कवाडका सामान टिप्नेभन्दै चोरी गर्ने ‘चल्ला ग्याङ’ पक्राउ

काठमाडौं । उपत्यकामा कवाडका सामानहरु संकलन गर्ने बहानामा घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । घरका ढोका तथा झ्याल फोडेर नगद, सुनचाँदीका गरगहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न चल्ला भन्ने समूहका ७ जनालाई चोरीका सामान सहित महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट बिभिन्न ब्राण्डका मोवाईल ४ थान, बिभिन्न कम्पनीका घडी ३ थान र चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा कवाडीका सामान संकलन गरी काठमाडौं महागरपालिका–९ तिलगंगा बस्नेहरु भारत बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, समस्तीपुरकै १८ वर्षीय केतुल पोदार, समस्तीपुरकै १९ वर्षीय चन्तन पोदार, भारत मोतिहारी मजंफपुरका १८ वर्षीय मुकेशकुमार पोदार, भारत बिहार हाजिपुरका १८ वर्षीय सुरज पोदार, हाजीपुरकै १८ वर्षीय बिकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बाराको निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी रहेका छन् । अभियुक्तहरुमध्ये मुकेशकुमार २०७३ बैशाख ८ गते चोरी मुद्धामा ९३ हजार रुपैयाँ धरौटीमा तथा निज राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्धामा ३ हजार रुपैयाँ धरौटीमा जेलबाट छुटेका व्यक्तिहरु भएको खुल्न आएको छ । भारतमा चोरी गर्ने समूह बनाई नेपाल आउने र गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने, घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रबेश गर्ने, कवाड टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एकजनाले निगरानी गर्ने तथा अन्यले घरभित्र चोरी गर्ने, तत्काल भारततर्फ फरार हुने, चोरीको पैसाबाट जाँडरक्सी खाने तथा भारतमा जग्गा जमिन किनेर घर बनाउने, चोरीका सामानहरु भारतीय बजारमा बिक्री समेत गर्ने गरेको र उनीहरू १०/१२ बर्षकै उमेरदेखि चोरी कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको सो महाशाखाले जनाएको छ । अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र उनीहरुका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी महाशाखाले जनाएको छ ।

नौ महिनामा १० लाखले गरे शाश्वतधामको अवलोकन, यस्तो छ विशेषता

नवलपरासी । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम नौ महिनाको अवधिमा १० लाख भक्तजनले अवलोकन गरेका छन् । पुस १ गते शनिवार बिहान ११ बजे मन्दिर प्रवेश गरेका सिराहाका १४ वर्षीय मनिश सामल मगर शाश्वतधाममा आउने १० लाख औं दर्शनार्थी बनेका छन् । सिराहाको गोलबजार नगरपालिकास्थित एक विद्यालयबाट ११ जनाको समूहसहित शैक्षिक भ्रमणमा आएका मगरलाई मूल प्रवेशद्वारमा रहेको स्वचालित मेसिनले धाममा प्रवेश गर्ने १० लाख औं व्यक्तिका रुपमा गणना गरेको हो । मगरसहितका ११ जनालाई शाश्वतधाममा शनिबार पञ्जेबाजा र फूलमालाले विशेष सम्मान गर्नुका साथै उपहार पनि प्रदान गरियो । शाश्वतधाम व्यवस्थापनका अधिकारीहरुले उनीहरुलाई सम्मान गरेका थिए । पूर्वपश्चिम राजमार्गस्थित चौधरी उद्योग ग्रामसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एक मात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । ‘शाश्वतधाममा भक्तजनको आकर्षण देख्दा खुसी लागेको छ’ – धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने – ‘यस धामलाई थप आकर्षक बनाउने हाम्रो प्रयास जारी रहनेछ ।’ पिता लुंकरणदास चौधरीले वि.सं. २०५९ फागुन महिनामा शिलान्यास गरेको शाश्वत धाम निर्माणको अभिभारा विनोद चौधरीले वि.सं. २०७३ फागुन महिनामा पूरा गरेका थिए । विभिन्न धर्मका धर्मगुरुहरु, विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण माझ आर्ट अफ लिभिङका संस्थापक  रविशंकरले २०७३ साल फागुन २४ गते एकम्वरेश्वर शिव मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही दिन शाश्वत धामको विधिवत् उद्घाटन गरेसँगै सर्वसाधारणका लागि खुला गरिएको थियो । सुरुवातीकै दिनदेखि उल्लेख्य मात्रामा मानिसहरु मन्दिर भ्रमणका लागि आउने गरेका छन् । नेपाली नववर्ष अर्थात् गत वैशाख १ गते एकै दिन तीस हजार छ सय ४१ जनाले शाश्वतधामको भ्रमण गरेका थिए । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा पानीको फोहोरा चलाउँदा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र एउटा ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ रहेका अर्गानिक फार्म, अर्गानिक भोजनालय, आवासीय सुविधासहितको योग तथा ध्यान केन्द्र आदिको भरपूर उपयोग गर्न पाइने हुनाले यस मनमोहक स्थानमा पुग्ने जो कोहीले थकान र तनावबाट मुक्ति पाई आत्मिक शान्तिको महसुस गर्न पाउँछन् । आधुनिक भौतिकवादी युगमा लोप हुँदै गएको सनातन धर्मको महत्व जोगाउन र मन्दिरमा दैनिक पूजाआजा तथा वैदिक कर्मकाण्ड अभ्यास गर्न शंकराचार्यकै सुझाव बमोजिम यहाँ स्थापना गरिएको गुरुकुल अहिले वैदिक कर्मकाण्ड अध्ययनको थलो बनेको छ । यसका साथै काञ्ची कामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफ लिभिङ लगायतका धार्मिक संघ संस्थासँग समन्वय गरी नेपालमा सनातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वत धामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । शाश्वत धाम स्थापनाको उद्देश्य सनातन धर्मको संरक्षण र सम्वद्र्धन गर्नु मात्र नभई ज्ञान, भक्ति, कर्म र राजयोगमार्फत् मानिसमा शारीरिक तन्दुरुस्ती, आध्यात्मिक चेतना र आत्मिक शान्ति दिलाउनु पनि भएको धाम व्यवस्थापनले जनाएको छ । यहाँ पुग्ने जो कोहीले आफूलाई ईश्वरीय सेवा, साधना र सत्संगमा सरिक गराउन पाउँछन् । शाश्वतधाम पछिल्लो समयमा शैक्षिक भ्रमणको गन्तव्यस्थलका रुपमा समेत विकास हुँदै गएको छ । शनिबार र बिदाका दिन यहाँ मानिसहरुको भीड नै लाग्ने गरेको छ । विवाह, व्रतबन्ध र अन्य पूजाआजाका लागि पनि मानिसहरु शाश्वतधाममा आउने आउने क्रम बढ्दै गएको छ ।

