सांग्रिला बैंकका ग्राहकलाई ग्राण्डीमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता गा्रहकहरुले बैंकको ग्राण्डी हस्पिटल प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त ग्राण्डी हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

मानवबेचबिखन तथा हिंसा प्रभावितलाई आत्मरक्षा तालिम

काठमाडौँ । चाइल्ड रेक्यू नेपालको सहयोगमा शक्ति समूहले मानववेचविखन तथा हिंसा प्रभावितहरुलाई चार दिने आत्मरक्षाको तालिम माघ १५ गतेदेखि शुरु गरेको छ । शक्ति समूहकी संस्थापक सदस्य तथा कार्यकारी निर्देशक सुनिता दनुवारको अध्यक्षतामा भएको उद्घाटन समारोह टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल आत्मरक्षा संघका अध्यक्ष डि.बि. रानापाल, जिल्ला खेलकुद विकास कार्यालयको अधिकृत धनअर्जुन राई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत र यसको उद्देश्यमाथि शक्ति समूहको संस्थापक सदस्य तथा संरक्षण संयोजक चरिमाया तामाङले प्रकाश पारेकी थिइन् । तालिममा सहभागीहरुलाई सन्जु महर्जन, राधिका ऐर हमाल र प्रभा महर्जनले सहजीकरण गरिरहेका छन् । शक्ति समूहले विगत दुई दशक भन्दा लामो समयदेखि मानबबेचविखनको विरुद्दमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

छात्रा शौचालय बनाउन एभरेष्ट बैंकले गर्यो चार लाख सहयोग

काठमाडौँ । एभरेष्ट बैंकले नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ ।  एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठले क्लबका प्रतिनिधि सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चार लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने बैंकले आशा व्यक्त गरेको छ । कार्यक्रममा बैंकका डीजीएम गिरिश कोहली, समीना श्रेष्ठ, नवलपरासी शौचालय निर्माण प्रोजेक्टका सदस्य र अन्य प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।