कहिले अन्त्य होला बाढीपीडितको पालको बास ?
जाजरकोट, ८ भदौ । न औषधि खाने पैसा छ, न त राम्रोसँग बस्ने बास र गाँस नै छ । २०७१ भदौ २९ गतेदेखि सुर्खेतको गिरीखोला र भेरीमा आएको बाढीले सुर्खेतको हरिहरपुर–५ का १३९ घरधुरीको उठिवास नै लगाएपछि उनीहरु पालमा बसिरहेका छन् । बिरामी भएमा औषधि खानको लागि र बिहान बेलुका छाक टार्नका लागि समेत भगवान् नै पुकार्नु पर्ने अवस्था छ । जिन्दगी जीउन र परिवार पाल्नका लागि पालमा बस्दै आएका वृद्धदेखि युवासम्म गिट्टी कुट्ने तथा अन्य सामान्य काम गर्दै आएका छन् । त्यसबर्ष भदौ २९ गते राति आएको बाढी र त्यसैमा बगेको परिवार झलझली सम्झिरहन्छु अहिलेसम्म पनि, सुतिरहेका बेला घरबाट बगेर उर्लेको भेरीमा पौडी खेल्दै आफू पनि बाँचे परिवार पनि बचाएँ, यति दुःखद् जीवन बिताउन लेखेको रैछ, त्यसैले बाँचियो, नत्र उही कालो दिनमा मेरो जीवनको अन्त्य भइसकेको हुन्थ्यो, त्यही अस्थायी शिविरमा बस्दै आएकी सुमित्रा सुनारले विगत कोट्याउँदै भने । सुमित्राको सरकारसँग आश पनि मरेको छैन र सरकारसँग गुनासो भने छँदैछ । सरकारले दिने भनेको रु ५० हजार पनि दर्तावाला जग्गा खरिद पछि मात्र दिने भन्ने कुराले समस्या पारेको छ । रु ५० हजारले कहाँ दर्तावाला जग्गा किन्न आउँछ, सरकार आफैँले किनेर हामीलाई दिए भैगो सुमित्राको सरकारलाई प्रश्न छ ? शिविरमा बसेर पढ्ने बालबालिकालाई आवश्यक कापी, कलम र पोसाक किन्ने समस्याले गर्दा निकै सताउने गरेको कक्षा ५ मा पढ्दै गरेकी सविना नेपालीले पीडा सुनाउनुभयो । सविनाले भने – ”जेठो दाजु भारत जानुभएको छ, भाउजुले दाजुलाई र हामीलाई छोडेर अन्तै गइसक्नुभयो, आमाले गिट्टी कुटेर परिवारको खाना खर्च र हामी भाइबहिनीको पढाइ खर्च जेनतेन चलाउनुभएको छ ।” कोही चिटिक्क परेको मानिसको समूह र गाडी बस्ती वा स्कुलमा आए भने केही राहत ल्याएकाछन् र दिन्छन् की भन्ने आश लाग्छ, उनले थपे । उनले स्कुलमा भोग्नुपरेको समस्याका विषयमा पनि बताए । स्कुल पनि पालले ढाकिएको छ, घाम लाग्यो भने पसिनाले लुथ्रुक्क पार्छ, पानी प¥यो भने चुहिएर पानीले लुथ्रुक्क पार्छ, सबै विद्यार्थीको साझा समस्या हो, उनले भने, “शिविरको पालमा अँध्यारो छ, बत्ती छैन, खाना पकाउने बेलामा धुँवा हुन्छ, पढ्ने वातावरण केही गरी मिल्दैन ।” कक्षा ५ मै अध्ययनरत राधिका नेपालीले भने– “पाल पनि च्यात्तिएको छ, न सिलाउन मिल्छ, पानी चुहिन्छ । कहिले बाघले सताउँछ, कहिले सर्पले दुःख दिन्छ । यत्रो दुःख भोग्न थालेको दुई वर्ष पुगिसक्यो सरकारले हामीलाई नजिकबाट किन हेर्दैन ? ” राधिकाको पनि बाबाआमा दुवै भारत गएका छन् उनी अहिले शिविरमा हजुरआमासँग बस्दै आएकी छन् । पढ्ने लेख्ने उमेरमा शिविरमा बस्दै आएका सबै बालबालिका पढाइको चिन्ताभन्दा पनि दाउरा र गिट्टी कुट्ने काममा लाग्नु परेको छ । दुईवर्षसम्म कसैले केही हेरेनन् तर अझै पनि उनीहरुको आश भने मरेको छैन । रासस
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले रियो ओलम्पिकमा
