तपाईको ब्रोडव्याण्ड इन्टरनेट स्लो भयो, पासवर्ड परिवर्तन गर्नुहोस छिमेकिले चलाइको हुनसक्छ !
काठमाण्डौं ७ भदौ। तपाईको घरमा ब्रोडव्याण्डको ‘लिमिटेड डेटा’को समयावधि चाँडै सकिरहेको छ अथवा युट्युवमा भिडियो खुल्दा बफरिङमा धेरै समय लागिरहेको छ। त्यसो हो भने तपाइले एकपटक सोच्नैपर्ने हुन्छ छिमेकिले तपाइको वाइफाइ चलाइरहेको छ। यस्ता कुराहरु तपाईका लागि हानिकारक पनि हुनसक्छन् जसका कारण तपाइ कानुनी समस्यामा समेत पर्न सक्न्हुन्छ। उनीहरुले तपाईको इन्टरनेट प्रयोग गरेर कानुनविपरितका कामहरु पनि गरिरहेका हुनसक्छन। ब्रोडव्याण्ड इन्टरनेटको स्पिड धेरै हुने गर्दछ यसका लागि तपाईको छिमेकिले वाइफाइको पासवर्ड पाउनका लागि हर कोसिस गरिहरको हुन्छ। तपाईलाई वाइफाइको पासवर्ड कसैले चालएको भनेर शंका छ भने कसले चलाएको छ भनेर पत्ता लगाउनु जरुरी छ। कसरी पत्ता लगाउने इन्टरनेट ब्राउजरको एड्रेस वारमा गएर १९२.१६८.१.१ टाइप गर्नुहोस। त्यसपछि राउटरको युजरनेम र पासवर्ड राखेर एडमिन पेजमा जानुहोस्। त्यसमा डिएचसिपी क्लाइन्ट लिस्ट लेखेको देखाउँछ। त्यहाँ कुनकुन डिभाइसहरु तपाइको वाइफाइसंग कनेक्ट भएको छ त्यो देखाउँछ। प्रत्येक डिभाइसको अलग अलग युनिक नामहरु (आएएमइआइ र म्याक एड्रेस) रहेका हुन्छन् जसका कारण डिभाइस पत्ता लगाउन सजिलो हुन्छ। त्यसका लागि आफ्नो राउटर लगइन गरेर राउटर र वाइफाइको पासवर्ड परिवर्तन गर्नुहोस। यो पासवर्ड सवैले पत्ता लगाएका हुन्छन त्यसैले यो काम पहिले गर्नुपर्छ। पासवर्ड परिवर्तन गरेपछि सवै डिभाइसमा नयाँ पासवर्ड राख्नुपर्दछ। राउटरको नाम परिवर्तन गर्दा छिमेकिले राउटरको नाम पनि पत्ता लगाउन केहि मुस्किल पर्दछ। वायसलेस सेटिङ मेनुमा सर्भिस सेट आइडेन्टिफायर (एसएसआइडी) हुन्छ यसवाट यसको परिवर्तन गर्न सकिन्छ। राउटरको सेक्युरिटि सेटिङमा ‘डव्लुपिए२’ को छान्नुपर्दछ किनकि सेक्युरिटीमा यसको पासवर्ड इन्क्रिप्सन सवैभन्दा राम्रो र उत्कृष्ट हुन्छ। सन् २००६ भन्दा पछि बनेका सवै राउटरमा यो सुविधा रहेको हुन्छ। विविसी हिन्दीवाट
डाटा सेवामा ध्यान केन्द्रित गर्दै एनसेल, फोजी सेवा सञ्चालनमा ल्याउने तयारी
काठमाडौं, ७ भदौ । ईन्टरनेट सेवाको माग र ग्राहक संख्या बढीरहेको अहिलेको अवस्थामा एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले उक्त कुरा बताएका हुन् । पर्किन्सले भने, ‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो प्राथमिकता हो ।’ अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ । यही विषयमा बोल्दै पार्किन्सले नियमक निकायको अनुमति पश्चात कम्पनीले फोरजी सेवा शुरु गर्ने तयारीमा रहेको बताए । सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरुप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिई सकेको छ । सरकारले अनुमति दिएमा २ महिना भित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ । केही महिना अघि एनसेलले आफ्नो सेवा ग्रामिण तथा दुर्गम स्थानमा विस्तार गर्न पुर्वाधारमा सन् २०१६ भित्र १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो । अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुगि सकेकोे छ । एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना उपभोक्तालाई थ्रीजी प्रविधिमा आधारित २१ एमबी प्रति सेकेन्ड सम्मको डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकिकरण गर्दै लैजाने बताएको छ । अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । थ्रीजी प्रविधि अन्तर्गत नेटवर्कमा आधुनिकिकरण र फोरजीको शुरुवात पछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्धि हुने कम्पनीको अपेक्षा छ । “फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुन्छ यसले गर्दा उपभोक्ताले सजिलैसँग अनलाईन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्छन्,” पर्किन्सले आजीयाटा गु्रप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउदै भने । नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्ष भित्रै थप ७० अर्ब रुपैयाँ पुँजीगत तथा सञ्चालन लगानी गर्ने उद्घोष पनि गरेका छ । यस अन्तर्गत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष ३५ अर्ब रुपैयाँ लगानी गर्नेछ । हाल सम्म एनसेलले नेपालमा रु ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत शेयर लगानी रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको शेयर रहेको छ । गत चैत्रमा मलेशियन कम्पनी आजीयाटाले रेनोल्डस् होल्डिङ्को शतप्रतिशत स्वामित्व किने पछि गत साउन ३२ गते एनसेलको नयाँ ब्राण्ड लोगो अनावरण गरिएको थियो ।
नेपाल टेलिकमद्धारा ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच विस्तार
काठमाडौं, ६ भदौ । नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याई सेवा उपलब्ध गराउन थालेको छ । उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमविपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजि, इभिडिओ इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने कम्पनीले जनाएको छ । साथै भविष्यमा थ्रीजि र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको छ । यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु मार्फत भौगोलिक दृष्टिले निकै कठीन उच्च पहाडी क्षेत्रमा ट्रान्समिसन उपकरणहरु जडान गरी सेवा सञ्चालन गरिएको हो । आगामी दिनमा सम्भव भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।