एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारीक घोषणा, सुपथ र नविन सेवा प्रदान गर्ने वाचा
काठमाडौं, १ भदौ । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्त रुपमा कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनीक गरेका हुन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । रिब्राण्डिसँगै कम्पनीको रोमांचक नयाँ अध्याय शुरु भएको जनाउँदै पर्किन्सले ग्राहकमा लागि एनसेलले सुपथ मुल्यमा नविन सेवा प्रदान गर्ने बताए । “साथै आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउन प्रतिवद्ध छ,” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । एनसेलले वैशाखमा सन् २०१६ का लागि रु १२ अर्बको पुँजीगत लगानी गर्ने घोषणा गरेको थियो । यस बाहेक कम्पनीले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवासंचालन सुनिश्चित गर्न आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने पर्किन्सले बताए । डा. विजयसुर्याले एनसेलको रिब्राण्डिङ्गसँगै कम्पनीमा आजीयाटाको अन्तर्रा्ष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको बताए । ”आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्ड सहित नेपालमा प्रवेश गरेको छ । हामी एनसेलको विकासको योजना तथा लगानीमा प्रतिबद्ध छौं,” डा. विजयसुर्याले भने । एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् । हाल करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको एनसेल एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । कम्पनीले करिब ४० हजार नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारीको अवसर प्रदान गरेको छ । एनसेलले नेटबर्क विकासमा करिब ७४ अर्ब लगानी गरेको छ भने देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।
चीनले विश्वकै पहिलो ह्याक प्रुफ स्याटेलाइट प्रक्षेपण गर्यो
काठमाडौंः चीनले मंगलबार विश्वकै पहिलो ह्याक प्रुफ क्वान्टम स्याटेलाइटको सफल प्रक्षेपण गरेको छ । चीनले दाबी गरे अनुसार यसले पठाएको म्यासेजलाई न त डिकोड गर्न सकिन्छ न नै स्याटेलाइटलाई ह्याक नै गर्न सकिन्छ । चीनले यस स्याटेलाइटलाई संघाईको एक ल्याबमा तयार गरेको हो । जुन ल्याबलाई चीनले अघिल्लो साल बनाएको थियो । क्वान्टम स्याटेलाइटलाई लन्च गरेर चीनले जापान र अमेरिकालाई पछि मात्रै पारेन यी दुई देशको चिन्ता पनि बढाइदिएको छ। केही वर्षअघि सीआईएका पूर्वकर्मचारी एडवर्ड स्नोडेनले अमेरिकाले चीनको स्याटेलाइट्सको सबै सूचना डिकोड गरिरहेको पोल खोलिदिएपछि चीनले भित्री तयारी थालेको थियो । त्यसपछि चीनले डिकोड गर्नै नसकिने प्रविधिको विकासमा लागेको थियो । चीनले यस स्याटेलाइटको नाम ‘मिसिअस’ राखेको छ । मिसिअस छैटौं शताब्दीमा चीनका महान अध्यता र वैज्ञानिक थिए । जुलाई, २०१५ मा क्वान्टम कम्प्यूटिङ्ग ल्याब संघाईमा बनाइएको थियो । यो चीनको उच्च गोप्यता कायम गरिएको ल्याब हो । यसलाई चिनियाँ एकेडेमी अफ साइन्स र चीनको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी अलीबाबाले तयार गरेका हुन् । क्वान्टम स्याटेलाइटमा प्रयोग गरिएको प्रविधिको बारेमा चीनले विश्वकै सबैभन्दा सुरक्षित प्रविधि रहेको दाबी गरेको छ । यसमा फोटोनको प्रयोग गरिएको छ । फोटोनलाई न त अलग गर्न सकिन्छ न त उसको प्रतिकृति (रिप्लिका) बनाउन नै सकिन्छ । थाहा पाउनै पर्ने कुरा फोटोन प्रविधिबाट जुन सूचना पठाइन्छ, त्यसलाई डिकोड गर्न सकिन्न । अर्थात यो पूर्णरुपमा ह्याक प्रुफ रहेको छ । चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्याटेलाइटमा फोटोन टुक्रा गरिएको अवस्थामा हुनेछ । यदि यसबाट म्यासेजलाई डिकोड गर्ने कोशिस गरियो भने फोटोन आफैं नष्ट भएर जानेछ । यस स्याटेलाइटमा दुई कम्जोरी पनि छन् । पहिलो यसको कन्ट्रोल रूम जमीनमा नै हुनेछ । अर्थात स्याटेलाइटबाट पठाइएको डाटा ह्याक या डिकोड त हुन सक्दैन तर जमीनमा आएपछि कन्ट्रोम रूममा डिकोड गरेपछि भने त्यसको ट्रान्स्क्रिप्टलाई दोस्रो तरिकाबाट प्राप्त गर्न भने सकिन्छ । अर्को कम्जोरी भनेको यसको डाटा ३०० किलोमिटर भन्दा धेरै टाढासम्म पठाउन सकिँदैन । यसको घाटा भनेको यदि संघाईको विकल्पमा ३०० किलोमिटर भन्दा बाहिरको अर्को सहरबाट यो स्याटेलाइटबाट डाटा तान्न सकिँदैन । यो प्रोजेक्टका प्रमुख वैज्ञानिक पेन जियानवेईले यो प्रयासपछि आफूहरु पुरानै प्रविधिको सञ्चार प्रविधिबाट आफहरु धेरै अघि बढिसकेको बताएका छन् । यो प्रयास सफल भएपछि चीनका लागि नयाँ बाटो खुल्ने उनको भनाइ छ । यो सफलतापछि अब चीनले सन् २०३० सम्ममा क्वान्टम स्याटेलाइटको ग्लोबल नेट्वर्क तयार गर्न सक्नेछ ।
एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, दुई बर्षमा ७० अर्ब लगानीको घोषणा
काठमाडौं, ३२ साउन । एनसेल प्रा. लि. र आजीयाटा ग्रुपबर्हादले साउन ३२ मंगलबार एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको, आधुनिक प्रविधि, नविनता र डिजिटलाईजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित भएको र नयाँ प्रतिभाको विकास तथा दुरसंचार क्षेत्रमा नेपाली नेतृत्वको विकास गर्ने कार्यलाई गतिशिल बनाएको कम्पनीले जनाएको छ । आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दीर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउने जनाएको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होईन, हामी नेपालको व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।” “एशियाकै प्रमुख दुरसंचार समूह आजीयाटाको सहयोग प्राप्त भएकोमा हामी हर्षित छौं । आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्डसहित नेपालमा प्रवेश गरेको छ ।” एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी/थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँलगानी गरेको छ । फोरजी/एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ्ग, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने छ । नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने यस फोरजी/एलटिई सेवा संचालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुनेमा एनसेल विश्वस्त रहेको जनाएको छ । सन् २०१६ का लागि एनसेलले घोषणा गरेको रु १२ अर्बको पुँजीगत लगानीबाहेक एनसेलले आफ्ना निष्ठावान ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ । नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले साउन ३२ गतेबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् । यो योजनाभदौ १४ गतेसम्मजारी रहने छ र योजनाअवधिमा एक पटक मात्र निःशुल्क टक टाईम तथा एसएमएस प्राप्त हुने कम्पनीले जनाएको छ । एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजीमोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । चैत २९, २०७२ मा एनसेल आजीयाटा ग्रुपबर्हादसँग आबद्ध भएको हो । एसियाको एक अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको आजीयाटा हाल १० वटा देशमा उपस्थित छ र करिब २९ करोड ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । आजीयाटा ग्रुपको पुर्वाधार कंम्पनी ‘इडटको’ ६ वटा देशमा सञ्चालमा छ र यसले १६,००० भन्दा बढी मोबाईल टावर तथा १२,००० किमीफाइबरद्वारा दुरसंचार पुर्वाधार सेवाप्रदानगरिरहेको छ ।