पोखरा राइनोजमा ३ विदेशी खेलाडी समावेश, समुहबाट खेल्ने उत्कृष्ट प्रतिस्पर्धीको चयन

पोखरा । टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोजले आफ्नो तयारी जोडटोडका साथ गरिरहेको छ । नेपालको ईतिहासमै सबै भन्दा विशालक्रिकेट महोत्सवका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ विदेशी खेलाडी समेत समावेश गराइसकेको जानकारी दिइएको छ । समुहले विदेशी खेलाडी इसरार उल्लाह, अलीआशिफ र ताजवाली समुहमा अनुबन्धित गरेको हाे । चयन गरिएका तीनै खेलाडी पाकिस्तानी मुलका रहेका छन् । खेलाडीमध्य ईसरार उल्लाह ३० बर्षिय पाकिस्तानी खेलाडी हुन् । क बर्गका खेलाडी मध्य पर्ने उल्लाह पेशावरका लागि खेल्छन् । त्यसैगरी, अलीआशिफ २६ बर्षिय पाकिस्तानी खेलाडी हुन् । उनी ईस्लामाबाद युनाइटेडका लागि खेल खेल्ने गर्थे भने ताजवाली पनि पाकिस्तानको क बर्गकै खेलाडी मध्य पर्छन् । सन् २०१५–१६मा आयोजित काजी–ई–ट्रफीको चौथौँ राउण्डको पाकिस्तानमा आयोजित फस्र्ट क्लास डोमेस्टिक क्रिकेटमा उनी २० बर्षको अन्तरालमा ४ बलमा ४ विकेटलिने पहिलो खेलाडी समेत बनेका थिए । उनी लेफ्ट ह्याण्ड्स ब्याट्सम्यान हुन् । खेलमा उत्कृष्टता तथा स्वदेशी खिलाडीलाई समेत समानअवसर प्रदानगर्ने सोचका साथ समुहले केही समय अगाडी पोखरामा ट्यालेन्ट हन्ट सञ्चालन गरेको थियो । विभिन्न चरणको प्रतिस्पर्धा मार्फत समुहले १ सय २० बाट २४ र २४बाट उत्कृष्ट ७को छनोट गरेको थियो । यसरी छनोटमा परेका खेलाडीबाट समेत पोखरा राइनोज्ले प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्ट खेलाडीहरुको छनोट सम्पन्न गरी खेलाका लागि १६ बर्षिय देव शाह छनोट गरी सकेको जानकारी दिएको छ । उनी नेपालमा नै पहिलो लेफ्त आर्म इस्पीइनर चाइनाम्यान हुन् । पोखरा राइनोज समुहमा यस पटक शक्तिगौचन, विनोद भण्डारी, विक्रम सोब, विपिनखत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिलधमला, सौरभ खनाल, सन्तोष भट्ट, सुशनभारी, इसरार उल्लाह, अलीआसिफ, ताजवाली र देव शाह रहेका छन् ।