नेपालमा बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सञ्चालन, साइबर सुरक्षामा योगदान दिने
काठमाडौं । एथिकल ह्याकरहरूलाई खुसीको खबर छ । साइबर सुरक्षामा चासो राख्ने र यसबारे अनुसन्धान गर्नेहरूलाई नेपालमा बग बाउन्टी प्लेट फर्म ‘बगभी’ को सूरुवात भएको छ । साइबर सुरक्षा सेवालाई सस्तो र सर्वसुलभ बनाउन साइनिकल टेक्नोलोजीले नेपालमै पहिलो पटक ‘बगभी’ को सञ्चालन गरेको हो । एथिकल ह्याकर र साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले कुनै पनि कम्पनि, त्यसको सिस्टम र सफ्टवेयरको जोखिमका बारेमा समस्या पत्ता लगाएर रिवार्ड पनि प्राप्त गर्न सक्नेछन् । साइनिकल टेक्नोलोजीका सिइओ नरेश लाम्गादेका अनुसार यसलाई नेपालमा मात्र सिमित नगरेर विश्वमै बिस्तार गर्ने योजना छ । कुनै प्लेटफर्ममा बग फेला परेमा एथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्नेछन् । त्यही बगका आधारमा ह्याकरहरुले निश्चित रकम रिवार्ड पनि प्राप्त गर्नेछन् । यसरी रिवार्डबापतको पैसा इसेवा, फोनपेमार्फत दिलाउने व्यवस्था मिलाइएको छ । हालसम्म बगभीमा ६ वटा कम्पनीहरू सूचिकृत भइसकेका छन् । आफ्नो प्लाटफर्ममा बग भए, नभएको पत्ता लगाउन उनीहरू सूचिकृत भएका हुन् । सिइओ लाम्गादेका अनुसार यसमा अन्य कम्पनिहरूले पनि चासो दिएका छन् । ह्याकरहरूका कारण विभिन्न कम्पनिका वेवसाइट, सफ्टवेयर तथा यसको प्रणालीमा जहिल्यै खतरा भईरहन्छ । यस्तो अवस्थामा एथिकल ह्याकर र अनुसन्धाकर्ताहरूले समस्यामा आइ पर्ने बग पत्ता लगाउन र त्यो समस्या समाधान गर्न भूमिका खेल्ने गर्छन् । कुनै प्लेटफर्ममा बग फेला परेमा एथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्नेछन् । हाल बग फेला पारेको अवस्था सम्बन्धित कम्पनी तथा प्लेटफर्मसँग सिधै सञ्चार गर्ने उपयुक्त माध्यम नहुँदा डेटा ब्रिच तथा लिकका घटना भइरहेका छन् । ‘अब त्यो समस्या समाधानका लागी साइनिकल टेक्नोलोजीले भूमिका खेल्ने छ ।’ सिइओ नरेश लाम्गादे भने । साइनिकल टेक्नोलोजीले सरकारी निकाय, विभिन्न निजि तथा सार्वजनिक संघ, संस्थाहरुलाई सेवा प्रदान गर्ने बताएको छ । तर, साइबर सुरक्षा अनुसन्धानकर्ताहरुको हकमा भने त्यो नियम लागु हुने छैन । संसारभर जहाँसुकैबाट अनुसन्धानकर्ताहरुले नि:शुल्क बगभी प्लेटफर्ममा जोडिन सक्नेछन् । सेवाग्राहीले कम्पनिलाई निश्चित शुल्क तिर्नु पर्नेछ । बग बाउन्टीलाई भल्नेरेबिलिटि रिवार्डस् प्रोगाम (भिआरपी) पनि भनिन्छ । संसारमा धेरैजसो सफ्टवेयर भेन्डर्स र वेवसाइटले बग बाउन्टी प्रोगाम सूरू गरेका छन् ।
चिडियाखानामा अनलाइनमार्फत टिकट काट्ने बढे
काठमाडाैं । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलाकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा एक÷दुई जनाले मात्रै अनलाइनबाट टिकट काट्ने गरेकामा अहिले दैनिक १० जना पुगेका छन् । कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । गत मङ्सिर २५ गतेदेखि चिडियाखाना पुनः खुला गरिएको हो । चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चिडियाखाना खुला गरे पनि अवलोकनकर्ता उत्साहजनरुपमा आएको बताए । लामो समयको बन्द पछि खुलेको उक्त चिडियाखानामा शुरुका दिनमा बढीमा ५०० अवलोकनकर्ता आउने गरेका थिए । अहिले दैनिक दुई हजारसम्म अवलोकनकर्ता आउन थालेका छन् । व्यवस्थापक पोखरेलले भने, “जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो तर आशाअनुरुप आएका छन्, पुनःसञ्चालनकै शुरुको दिन यही २५ गते ५०० मान्छे आएका थिए भने अहिले दैनिक दुई हजार अवलोकनकर्ता आउने गरेका छन्, कोरोनाको जोखिम थप नबढे आगामी दिनमा अवलोकनकर्ता थपिनेछन् ।” चिडियाखाना प्रवेश पाए पनि बालबालिकाका लागि हँुदै आएको खेल गतिविधि सञ्चालन नहुँदा अवलोकनकर्ताले गुनासो गरेका छन् । छोरासहित लामो समयपछि चिडियाखाना घुम्न आउनुभएकी गोर्खा घर बताउने सुशीला खड्काले बालबालिकाका लागि खेल्ने स्थान बन्द हुँदा भरपुर रमाइलो नभएको गुनासो गर्नुभयो । स्वास्थ्य मापदण्ड पूरा गर्दै उनीहरुका लागि खेल्ने स्थान सञ्चालन गर्नुपर्ने खड्काको भनाइ थियो । सुरक्षा मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् । भित्र जानेको सङ्ख्या जस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् त्यही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ । यसअघि झैँ हरेक दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । अहिले चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीव जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेका भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि ७५०, सार्क देशका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । रासस
टेलिकमले थप्यो नयाँ सेवा, आजदेखि आईपी टिभी सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले आजबाट आईपी टिभी सेवा सुरु गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर टेलिकमले यो सेवा सञ्चलनमा ल्याएको हो । टेलिकमले प्रदान गर्न लागेको सेवाले उपभोक्ताहरुलाई विभिन्न स्वदेशी तथा विदेशी टिभी च्यानल, भिडिओ हेर्न सहज हुनेछ । अहिलेसम्म एनटीटिभी ब्राण्डमा ‘फाइबर टु द होम’ (एफटीटीएच) मार्फत भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउदै आएको नेपाल टेलिकमले आजबाट आइपी टिभी सेवा सुरु गरेको हो । यो सेवा संचालनमा आएपछि उचित मूल्यमा उपभोक्ताहरुले घरमै बसिबसी टिभी, इन्टरनेट र टेलिफोन सेवा लिन सक्नेछन् । टेलिकमले स्वदेशी तथा विदेशी च्यानलहरु प्रिमियम र बेसिक गरेर दुई प्याकेजमा उपलब्ध गराएको छ । उपभोक्ताले आफ्नो छनौट अनुसार प्याकेज खरिद गर्न सक्नेछन् । जसअन्तर्गत बेसिक प्याकेजको मूल्य (एक टिभी) प्रतिमहिना एक हजार २ सय ३०, ३ महिनाको ३ हजार ५ सय ३० र एक वर्षको शुल्क १३ हजार २ सय २० रुपैंया“ तोकिएको छ । यसमा १५ एमबिपिएस इन्टरनेट, निःशुल्क टेलिफोन र एनटिटिभी सेवा उपलब्ध हुनेछ । त्यस्तै प्रिमियम प्याकेजमा प्रतिमहिना एक हजार ४ सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको पन्ध्र हजार रुपैंया“ शुल्क तोकिएको छ । टेलिकमका अनुसार एकभन्दा बढी टिभी प्रयोग गरिएको अवस्थामा थप शुल्क लाग्ने छ । एकभन्दा बढी टिभी थप्ने हो भने बेसिक प्याकेजमा मासिक २ सय २६, त्रैमासिक ७ सय ७८ र वार्षिक २ हजार ७ सय ११२ रुपैया थप्नु पर्नेछ । यसैगरी प्रिमियममा मासिक ५ सय ९, त्रैमासिक १ हजार ४ सय ४९ र वार्षिक ४ हजार ८ सय ८२ रुपैया“ थप्नु पर्नेछ । यो सेवा केही समयका लागि काठमाडौंभित्रका सिमित स्थानहरुमा उपलब्ध हुनेछ । जसअनुसार सुन्धारा, ठिमी, बबरमहल, चावहिल, बलम्बु, छाउनी, र गोंगबुमा उपलब्ध हुनेछ । त्यस्तै पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साललगायतका क्षेत्रहरुमा यो सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो सेवा लिनका लागि भ्वाइस, डेटा वा दुवै सेवा प्रयोग गरिरहेका उपभोक्ताले नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यो सेवा सञ्चालन गर्न एसटीबी (सेटअप बक्स) खरिद गर्नु पर्नेछ । उपत्यका बाहिर कम्पनीको फाइबर पुगेको स्थानमा यो सेवा पाइनेछ । अहिले काभ्रे, चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, धनकुटा, झापा, मोरङ, सुनसरी, डोटी कैलाली, कञ्चनपर, धादिङ, बा“के र दाङ लगायतका केही जिल्लामा टेलिकमको फाइबर उपलब्ध छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार आइपीटिभी सेवा काठमाडौं उपत्यकाबाट सुरु भए पनि देशभरका ७७ वटै जिल्लामा विस्तार गर्दै लैजाने योजना छ । यो सेवालाई आक्रामक रुपमा विस्तार गर्दै लैजाने टेलिकमको लक्ष्य छ । के हो आइपिटिभी ? आइपिटिभी एक डिजिटल प्रविधि हो, जसले आइपि ट्रान्समिसन लिंकका आधारमा भिडिओ र टिभी हेर्ने सुविधा प्रदान गर्छ । यसलाई इन्टरनेट प्रोटोकल टेलिभिजनका रुपमा पनि बुझ्न सकिन्छ । पहिले एनालग ब्रोडकास्टका माध्यमबाट टिभी हेर्न सकिन्थ्यो भने अब इन्टरनेटका माध्यमबाट हेर्न सकिन्छ । आइपिटिभीले मोबाइलमै वा घरको टिभी उच्च गुणस्तरको टिभी वा भिडिओ सुविधा प्रदान गर्दछ । विश्वमा कतिपय देशहरुले आइपिटिभीमार्फत नै फोर के रिजोलुसनमा भिडिओ हेर्ने सुबिधा प्रदान गरिरहेका छन् ।