माछापुच्छ्रे बैंकद्धारा कैलालीमा खाद्य तथा पोषाक वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३मा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार(आज) उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई बैंककाे धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ । बैंकले हालसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
रेडक्रस सोसाइटी र आईसीआरसीबीच सहयोग सम्झौता सम्पन्न
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौता भएको छ । उक्त सम्झौता बुधबार(आज) रेडक्रस केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सम्झौतामा रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र आईसीआरसीका तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्म अनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारिक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि करीब ९० लाख रुपैयाँ उपलब्ध गराउने नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले आईसीआरसीको नेपाल भित्र फिल्ड कार्यालय नभएको अवस्थामा पनि रेडक्रस सोसाइटी र अन्तराष्ट्रिय महासंघको सहयोगमा विशेष कार्यदलले काम गरिरहेको बताएका छन् । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मुलुक परिवर्तनतर्फ लम्किरहेको अवस्थामा पारिवारिक सम्पर्कको पुनस्थापना र संगठनात्मक आधार सुदृढीकरणमा क्षमता अभिवृद्धिको लागि सहयोग सम्झौता महत्वपूर्ण रहेको बताएका छन् । दशवर्षे सशस्त्र द्धन्दको समयदेखि नेपालमा आईसीआरसीको कार्यालय स्थापना भई संरक्षण र सहयोगको क्षेत्रमा कार्यरत रहेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएका अवधेशको परिवारलाई आर्थिक सहयोग
रौतहट । यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तरण भएको छ । समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनुकुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३ बिनगरा बस्ने अवधेश यादवको परिवारलाई प्रदान गरिएको हो । रौतहटका संचारकर्मी, कर्मचारी, युवा, व्यापारी, शिक्षक, राजनीतिककर्मी र संघसंस्थाबाट संकलन गरिएको ४१ हजार ११ रुपैया बिनगर टोल स्थित घरमै पुगेर अवधेशको बृद्ध अपाङ्ग बुवा रास नारायण यादवलाई कबिलासी नपाका मेयर कौशल यादव,स्थानीय प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरिक्षक बिनोद यादव, बागमती नपा १० निवासी क्रिएटिभ युथ क्लबका अध्यक्ष एवं शिक्षक ओमबहादुर कार्की लगायत दर्जनौ स्थानीयबासीहरुको रोहवरमा सहयोग रकम हस्तान्तरण गरेको रिपोर्टस क्लब नेपालका रौतहट जिल्ला अध्यक्ष पटेलले जानकारी दिए । दुईभाई छोरा मध्यको जेठो छोरा मदन रायको १२ वर्षकै उमेरमा विमारीले गर्दा जनकपुर अस्पतालमा मृत्यु भएको थियो भने पैसाको अभाव भएपछि कान्छो छोरा अवधेश गाउँमै ऋण उठाएर कतार कमाउन गएको थियो । तर भनेको काममा नलगाए पछि ४ महिनामै घर फिर्ता आइरहेका अवधेशको त्रिभुवन विमान स्थल काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएको थियो । उनीसँग प्लेनको टिकट समेत खरिद गर्न पैसा नरहेको अवस्थामा सोही ठाउँमा काम गर्ने आफनो सालोसँग सापटी पैसा लिएर घर फर्किरहेका थिए । छोराको मृत्यु पछि बेसहारा भएका अवधेशका बृद्ध अपाङ्ग बुवा सम्पत्तिको नाममा नहरको छेउमा जम्मा १० कठ्ठा जग्गा मात्र रहेको जसमा कुनै वर्ष वाली हुने र कुनै वर्ष त्यतिकै खाली रहने भने । छोराको मृत्यु पश्चात अवधेशकी श्रीमती पुनम देवी र ३ महिनाकी अबोध छोरीको लालन पोषणको भार वृद्ध अपाङ्ग बुवा माथि नै आइपरेको छ । ४ महिना बिदेश बस्दा छोराले एकपैसा पनि नपठाए पछि घर चलाउन मुस्किल परेपछि गाउँ मै थप ऋण लिएको रासनारायणले बताए । आर्थिक रकम संकलन गर्न राजपा नेपालका केन्द्रीय सदस्य बिबेककुमार यादव र फोरम नेपालका युवा नेता अरविन्दकुमार यादव लगायतले दिनरात खटेर अभियानलाई सफल बनाएको पटेलले बताए ।