सत्ता-सम्बन्धमा दरारसँगै यति ग्रुप संकटमा: हिमालयको सेयर बेच्यो, बुटिक होटल खुलेन
काठमाडौं । ‘व्यवसाय गर्न ठिक छैन । सरकारबाट सहयोग नै छैन’ यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना साथी सर्कलमा बारम्बार दोहोर्याउने भनाई हो यो । उनी अर्बौ सम्पत्तिका मालिक हुन् । उनी र उनको परिवार सदस्यहरुले एक दर्जनभन्दा बढी कम्पनीहरु सञ्चालन गरिरहेका छन् । एति एयरलाईन्स, तारा एयरलाईन्स, थामर्सेकु ट्रेकिङ, यति माउन्टेन होम उनको ठूला कम्पनी हुन् । पर्यटकीय क्षेत्र पोखरा, चितवन, सगरमाथा, अन्नपूर्णसहित हिमाली क्षेत्रमा थुप्रै पर्यटकीय होटल तथा लजहरु चलाउन्छन् । कसरा, केर एण्ड डोउनी लगायत रिसोर्टहरुमा पनि चलाएका छन् । निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्ट यहि ग्रुपले लिजमा लिएको हो । घरजग्गादेखि होटलसेवा क्षेत्रमा समेत यति ग्रुपको ठूलो लगानी छ । विभिन्न क्षेत्रमा ठूलो लगानीका साथसाथै सेवा पनि विस्तार गर्दै आएको छ । पछिल्लो समय पर्यटकीय सेवा क्षेत्रबाहेक घरजग्गा व्यवसायमा पनि यति ग्रुपको ठूलो लगानी रहेको छ । थामसेर्कु डेभलपर्सको नाममा राजधानीको ठमेल, दरवार मार्गमा ठूला ठूला विजनेश कम्प्लेक्स बनाएका छन् । एउटै पुस्ताले विस्तार गरेको यति ठूलो विजनेश हुँदा हुँदै पनि सोनाम र उनको परिवार सन्तुष्टि छैनन्, बढो तनाव बोकेर हिडिरहेका छन् । फ्लाई यतिमार्फत अन्तराष्ट्रिय उडानमा उनीहरु असफल भए र अन्तराष्ट्रिय उडान बन्द गरे । ठूलै लगानीमा फ्लाई यति सञ्चालनमा आएको थियो । तर अन्तराष्ट्रिय उडानमा अन्य व्यवसाय जति फस्टाउन नसकेपछि त्यो व्यवसायबाट उनले हात धुनु पर्यो । बरु त्यसको सट्टामा अन्य व्यापार व्यवसाय सुरु गरे । फलाई यति बन्द भएपछि चिनियाँ लगानीकर्तासँगको साझेदारीमा हिमालय एयरलाइन्स चलाए । यसमा पनि यति एयरलाइन्सले ठूलो घाटा खायो । निरन्तर तीन वर्षसम्म कम्पनी घाटामा गएपछि र बजार विस्तारमा पनि असफलता भोगेपछि उसले आफ्नो १६ प्रतिशत सेयर बेचेर बहुमत सेयरसहित व्यवस्थापनकी जिम्मेवारी चिनियाँ लगानीकर्तालाई सुम्पिएको छ । हिमालय एयरलाइन्सकाे नयाँ सञ्चालक समिति शुरुमा यति एयर कम्पनी अन्तरगतको यति वल्र्ड इन्भेष्टमेन्टको शेयर बाहुल्यता थियो । हिमालयमा यतिको ५१ दशमलव ०१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत शेयर हिस्सा थियो । अहिले यतिको ३५ प्रतिशत छ भने ६५ प्रतिशत शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लिएको छ । शुरुमा हिमालय एयरलाइन्सको सम्पूर्ण व्यवस्थापन यति इन्भेष्टमेन्टले समालेको थियो । अध्यक्ष आङछिरिङ शेर्पा थिए भने कार्यकारी उपाध्यक्ष विजय श्रेष्ठ थिए । अहिले हिमालयको सम्पूर्ण व्यवस्थापन चिनियाँ लगानीकर्ताले लिएका छन् । ज्यु एनयोङ्ग अध्यक्ष र क्याप्टेन हाओ डी उपाध्यक्ष रहेको कम्पनी सञ्चालक समितिमा यति एयरका तर्फबाट