प्रधानमन्त्री ओलीको आईटी विज्ञमा असगर अली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सूचना तथा प्रविधि विज्ञ (आईटी) मा असगर अलीलाई नियुक्त गरेका छन् । अली यसअघि पनि प्रधानमन्त्री ओलीको कार्यकालमा आइटी विज्ञको जिम्मेवारीमा थिए । अली अवैतिकको भूमिकामा रहने जनाइएको छ । प्रधानमन्त्रीको विज्ञ सल्लाहकारको भूमिकामा रहँदा पनि राज्यबाट कुनै सेवा तथा सुविधा नलिने बताइएको छ । अलीले गत बिहीबारबाट नै आफ्नो जिम्मेवारी सम्हालेको जनाइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा अधिकांश पूरानै टिमका सदस्यलाई यसपटक पनि दोहोर्‍याएका छन् ।

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्ब बढी

काठमाडौं । गत आर्थिक वर्ष २०८०र८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ । गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले ५ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्यांकबाट देखिन्छ । गत आवमा १ अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार ६ सय ९० सेट टेलिफोन आयात भएका छन् । त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड ९ लाख २३ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा ३५ करोड ५१ लाख ४८ हजार रुपैयाँ बराबरको दुई लाख ३९ हजार ६ सय ६९ वटा स्मार्टवाच आयात भएको छ ।

एआई, रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘टेक एक्स २०२४’ साउन १५ गतेदेखि

काठमाडौं । सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ आयोजना हुने भएको छ । प्रदर्शनीमा रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्ट लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरुले पासवर्ड क्र्याकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीमा एआई रोबटिक टिचर, बैंकिङ रोबट, टुर गाइड रोबट, रोबट फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० भन्दा बढी रचनात्मक परियोजनाहरु रहनेछन् । प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सुरुआत समेत गरिने बताइएको छ । उक्त लिगमा ४० भन्दा बढी रोबर्टहरुले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबो वार ब्याटलमा सहभागी हुनेछन् । सो लिग छ महिनासम्म चल्नेछ । काठमाडौंको सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सको आयोजनामा कलेज प्राङ्गणमा हुने प्रदर्शनी यही साउन १५ गतेदेखि २० गतेसम्म ६ दिन सन्चालन हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य भनेको पछिल्लो समय आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु हो । विद्यार्थीहरुले आइटी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए । ‘आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन् । यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ । र, हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो’, कलेज प्रमुख प्रमोद पौडेलले भने । उनले कार्यक्रममा सहभागी भएर प्रविधिको भविष्यलाई अनुभव गर्न अनुरोध गरेका छन् । फुड स्टल, बौद्धिक खेलहरु समावेश हुने प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव पनि लिन सकिने छ । निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा दश हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विद्यार्थीका सूचना प्रविधि लक्षित परियोजनाहरुको प्रदर्शनी गर्दै ‘आइओटी प्रदर्शनी’ नामबाट सफ्ट्वेरिकाले सुरु गरेको प्रदर्शनीलाई गत वर्षबाट ‘टेक एक्स’ नाममा आयोजना गर्दै आइएको छ । यसपटकको कार्यक्रम चौथो सँस्करण हो ।