कोसीटप्पु वन्यजन्तु आरक्षपीडितलाई जग्गा, पीडितका नाममा बिचौलियालाई फाइदाँ दिँदै
काठमाडौं ७, माघ । सरकारले सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षपीडितलाई सट्टाभर्नाका नाउँमा फेरि झन्डै ४० बिघा जग्गा बाँड्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बैठकले वन तथा भूसंरक्षण मन्त्रालयको प्रस्तावमा आरक्षप्रभावित २४ परिवारलाई जग्गा सट्टाभर्ना दिने निर्णय गरेको छ । यसअघि वन मन्त्रालयले गठन गरेको समितिले दिएको क्षतिपूर्तिसम्बन्धी सहज विकल्प लत्याउँदै मन्त्रिपरिषद्ले कोसीटप्पु वन्यजन्तु आरक्षका पीडितलाई मोरङ र सुनसरीमा जग्गा सट्टाभर्ना दिने निर्णय गरेको हो। पीडितका नाममा जग्गा हासिल गरी बिचौलियामार्फत फाइदा उठाउन ‘प्रपञ्च’ रचिएको उच्चसूत्रको दाबी छ। मन्त्रिपरिषद्ले कुन ठाउँमा कसरी जग्गा दिने भन्ने विषयमा मुआब्जाका लागि परेका थप निवेदनमा समेत कहाँ, कसरी दिने भन्ने निर्णय गर्न ११ सदस्यीय अधिकारसम्पन्न समितिसमेत गठन गरेको छ। समितिले छ महिनाभित्र कार्यादेशसहित २४ परिवारका अतिरिक्त कसलाई, कहाँ, कसरी जग्गा दिने भन्ने सरकारलाई सिफारिस गर्नेछ। वनमन्त्री शंकर भण्डारीले कोसीटप्पुपीडितलाई मोरङ र सुनसरीका उपयुक्त ठाउँमा जग्गा सट्टाभर्ना दिने निर्णय भएको स्विकारे। ‘२४ परिवारलाई मोरङ र सुनसरीमा उपयुक्त ठाउँमा जग्गा दिने निर्णय भइसकेको छ,’ वनमन्त्री भण्डारीले नागरिकसँग भने, ‘कहाँ, कसरी दिने भन्ने मापदण्ड र २४ बाहेकका थप निवेदकलाई के गर्ने समितिले तय गर्नेछ।’ मन्त्रिपरिषद् स्रोतअनुसार समाधानउन्मुख विषयलाई पुनः सट्टाभर्ना दिँदा अन्यत्र पनि समस्या बढ्ने भन्दै मुख्यसचिव सोमलाल सुवेदीले वन मन्त्रालयले ल्याएको उक्त प्रस्ताव रोकेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पुनः उक्त प्रस्ताव अघि बढाउन भनेपछि मुख्यसचिव सुवेदीले सरकार फेरिएपिच्छे कोसीटप्पुको मुआब्जा विवाद उठिराख्ने तर समाधान नहुने भन्दै यसअघि लिइएको निर्णय नै कार्यान्वयन गर्न सुझाएका थिए। नागरिक दैनिकबाट ।
राष्ट्रपतिकी छोरीको विवाहमा पूर्वराजा, प्रथम राष्ट्रपति, प्रथम महिला राष्ट्रपति सहभागि, राष्ट्रपति भन्दा पूर्व राजा हँसिला
काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभ विवाह सोमबार राष्ट्रपति भवनमा भव्यताका साथ सम्पन्न भएको छ । साथै यो विवाह ऐतिहासिक महत्वको भएको छ । राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम आफ्नो वरलाई औँठी लगाउँदै । गणतन्त्र स्थापनापछि राष्टपति भवनमा आयोजित यो पहिलो विवाह हो । जहाँ राष्टपति विद्यादेबी भण्डारी, पूर्व राष्टपति डा रामवरण यादव र पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । सत्ता गुमाएका राजा र राष्ट्रपतिबीच प्रत्यक्ष भएको सम्भवत यो पहिलो भेट हो । रोचक पक्ष के देखिएको छ भने उक्त विवाह समारोहमा प्रथम राष्ट्रपति डा रामवरण यादव, प्रथम महिला राष्ट्रपति विद्यादेबी भण्डारी भन्दा पुस्तौली सत्ता गुमाएका पूर्व राजा ज्ञानेन्द्र शाह प्रशन्न्, प्रफुलित र हँसिला देखिन्थे । पूर्वराजा शाहले बरबधुलाई शुभकामना तथा बधाई दिदै दुई हात जोडेर नमस्कार गरेको दृष्यले धेरैलाई आश्चर्य बनाएको थियो । राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिएकी थिइन् । विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास पुगेका थिए । विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उनका परिवार र आफन्तजनको सहभागिता थियो । वरवधुलाई बधाई तथा