विजय श्रेष्ठ मात्र रहेका छन् । हिमालयमा मात्र होइन, पछिल्लो समय यति ग्रुपले लगानी गरेको यति एयरलाइन्स, होटल, विजनेश कम्प्लेक्स, मिडिया लगायतको विजनेश संकटतर्फ धकेलिएको छ । यति ग्रुपले काठमाडौंको लैनचौरमा सात तारेस्तरको ‘बुटिक होटल’ गर्ने भनेर ठूलो भवन बनायो । तर होटल सञ्चालन गर्न असफल भयो । सँगै देखिएको विल्डिङ बुटिक होटल खोल्न भनेर बनाइएको हो । बीचमा यो भवन एनसेलले भाडामा लिने सहमति भएको थियो । उक्त सहमति एकाएक भाँडिएपछि एनसेल नयाँ भवनको खोजीमा गएको छ । एक अर्ब भन्दा बढी लगानीमा निर्मित यो भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । तीन दशकको सफलता गत फागुन महिनामा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा यति ग्रुपका तत्कालिन अध्यक्ष आङछिरिङ शेर्पाको समेत दुःखद निधन भयो । आङछिरिङको निधनपछि लाक्पा सोनामले यति ग्रुपको नेतृत्व गरेका छन् । आङछिरिङका छोरा नोर्बु शेपाले सोनामलाई व्यवसायमा सघाउँदै आएका छन् । थामशेर्खु ट्रेकिङ कम्पनीबाट शेर्पा परिवार विजनेशमा माथि आएको हो, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् । शक्ति केन्द्रसँग दरार करिब तीन दशकको अवधिमा २० औं अर्बका मालिक बनेको शेर्पा परिवार सधैं शक्ति केन्द्रको नजिक हुन्थ्यो । राजाको पालामा पनि निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन हात पार्न सफल यो परिवारले गणतन्त्र आएपछि पनि नेपाल ट्रष्टसँग दरबार मार्गको जग्गा लिजमा लिन सफल भयो । शक्ति केन्द्रहरुको सहयोगमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नेपालका धेरै डोमोस्टीएक एयरपोर्टको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका छन् । ठूलो होटल वा रिर्सोटमा आङछिरिङ शेर्पा प्राय शक्तिकेन्द्रका पात्रहरुसँगै भेटिन्थे । पर्यटन मन्त्रीदेखि यस क्षेत्रको प्रमुख राजनीतिक नियुक्तीमा बारम्बार शेर्पाको नाम जोडिएर आउने गरेको थियो । धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पा परिवारले दिएकोले सत्ता र शेर्पा परिवारबीचको लेनदेन खुला आँखाले देखिने लेवलमा आएको थियो । तर पछिल्लो समय शेर्पा परिवार र सत्ताबीचको सम्बन्धमा दरार आएको छ । दरबारमार्गस्थित नेपाल ट्रष्टकाे जग्गामा थामसेर्कुले बनाएको भवन विवादमा आउनुलाई यहि दरारको रुपमा हेरिएको छ ।
मासिक डेढ लाखको जागिर छोडेका युवा ६ अर्बको बजारमा जम्दै, १० वर्षकाे वारेन्टीसहित नयाँ उत्पादन ‘सिल्कवेयर’
