डोल्पा र हुम्लामा पुग्यो थ्रीजी सेवा, अब ७५ वटै जिल्लामा, दसै र तिहारको अबसरमा प्रति एमबी १२ पैसामा डाटा अफर
काठमाडौं, २० असोज । आधुनिक सूचना र प्रविधिको सेवा अब डोल्पा र हुम्ला जिल्लामा पनि पुगेको छ । हिजो (असोज १९ गते) डोल्पाको दुनै र आज ‘२० गते’ देखि हुम्लाको सिमिकोटमा थ्रीजी सेवा शुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको कम्पनीले जनाएको छ । थ्रीजी अहिलेसम्म नेपालमा प्रयोगमा आएको प्रविधि मध्ये अत्याधुनिक हो । टेलिकमले फोरजी सेवा सञ्चालनको लागि तयारी गर्दैछ । ‘नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो’ टेलिकमद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल टेलिकमले जीएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो । थ्रीजी सेवा मार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । त्यसै गरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ । नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि स्पेशल५००एमबी वा स्पेशल१२००एमबी लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा पठाउनु कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीका प्रबक्ता प्रतिभा बैद्यले बताईन् ।
अब नेपालको आफ्नै स्याटेलाइट, अघि बढ्यो प्रक्रिया
काठमाडौं, २० असोज । नेपालले आफ्नै स्याटेलाईट सञ्चालनको प्रक्रिया अघि बढाएको छ । आफ्नै स्याटेलाइट सञ्चालन गर्ने सरकारी नीति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले आयस पत्रका लागि सूचना प्रकाशित गरेको हो । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार आसय पत्र बुझाउने कम्पनीहरुमध्येबाट छनौट गरेर विस्तृत परियोजना माग गरिनेछ ।‘नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने पुर्व निर्णय कार्यान्वयनको पहिलो चरण सुरु भएको छ, आसय पत्र बुझाउने फर्म तथा कम्पनीमध्येबाट छनौटमा परेका कम्पनीलाई बिजनेश मोडालिटी र टेक्निकल प्रस्तावसहित आउन पुनः सूचना निकाल्छौं’, अर्यालले भने । उनका अनुसार स्याटेलाईट सञ्चालन गरेको अनुभव नेपाली कम्पनीसँग नरहेकाले विदेशी कम्पनीहरुले आवेदन दिनेछन् । हालसम्म नेपालले भारत, लगायतका मुलुकका स्याटेलाईट उपयोग गर्दै आएको छ । त्यस वापत नेपालले बर्षेनी अरबौं रुपैंयाँ बुझाउँदै आएको छ । नेपालको आफ्नै स्याटेलाईट सञ्चालनमा आएपछि अन्तरिक्षमा नेपालको आफ्नै स्पेश हुनेछ ।
फेसबुकले ल्यायो म्यासेन्जर लाइट, पुरानो सेटमा गज्जबले चल्छ!
पुरानो भर्सनको एन्ड्रोइड स्मार्टफोन चलाउनेहरूलाई खुशीको खबर छ । फेसबुकले कम क्षमताका स्मार्ट फोन र सुस्त इन्टरनेट हुँदा पनि सजिलै प्रयोग गर्न सकिने ‘म्यासेन्जर लाइट’ सोमबार सार्वजनिक गरेको छ । लाइट भर्सनको यो म्यासेन्जर इन्टल गर्न जम्मा १० एमबि स्टोरेज भए पुग्छ । नियमित संस्करणको म्यासेन्जरलाई भने ५० एमबि भन्दा बढिको स्टोरेज चाहिन्छ । म्यासेन्जर लाइटले मोबाइल डेटा प्लानमा चल्नेहरूलाई पनि ठुलो राहात दिने छ । नयाँ सेट किन्न नचाहने र इन्टरनेट सुस्त हुनेलाई यो राम्रो म्यासेजिङ बिकल्प हुने भएको छ । म्यासेन्जर चलाउँदा फोन ह्याङ हुन्छ भने पनि यो गज्जबको बिकल्प हुने छ । १ अर्ब भन्दा बढि प्रयोगकर्ताले अहिले फेसबुकको म्यासेन्जर प्रयोग गर्छन् । ‘बाँकी इन्टरनेट प्रयोगकर्ता जो सँग कमसल फोन छन् र इन्टरनेट कनेसक्सन कमजोर छ हामी उनिहरूलाई जोड्न चाहन्छौं’ फेसबुक न्युजरूममा भनिएको छ । नेपाल जस्ता विकासशील देशलाई लक्षित गरी डेभलप गरिएको यो म्यासेन्जर तत्कालका लागि भने केन्या, ट्युनिसिया, मलेसिया, श्रीलंका र मलेसियामा मात्र प्रयोग गर्न मिल्ने छ । सामान्य म्यासेन्जरका धेरै सुविधा भएपनि कतिपय महत्वपूर्ण सुविधा भने लाइट भर्सनमा छैनन् । टेक्ट, फोटो र भिडियो म्यासेज पठाउन मिले पनि भ्वाइस कल सुविधा भने यो भर्सनमा छैन् ।