यसपालीको भ्यालेन्टाइन डे महंगो हुने, एउटा गुलावकै १०० रुपैयाँ

काठमाडौँ । यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ । एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपैंयाँसम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० रुपैंयाँसम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् । रासस

‘सोरठी’ संरक्षणमा जुट्दै म्याग्दीका मगर समुदाय

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका मगर समुदायका मानिसहरु पुख्र्यौली संस्कृतिको रुपमा चिनिने सोरठी संरक्षणमा लागेका छन् । बेनीस्थित लिटल गार्डेन एकेडेमीमा कक्षा २ मा अध्ययनरत प्रदिप पाइजाले तीन महिना अघि गाउँमा आफ्नो ठूलो बुबामार्फत पुख्र्यौली नाच सिकेका थिए । “गाउँमा हरेक कार्यक्रममा पुख्र्यौली नाच्ने चलन छ, स–सानाले पनि यस्तो नाच सिक्नुपर्छ भनेपछि मैले पनि सिकेको बताउँदै माघे संक्रान्तिको समयमा बेनीमा आयोजित कार्यक्रममा पुख्र्यौली नाच्दै गरेका पाइजाले भने । सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवर लगायतका शुभकार्यहरुमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । पहिलो पटक सार्वजनिक कार्यक्रममा मारुनीको भूमिकामा नाचेका अन्नपूर्ण गाउँपालिका–३ दानाका १६ वर्षीय युवक सन्तोष पुन मनोरञ्जन र रमाइलो सँगै पुराना संस्कृति जोगाउन आफूले नाच सिकेको बताउँछन् । अध्यक्ष थजालीले भने – भाषा, कला र संस्कृतिको संरक्षण हाम्रो पहिलो दायित्व हो । केही नयाँ पुस्ताले शीप र क्षमताको विकास पनि गरेका छन् । पुख्र्यौली संस्कृतिबारे थप तालीम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएका छन् । मगर सङ्घले दुई वर्ष अघि बेनीमा पुख्र्यौली कला र संस्कृति संरक्षणका लागि दोस्रो पुख्र्यौली नृत्य प्रतियोगिता नै सम्पन्न गरेको थियो । रासस    

रोग लुकाए ज्यान जान्छ : क्यान्सर विजेता

काठमाडौं। पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् । माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो तर अहिले उनलाई यो रोग निको भएको चिकित्सकले बताएका छन् । आफूमा रोग देखिँदै गर्दा महीनावारी हुने समयभन्दा अगाडि नै रगत आउने, पेट दुख्ने, पिसाब गन्हाउने भएपछि अस्पताल आएको आचार्यले बताइन्। समयमै अस्पताल आएकाले रोग पत्ता लागेर नियमित चिकित्सकको सल्लाहअनुसार उपचार गर्दै जाँदा अहिले पूरै निको भएको भन्दैे नयाँ जीवन पाएकोमा उनी खुशी छिन्। उपचारका क्रममा बाहिरी सेकाइ २३ पटक र भित्री सेकाइ तीन पटक गरेको बताउँदै आचार्यले समस्या लुकाएर बस्नुभन्दा चाँडो समाधान गर्दा जितिने बताइन्। पहिला आफूलाई क्यान्सरका बारेमा केही जानकारी नभए पनि रोग देखिएपछि हरेश नखाइ उपचार गर्दा निको भएको जानकारी दिँदै उनले भनिन्, “रोग लागेपछि लुकाएर बसेको भए म आज यहाँ हुन्थे कि हुन्थिनँ तर अहिले सबैका अगाडि छु।” रोग लागेको थाहा भएपछि परीक्षण गरे क्यान्सरजस्तो रोग पनि निको हुने उनको भनाइ थियो । भरतपुर महानगरपालिकाको फूलबारी निवासी ७० वर्षीया खुमाया आले समयमै यो रोगबार थाहा हुँदा आफू बच्न सकेको बताइन्। आलेलाई आजभन्दा चार वर्षअघि पाठेघरको मुखको क्यान्सर देखिएको थियो । शुरुमा त उनी डराइन्। अब मरिन्छ कि भन्ने पनि भयो तर उपचारका क्रममा निको हुँदै गएर अहिले आनन्द भएको उनले बताइन्। “रोग लुकाएको भए यो बूढी बाँच्थी की बाँच्थिन” उनले हाँस्दै भने, “समयमै उपचार पाएकाले मैले क्यान्सर जिते ।” शुरुमा सेतो पानी बग्ने, खानेकुरामा गन्ध आउने, आँखा तिरमिराउने, खुट्टा झमझमाउनेजस्ता लक्षण देखिए पनि अहिले त्यो नरहेको आलेले बताए। सुन्दा डर लाग्ने रोग भए पनि समयमै उपचार गरे निको हुँदोरहेछ भन्दै उनले आफ्नो समस्या लुकाएर नराख्न सबैलाई आग्रहसमेत गरिन्। गाउँ छिमेकमा पनि केही समस्या देखिए अस्पताल जान आफूले सुझाव दिँदै आएको जानकारी दिँदै उनले रोग लाग्यो भनेर चिन्ता लिने हो भने चितामा पुर्‍याउने हुँदा रोग लागेपछि उपचारमा लाग्नु उत्तम रहेको बताए। भरतपुर महानगरपालिका–१२ बसोबास गर्दै आउनुभएकी ४९ वर्षीया देवीकुमारी तामाङ अहिले पहिलेको जसरी नै घरमा काम गर्दै आएकी छिन्। उनलाई गत वर्ष भदौमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । अहिले रोग निको भएको छ । आफू बिरामी हुँदा गाउँलेले आश्वासन दिनुभन्दा पनि अब बाँचिदैन भन्ने गरेको सम्झिदै उनले भने, “समयमै रोग पहिचान भयो भने निको हुँदोरहेछ । कसैले पनि रोग लुकाएर नराख्नुस् । रोग लुकाएर राखे ज्यान गुमाउनुपर्छ ।” आफू बिरामी हुँदा घरपरिवारको सहयोग मिलेको बताउँदै उनले परिवार पनि सहयोगी भए जस्तोसुकै रोगबाट बच्न सकिने बताइन्। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुखको क्यान्सर निको हुने रोग भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको जानकारी दिए। महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिए पनि समयमै उपचार गरे निको हुने उनको भनाइ थियो । समाजमा खतराको सम्भावना बोकेर बस्नु भएका दिदीबहिनीलाई चेतनाको खाँचो रहेको आचार्यले बताए। अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले अस्पतालमा सन् २०१७ मा चार हजार ९७५ नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ लाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा यो समस्या देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ लाई क्यान्सर देखिएको थियो । विकासोन्मुख देशमा यो रोग बढ्दो छ । रासस