राजन झा, निर्देशक- जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लि. छोटो अवधिमा ग्लोवल आईएमई बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक हुँदै प्रोगे्रशिभ फाइनान्स लिमिटेडको डेपुटी सीईओ बनेका थिए राजन झा । मासिक करिब डेढ लाख रुपैयाँ तलब थियो । जागिर खानेहरुको लागि रोजाईको क्षेत्र बनेको बैकिङ क्षेत्रमा अझै उनले ३० औं वर्ष काम गर्न सक्थे । लण्डनबाट एमबीए गरेका झा वाणिज्य बैंकमा सीईओ बन्ने सम्भावना छँदै थियो । सबैलाई थाहा भएकै विषय हो वाणिज्य बैंकहरुको सीईओले वार्षिक २÷३ करोड रुपैयाँ बराबर तलब सुविधा पाउँदै आएका छन् । तर झा यो संसारमा रमाउन सकेनन् । धेरै नेपाली युवामा जागिर छोडेर उद्यमी तथा व्यवसायी बन्ने चाहाना बढेको छ । त्यस मध्येका एक हुन् राजन झा । उनी बैकिङ क्षेत्रबाट बाहिरिए । उनी अहिले उद्योग तथा व्यापारको क्षेत्रमा जम्दैछन् । उनी हाल जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लिका निर्देशक हुन्, पुँजी लगानीसहित । जोनसन इन्टरनेशनलले सिल्कवेयर ब्राण्डका धारा तथा फँसिट्, स्यानीटरी, एक्सेसरी उत्पादन गर्दैछ भने इन्टरनेशनल सिमेन्ट प्रा.लिले ओम सिमेन्ट उत्पादन गर्छ । सेवा तथा व्यापारजन्य व्यवसाय भन्दा उद्योग चलाउनु नेपालको लागि कठिन मानिन्छ । तर उनी त्यसलाई ‘हेर्ने नजर’ हो भन्छन् । ‘उद्योग व्यवसायबाहेक मोटिभेटर पनि हुँ । सकारात्मक सोचका साथ हेर्ने हो भने नेपालमा औद्योगिक क्षेत्रको सम्भावना धेरै छ’ उनले भने । उद्योग नै रोज्नुको कारणबारे उनले भने ‘बैदेशिक व्यापार घाटा धेरै नै छ । त्यसलाई कम गर्न औद्योगिक विकास हुनैपर्छ ।’ उद्योगमा पैसासँगै पहिचाहन पनि जोडिएको उनले बताए । चट्याङ मास्टरको व्याङ्ग्यात्मक कवितामा भनिएको छ ‘उद्योग नखोल बाबु, पार्टी खोल’ । त्यसमा यो देशमा उद्योगीहरुले भोग्नु परेको पीडा व्यक्त गरिएको छ र नेपालमा उद्योग चलाउनु सबैभन्दा गाह्रो कामको रुपमा चित्रण गरिएको छ । तर उद्यमी राजन झा उद्योग खोलेकोमा, उद्यमी भएकोमा रमाउँछन् । ‘नेपालमा भन्दा सिरियामा बहुत धेरै गाह्रो छ विजनेश गर्न । इरानमा झन् गाह्रो । त्यहाँ भन्दा नेपालमा व्यवसाय गर्न धेरै सजिलो छ ।’ उनी परिभाषामा गए । ‘उद्यमशिलता भनेको साहासिक काम हो । जोखिम लिनुपर्छ । व्यवस्थापन राम्रो हुनुपर्छ । तत्कालिन र दीर्घकालिन योजना, नीति, रणनीति लिनुपर्छ’ छोटकरीमा बताए । राजन झा उद्योग क्षेत्रमा संलग्न भएको एक वर्ष मात्र भयो । तर उनलाई लाग्दैन कि यो क्षेत्र मेरो लागि नयाँ छ । भन्छन्–‘बैकिङ क्षेत्रमा बसेर मैले उद्योग व्यवसायलाई राम्ररी हेरेको छु । ओल्टाईपल्टाई हेरेको छु । शून्यबाट ठूलो उद्योग भएको पनि हेरेको छु । ठूलो उद्योग शून्यमा झरेको पनि देखेको छु । बैंकका ऋणिहरु को कहाँ चुके, हामी बैंकमा बसेर राम्ररी देखेका छौं ।’ विश्वविद्यालयका प्राध्यापकले राजनीति सिकाउँछन् तर राजनीति गर्न वा सत्ता चलाउन जान्दैनन् । समाचार कसरी लेख्ने भनेर पत्रकारका गुरुहरुले सिकाउँछन् तर उनीहरु आफै गज्जब राम्रो समाचार लेख्न सक्दैनन्, जान्दैनन । बैंकर्सले कसरी उद्योग चलाउन सक्छ ? हामीले प्रश्न गर्यौ । प्रश्नमा उद्यमी झा सहमत भए । र, थपे–‘नजरिया पनि हो । हामीले विश्लेषण गरेका छौं । मैले मेरो क्षमता बुझ्ने प्रयास गरेको छु । जे सोच्छौं, त्यो गर्न सक्छौं । थ्याङ्स गड (भगवानलाई धन्यवाद) । एक वर्षमा मैले जे गर्न प्रयास गरे, त्यसमा म सफल भएँ ।’ मौका मिलेसम्म अरुलाई उत्प्रेरणा दिने झाले आफैलाई प्रेरित गरे । ‘आफूलाई बुझौ । भ्रमबाट बाहिर निष्कौं । विनासर्त खुशी हुने प्रयास गरौं ।’ सिमेन्ट उद्यमी राजन झा इन्टरनेशनल सिमेन्ट प्रा.लिका सञ्चाकल हुन् । एक वर्ष भयो ओम सिमेन्टको सञ्चालक भएको । विरगञ्जमा रहेको यो उद्योगले ओम ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । ‘सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर भएको छ । यो अवस्थामा आएको नयाँ कम्पनीले राम्रो नतिजा दिईरहेको छ’ उनले भने । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट उद्योगको क्षमता छ । ओपीसी, पीपीसी सहित दैनिक करिब १० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उनले जानकारी दिए । निर्माण क्षेत्रका काम बन्द जस्तै छ । सिमेन्ट र स्टीलको बिक्री घटेको छ । मूल्य पनि घटेको छ । तर झा निरास छैनन् । सरकारले बिटुमिन सडकको सट्टा कंक्रिट सडक बनाउन जोड दिने हो सिमेन्ट तथा स्टील उद्योग फस्टाउने उनको तर्क छ । भारत लगायत विकसित देशमा पनि कंक्रिट रोडको प्रयोग बढ्दैछ । यस्तो सडकको आयु पनि बढी हुन्छ । त्यस्तै, वायु प्रदुषण कम हुन्छ । यस्तो सडकमा गुड्ने सवारीको टायरको आयु भने छोटो हुनेछ । ‘सिमेन्ट उद्योगको लागि तत्कालका लागि केही कठिन छ तर भविष्य राम्रो देख्छु’ उनी आशावादी भए । सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगमा विदेशी लगानीको विरोध गरिरहेको छ । विदेशी लगानीले नेपालीको लगानी जोखिममा परेको धारणा पनि आईरहेको छ । राजन झा पनि यस संघको कार्यसमितिको सदस्य हुन् । भन्छन्–‘नेपालीहरुको लगानीले नै सिमेन्ट उद्योगमा हामी आत्मनिर्भर भएका छौं भने विदेशी लगानी आवश्यक पर्दैन ।’ ढुवानी लागत बढी हुने भएकोले सिमेन्ट निर्यात गर्न पनि नसकिने उनले बताए । दुई वर्षअघि ओपीसी सिमेन्टको मूल्य प्रति बोरा ९०० रुपैयाँ माथि थियो । पीसीसी सिमेन्टको मूल्य ८०० भन्दा माथि थियो । अहिले ओपीसी ७०० र पीसीसी ६०० रुपैयाँमा झरेको छ । प्रतिस्पर्धाले उपभोक्तालाई लाभ पुगेको छ तर अवस्था यहि रह्यो भने सिमेन्ट उद्योगमा लगानी भएको पुँजी डुब्ने उनको बुझाई छ । ध्यान ६ अर्बको बजारमा केन्द्रीत युवा उद्यमी झा सिमेन्ट उद्योगमा मात्र सीमित छैनन् । उनले ‘सिल्कवेयर’ ब्राण्डका धारा उत्पादन थालेका छन् । घर तथा अफिसका किचेन, वासरुम, वाथरुममा प्रयोग हुने धाराहरु बजारमा ल्याईसकेका छन् । ‘हामीले काम थालेको ३ वर्ष भयो । जोनसन इन्टरनेशनलले उत्पादन गरेको सिल्कवेयर बजारमा उपलब्ध भईसकेको छ । औपचारिक रुपमा सार्वजनिक गरिएको छैन’ उनले भने–‘जोनसन इन्टरनेशनलले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाइसकेको छ ।’ सिल्कवेयर ब्राण्डका सामानमा १० वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको, १० वर्षभन्दा अघि बिग्रियो भने ७२ घण्टाभित्र नयाँ दिएर पुरानो फिर्ता लिने सुविधा ग्राहकलाई दिएको उनले बताए । जापानीज टेक्टोलोजिमा स्पाण्डल बनाईएको, जर्मन टेक्नोलोजिमा यसका जाली बनाएको यी धारा नेपाली भएपनि उच्च गुणस्तरको भएको उनले बताए । ७०० देखि ८००० रुपैयाँ पर्ने धाराहरु बजारमा उपलब्ध रहेको उनले जानकारी दिए । विरगञ्जमा उद्योग भए पनि यो उत्पादन देशभर बिक्री गर्न सकिने झाले बताए । नेपालमा खपत हुने सबै धारा विदेशबाट आयात हुन्छन् । नेपाली उत्पादन सिल्कवेयर मात्र हो । ‘हामीले आयातलाई पूर्णत विस्तावित गर्न समय लाग्छ तर हामी छोटो अवधिमा बजारमा विश्वास जित्नेछौं’ झाले भने । विदेशबाट आउने जुनसुकै प्रडक्टसँग प्रतिष्पर्धा गर्न सिल्कवेयर सक्षम हुने उनले बताए । बाथरुममा प्रयोग हुने स्यानीटरी, फँसिट्, एक्सेसरी सामानको बजार वार्षिक ६ अर्ब रुपैयाँ भन्दा बढीको भएको उनको अनुमान छ । यी सबै सामान उत्पादन गर्ने क्रममा रहेको उनले बताए । सबै सामान उत्पादन भईसकेपछि बजारिकरण गर्ने उनको तयारी छ ।
एनएमबि बैंकका सेयरधनीले ५०% कमाउँदा नेपाल बैंकका लगानीकर्ता ९% मा चित्त बुझाउँदै
काठमाडौं । राम्रो कम्पनीको सेयरमा लगानी गर्दा बजार घट्दा पनि नाफा नै हुने रहेछ । तर खराब कम्पनीको सेयर छान्नु भयो भने पुर्पुरोमा हात राखेर दिग्दारी मान्नुको विकल्प छैन । करिब डेढ वर्षअगाडि उस्तै प्रकृतिका दुई बैंकको सेयरमा गरिएको लगानी र त्यसबाट लगानीकर्ताले पाएको प्रतिफलबारे तुलनात्मक विश्लेषण यहाँ गरिएको छ । २०७५ जेठमा एनएमबी बैंकले जारी गरेको एफपीओमा लगानी गर्नेले करिब ५० प्रतिशत नाफा आर्जन गरेका छन् भने २०७५ असारमा जारी गरेको नेपाल बैंकको एफपीओमा लगानी गर्नेले करिब ९ प्रतिशतको मूल्य वृद्धिमा चित्त बुझाउनु परेको छ । बैंकले २०७५ जेठमा अंकित मूल्य १०० रुपैयाँको सेयरमा प्रिमियम मूल्य २३३ रुपैयाँ थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । जसमा लगानी गर्ने लगानीकर्ताको लगानी हालसम्ममा करिब ५० प्रतिशतले वृद्धि भएको छ । एनएमबि बैंकको एफपीओमा १००० कित्ता सेयर किन्न ३ लाख ३३ हजार लगानी गर्नेहरु अहिले ४ लाख ९८ हजार ९५९ रुपैयाँको मालिक भएका छन् । १ लाख ६५ हजार ९५९ रुपैयाँ चोखो नाफा गरेका छन् । अर्थात ४९ दशमलव ८३ प्रतिशत नाफा आर्जन गरेका छन् । एफपीओ बाँडफाँडपछि बैंकले आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को लाभांश वितरण गरेको छ । एफपीओका लगानीकर्ताले बोनस सेयर मात्रै २५ प्रतिशत पाइसकेका छन् । उनीहरुले अघिल्लो वर्षको नाफाबाट १५ प्रतिशत र पछिल्लो वर्षमा १० प्रतिशत बोनस पाएका छन् । १००० कित्ता लगानी गर्ने लगानीकर्ताको १५ प्रतिशत बोनसपछि ११५० कित्ता सेयर पुगेको थियो । त्यसपछि अर्को पटकको १० प्रतिशत बोनसपछि सेयर कित्ता बढेर १२६५ पुगेको छ । कात्तिक २७ गते कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३७८ रुपैयाँमा बन्द भयो । १२६५ कित्ता सेयर अहिलेको सेयर मूल्य प्रतिकित्ता ३७८ रुपैयाँको दरले कूल चार लाख ७८ हजार १७० रुपैयाँ हुन आउँछ । बोनससँगै बैंंकले दुई वर्षमा २०.