काठमाडौं, ६ भदौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भएका छन् । ओलम्पिकमा सहभागी भएर घलेले नेपाली खेलाडीको हौसला बढाएका हुन् । अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत भएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना समेत दिएका थिए । साथै उनले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल पनि गरेका थिए । अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिए । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उनले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा रहेको दावी समेत गरेका थिए । यसैबिच, घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिलको बिशेष साधारणसभालाई सम्बोधन पनि गरेका थिए ।
रुट परमिट विनाका सवारी रोकिदा यात्रु समस्यामा
काठमाडौं, ५ भदौ । रुट परमिट विना गाडि चलाउँने गरेको पाइएपछि प्रहरीले निगरानी गर्न थालेपछि सवारी साधन रोकिने र यात्रु समस्या पर्न थालेका छन् । गत साता काभ्रेमा भएको यात्रु वस दुर्घटनामा ठूलो मानवीय क्षति भएपनि प्रहरीले यात्रुवाहक सवारीको रुट परमिटमा निगरागनी गर्न थालेको हो । प्रहरी निगरानीकै कारण दोलखाका गाउँ–गाउँ जाने बस सेवा शनिबारदेखि बन्द भएपछि यात्रु अलपत्र परेका छन् । रुट परमिट नभएका ठाउँमा प्रहरीले बस सेवा सञ्चालन गर्न नदिएपछि यात्रु अलपत्र परेका उल्लेख छ । जिल्ला प्रहरी कार्यालय दोलखाले शुक्रबार यातायात व्यवसायी समितिसँग बैठक बसी शनिबारदेखि रुट परमिट नभएका गाडी रोक्ने सहमति गरेको थियो । सरकारी निर्णयअनुसार रुट परमिट नभएका सवारी साधन रोक्ने सहमति गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । प्रहरीले गाडी रोकपछि दोलखाको उत्तरी क्षेत्र सिंगटीतिर जाने बस शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय दोलखा अगाडि रोकिएका छन् । बस सेवा रोकिएपछि सिंगटी आसपासका क्षेत्र जाने हजारौं यात्रु अलपत्र परेका छन् । चरिकोटदेखि लामाबगरसम्मको ६८ किलोमिटर सडकमा यातायात व्यवस्था विभागले परमिट जारी गरेको छैन । काठमाडौंबाट सिंगटी क्षेत्रमा मात्र दैनिक २५ भन्दा बढी बस चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । दोलखामा चल्ने गाडीलाई काठमाडौं–जिरीको मात्र रुट परमिट छ । परमिट नभएका गाडी श्रम तथा यातायातमन्त्री रमेश लेखकको अध्यक्षतामा प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधिहरूबीच भएको बैठकले रोक्ने निर्णय गरेको थियो । सोही निर्णयको परिपत्रको आधारमा गाडी रोक्नुपरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख बेलबहादुर पाण्डेले बताए । रुट परमिट बिनाका गाडी रोकिँदा चरिकोटदेखि दोलखाको उत्तरी क्षेत्रका २४ गाविस प्रभावित भएका छन् । त्यसैगरी मैनापोखरी जुँगू, जिरी पूर्व, तामाकोसीदेखि दक्षिणका गाउँ र मुडे–देउराली चल्ने गाडी रोकिएका छन् । साउन ३१ गते अरनिको यातायातको कोसीपारी चल्ने बिर्ता देउरालीमा दुर्घटना भई २७ जनाले ज्यान गुमाएपछि रुट परमिट बिनाका गाडी रोक्ने निर्णय हो । परमिट बिनाका बसलाई मात्र रोक्दा बसहरू चरिकोट, तामाकोसी, मुडे र जिरीमा रोकिएका छन् । परमिट बिनाका गाडी रोकिँदा रामेछाप जिल्लामा केही सुमोबाहेक अरू सबै यातायात सेवा ठप्प भएका छन् । तामाकोसीदेखि खुर्कोटसम्मको ५५ किलोमिटर पक्की सडक बने पनि यातायात व्यवस्था विभागले कुनै पनि गाडीलाई परमिट दिएको छैन । समाचार स्रोत कारोबार दैनिक ।