दशैंमा पैसा पठाउनेलाई नगददेखि घरसम्मको योजना, विदेशबाट पैसा पठाउने ग्राहक तान्दै रेमिट्यान्स कम्पनी
काठमाडौं १९, असोज । चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्स प्रदायक कम्पनीहरुले उपहार योजना सर्वजनिक गरेका छन्। दशैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घरघडेरीदेखि मोटरसाइलक, स्कुटर, घरायसी, स्मार्ट फोन लगायतका उपहार ल्याएको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा छापिएको छ। सेवाप्रदायक कम्पनीले ग्राहक आकषिर्त गर्न उपहारदेखि भ्रमणसमेतका योजना सार्वजनिक गरेका छन्। असोजको सुरुदेखि छठसम्म रेमिटेन्स पठाउनलेले यो उपहार पाउनेछन् । अन्य समयभन्दा चाढपर्वमा रेमिटेन्स धेरै भित्रिने भएकाले दशैंलाई लक्षित गरी प्रायः सबै रेमिटेन्स कम्पनीले उपहार योजना ल्याउने गरेका हुन् । वैधानिक माध्यमबाट नेपालमा रेमिटेन्स भित्र्याउन ग्राहकलाई प्रोत्साहन गर्ने उदेश्यलेघडेरी उपहार घोषणा गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलले बताए ।
पुनर्निर्माणमा सांसद परिचालित हुने, भूकम्पप्रभावित जिल्लामा पुनर्निमाणको अगुवाई लिने काम संसदले गर्ने
काठमाडौं १९, असोज । पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्मा भूकम्प प्रभावित जिल्लाका सांसदहरुलाई पनि परिचालित गरिने भएको छ । मंगलबार बसेको परिषद्को बैठकले प्रभावित जिल्लाका सांसदमध्ये समावेशी सिद्धान्तका आधारमा १४ सांसद्लाई सदस्य मनोनीत गर्ने जिम्मेवारी प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यसअघि नै सांसदहरू मनोनयन गर्ने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन । ‘नीतिगत निर्णय भएर पनि सांसदहरूको छनोट भएको थिएन,’ प्रधानमन्त्रीले भने, ‘अब छिटै मनोनयन हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले ४५ दिने अभियानअन्तर्गत जनतालाई आवास अनुदान वितरण गर्ने काम सन्तोषजनक नै भएको पनि बताए । उनले आफूले भूकम्पपीडितलाई राहत दिने विषयमा पहिलेदेखि नै आफू संवेदनशील भएको भन्दै पुनर्निर्माणमा थप गति दिनुपर्नेमा जोड दिए । बैठकले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठनका लागि प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले आवश्यक परामर्शपछि सहजीकरण समितिको गठन गर्ने बताए । ‘यो समिति छिटै गठन गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने । सहजीकरण समितिमा बढीमा ११ जना सदस्य रहने व्यवस्था छ ।
एनसेलले ल्यायो डे डेटा प्याक अफर, ईन्टरनेट अब १३ पैसा प्रति एमबिमा प्रयोग गर्न सकिने
काठमाडौं, १८ असोज । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रति एमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यो योजना यही बुधबार (असोज १९, २०७३) बाट लागु हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । १०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले रु २० मा खरिद गरी प्रति एमबि २० पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक रु ८० मा खरिद गर्न सक्छने र प्रति एमबि १६ पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । ग्राहकले २००० एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक रु २५० मा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्छन् । यी डे डेटा प्याकका मुल्यहरु कर बाहेकका हुन् । ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् । यसरी ग्राहकले आफ्नो आवश्यकता अनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा अझ सुलभ दरमा ईन्टरनेट चलाउनका लागि यो अफरबाट फाईदा लिन सक्छन् । “चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ ।, ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि सकिए पछि हाल लाग्दै आएको कर बाहेक रु ३ प्रति एमबि शुल्क लागु हुनेछ । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।