७८९५ प्रतिशत नगद लाभांश पनि वितरण गरेको छ । लगानीकर्ताले पहिलो वर्षमा बैंकले ०.७८९५ प्रतिशत र दोश्रो वर्षमा २० प्रतिशत नगद लाभांश पाएका थिए । एफपीओमा १००० कित्ता लगानी गर्ने लगानीकर्ताले दुई वर्षको नगद लाभांश मार्फत २० हजार ७८९ रुपैयाँ नगद पाइसकेका छन् । अर्को खुशीको समाचार पनि छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश सेयरधनीलाई दिने भएको छ । धेरै कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकहरुले सेयरधनीको आलोचना खेपिरहेको बेलामा एनएमबि बैंकका उच्च व्यवस्थापक र सञ्चालकहरुले लगानीकर्ताको तर्फबाट स्यावासी पाईरहेका छन्, प्रशंसा खाईरहेका छन् । नेपाल बैंकका लगानीकर्ता निराश एनएमबि बैंकको एफपीओसँगै नेपाल बैंक लिमिटेडले पनि एफपीओ जारी गर्यो । उसले २०७५ असार ०५ गतेदेखि एफपीओ बिक्रीमा राखेको थियो । बैंकले २०७५ असारमा अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य १८० रुपैयाँ थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ जारी गरेको थियो । उक्त एफपीओमा लगानी गर्ने लगानीकर्ताले अहिलेसम्म लाभांशको स्वाद चाख्न पाएका छैनन् । बजार मूल्य पनि खासै वृद्धि भएको छैन । बुधबार नेपाल बैंकको सेयर कारोबार बन्द हुँदा प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको छ । १००० कित्ता सेयर किन्नले २ लाख ८० हजार रुपैयाँ लगानी गरेको थिए । अहिले बेच्दा ३ लाख ५ हजार आउँछ । अर्थात सेयरको भ्यालु जम्मा ८.९३ प्रतिशतले मात्र वृद्धि भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश बाढ्ने जनाएको छ । यस बैंंकका सेयरधनीले २३ वर्षपछि लाभांश पाउँदैछन् । तर साधारणसभा र लाभांशको टुङ्गो लाग्न बाँकी छ । सँगसँगै जसो एफपीओ बिक्री गरेका र बजारमा पनि ३०० भन्दामाथि सेयर मूल्य रहेका यी दुई बैंकको सेयर भ्यालुमा झण्डै ४१ प्रतिशतको अन्तर छ । नेपाल बैंकको तुलनामा एनएमबि बैंकको एफपीओ मूल्य र हालको सेयर मूल्य दुबै बढी भएकाले सेयर भ्यालूमा उक्त भिन्नता देखिएको भन्ने लाग्न सक्छ तर यस कारणले मात्र होइन । कुनै कम्पनीको सेयर भ्यालु बढ्नुमा उसले दिएको लाभांशको पनि ठूलो भूमिका हुन्छ । नेपाल बैंकले हालसम्म बोनस सेयर त परै जाओस् नगद लाभांश समेत सेयरधनीलाई दिएको छैन । यसकारणले कम्पनीको सेयर भ्यालु एनएमबि बैंकको भन्दा कम भएको हो । एनएमबिले दुई वर्षमा कूल २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गरेकाले बैंकको सेयर भ्यालू ५० प्रतिशतले बढ्न पुगेको हो ।