सिटिजन्स बैंकद्धारा २७७२ परिवारलाई ३ करोड ४३ लाख नगद वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७७२ परिवारलाई कूल ३ करोड ४३ लाख रुपैयाँ वितरण गरेको छ । बैंकले धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा उक्त परिवारलाई सो मात्राको नगद वितरण गरेको हो । विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिल्फिकोे सहकार्यमा पुस १३ देखि २० गतेसम्म गरी ८ दिनसम्म उक्त कार्यक्रम संचालन गरिएको थियो । विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रवाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बताएका छन् ।
बाढीपीडितलाई राहतका लागि १अर्ब बढीको अख्तियारी
काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन राहतका लागि १अर्ब ४ करोड ६ लाख ५० हजारको अख्तियारी दिएको छ । बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६२६ घरधुरीलाई प्रतिपरिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भुसालले जानकारी दिए । प्राधिकरण अन्र्तगतको बाढी पुनः निर्माण तथा पुनः स्थापना आयोजना प्रमुख डा सुमन कर्णले तराईमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहतस्वरुप भोलिदेखि नै प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम वितरणको प्रक्रिया शुरु गरिने बताए । आयोजना प्रमुख डा कर्णका अनुसार बाढीपछिको पुनः स्थापना आवश्यकता आङ्कलन प्रतिवेदनअनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६२६ घरधुरीलाई क्षति भएका घर निर्माणबापत भविष्यमा उपलब्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गर्ने गरी रकम वितरण गर्न लागिएको हो । राहत वितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । रासस
काठमाडौंको तापक्रम शून्य डिग्रीमा, चिसो अझै बढ्ने अनुमान
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौंको आइतबारको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौंको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो । उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार आइतबार पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा कम जुम्लामा आज ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ । रासस