१६ हिमालबाट १७ करोड रोयल्टी संकलन
काठमाडौं । नेपाल पर्यटन विभागले विभिन्न हिमालहरूबाट १७ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन गरेको छ । विभागका अनुसार सेप्टेम्बर महिनासम्ममा २३ हिमालबाट १७ करोड ७ लाख ८९ हजार ९३४ रुपैयाँ रोयल्टी संकलन गरेको हो । सेप्टेम्बरसम्ममा मनास्लुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । त्यस्तै, धौलागिरीबाट ५० लाख ७१ हजार २ सय रुपैयाँ जम्मा भएको छ । विभागका अनुसार सगरमाथाबाट ४२ लाख १२ हजार ३७५ रुपैयाँ, हिमलुङ हिमालबाट ८ लाख ९९ हजार २४० रुपैयाँ, नुप्सेबाट ७ लाख ५० हजार, मकालु ४ लाख २१ हजार ६५० रुपैयाँ, लोत्सेबाट ४ लाख १६ हजार ८५० रुपैयाँ, सारेबुङ हिमालबाट ३ लाख ६९ हजार ६६९ रुपैयाँ, कुम्भकर्ण (जन्नु) हिमालबाट १ लाख ३९ हजार ५५० रुपैयाँ संकलन भएको छ । उक्त अवधिसम्ममा सगरमाथासहित २३ हिमाल आरोहणको लागि ५१६ जनाले आरोहण अनुमति लिएका छन् । जसमा पुरुष ३९३ र महिला १२३ जना छन् । सबैभन्दा बढी चीनबाट ६२ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।
सिजनमै पर्यटक आगमन खुम्चियो, सेप्टेम्बरमा ७८ हजार मात्रै भित्रिए
काठमाडौं । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् ।
रामेछाप-लुक्ला दैनिक ५० देखि ६० वटा उडान, काठमाडौं रुटमा सातामा ३ दिन हुने
काठमाडौं । मंगलबारदेखि रामेछाप-काठमाडौं रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज लगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् । केही दिनयता रामेछाप-लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप-काठमाडौं उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण वीपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो । मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ । अबदेखि प्रत्येक बुधबार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।