शुभकामना दिदै उपराष्ट्रपति नन्दबहादुर पुन । सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो । राजनीतिमा तराई र पहाडबीच तिक्तता देखिए पनि राष्ट्रपतिकी छोरी भण्डारी र पूर्व राष्ट्रपतिका नाति यादवबीच चलेको अन्तरजातिय प्रेम ऐतिहासिक विवाह हुँदै दाम्पत्य जीवनमा परिणत भएको छ । दुबै जनाले राष्ट्रपति भवनको विवाह मण्डपमा आगो साक्षी राखेर जीवनभर साथ दिने प्रण गरेका छन् । उनीहरुबीच विगत सात वर्षदेखि प्रेम सम्बन्ध रहेको बताईएको छ । (तस्बिरः रोशन सापकोटा र राष्टपति कार्यालय, रासस)
विद्यालयमै डोमलाई छोइछिटो, छुवाछूतकै विभेद कारण दलित शिक्षाबाट वञ्चित
जनकपुरधाम ३, माघ । जनकपुर उपमहानगरपालिका १ को ऐलानी जग्गामा रहेको झोपडीमा बस्ने अनिता मल्लिक डोमले आफ्ना चार छोराछोरीलाई पढाउन सक्दो प्रयत्न गरिन्। सामान्य लेखपढ गर्न आउने दुई छोरी र दुई छोरालाई अनिताले जनकपुरकै सरस्वती उच्च माध्यमिक विद्यालय तथा अन्य सरकारी विद्यालयमा पढ्न पठाइन्। तर छोराछोरीलाई कहिले शिक्षक त कहिले विद्यार्थीका अभिभावकले विद्यालयबाट घर पठाइदिएपछि वाक्कदिक्क भएर छोराछोरी पढाई ठूलो मान्छे बनाउने सपना उनले त्यागेकी छन्। ुमजदुरी गरेरै भए पनि बच्चालाई पढाउँछु भन्ने सोचेकी थिएँ। विद्यालय पठाउन कपीकलम पनि किनिदिएँ, अनिताले भनिन्, ुतर विद्यालयमा डोमका बच्चालाई अछूत भनेर हेला गरिने तथा पढ्नै नदिने वातावरण भएपछि छोराछोरी अहिले कबाड बेच्ने र फोहोर सफा गर्ने काममा लागेका छन्। उनी बस्ने मिल्स एरियाको डोम बस्तीमा कोही पनि बालबालिका विद्यालय जाँदैनन्। उनीहरू घरको काम गर्ने वा फोहोरबाट कबाड छानेर बेच्ने गर्छन्। फाइल तस्विर संविधानले कुनै व्यक्ति वा समुदायमाथि छुवाछूत गर्नुलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि तराईका डोम समुदायले छुवाछूतकै विभेदका कारण शिक्षाबाट वञ्चित हुनुपरेको छ। विद्यालयमा डोम बालबालिकालाई सँगै बस्न नदिने, केही सोध्दा पनि शिक्षकले नबताउने र अन्य बालबालिकाका अभिभावकले डोम समुदायका बालबालिका पढाए आफ्ना छोराछोरी विद्यालयबाट छुटाउनेसम्मको चेतावनी दिने गरेकाले आफ्ना बालबालिकालाई चाहेर पनि विद्यालय पठाउन गाह्रो भएको रामअधीन सदा डोम बताउँछन्। छुवाछूतकै कारण डोम, हल्खोर, मेस्तर, चमार र दुसाध जातिका बालबालिकालाई विद्यालयमा पढ्न गाह्रो हुने गरेको विनोद मेस्तरले सुनाए। नपढेकै कारण हामीले पशुकै जीवन बिताउनुपर्योु, विनोदले भने, समाजले सधैं हेला गर्यो। शौचालय सफा गर्ने, लास फाल्ने, फोहोर सफा गर्ने काम गरेरै जीवन बित्नेभो। आफ्ना छोराछोरी पढलेख गरी राम्रो काम गरून् भन्ने चाहना भए पनि पढ्न विद्यालयले स्थान दिने नगर्दा समस्या भएको विनोदले बताए। टोलैपिच्छे विद्यालय भए पनि त्यहाँ आफ्ना बालबालिकालाई अछूत भनेर पस्नसमेत नदिने गरिएकाले आफूहरूका लागि विद्यालयको केही अर्थ नै नभएको दिनेश डोमले बताए। विद्यालयको सहज पहुँच नहुँदा आफूहरूलाई पढ्नलेख्न समस्या भएको तथा अर्कोतर्फ फोहोरी भनेर समाजले हेला गर्नु निन्दनीय रहेको दिनेशको भनाइ छ। जनकपुर उपमहानगरपालिकामा मात्रै तीन सयभन्दा बढी डोम परिवार छ। तीमध्ये धेरैका बालबालिका विद्यालय जाँदैनन्। पढाइलेखाइ नहुँदा कम उमेरमै विवाह हुने र १६ वर्ष कट्न नपाउँदै बालबच्चाको बोझ बोक्नुपर्दा यो समुदायको स्वास्थ्य अवस्था पनि कमजोर हुने गरेको छ। अधिकांशको दैनिक मजदुरी गरी खानुपर्ने अवस्था रहेकाले बालबच्चालाई पनि कामकाजमै लगाउनुपर्ने उनीहरूको बाध्यता छ। अन्नपूर्ण पोस्टबाट ।