण्डेड जहाजले मर्मतपछि आजदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। उनले भने,“जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको विरोध गरेरै खान पाइयोस् भनेर केही मान्छे लागेका थिए मैले काम गरेर उनीहरुको मुखमा बुझो लगाइदिएको छु ।” कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढिकरण र बजार विस्तारमा आफू अहोरात्र लागि परेको बताए । आफ्नो मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउने दिशामा अग्रसर रहेको उनले उल्लेख गरे । अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि उनकोे जिकिर थियो । निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो । इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको थियो । इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो । इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनौट भएको एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसले इन्जिन भाडामा दिएर जहाज उडानयोग्य बनाएको निगमले उल्लेख गरेको छ । उक्त इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ । निगमको आन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् । रासस